नेपाली चलचित्र क्षेत्रमा उदीयमान कलाकारको रूपमा देखापरेकी छिन्– सुजना हमाल । जे–जस्तो अवस्था वा परिस्थितिको सामना गर्नुपरे पनि पछि नहटी नेपाली सिनेजगत्मा आफ्नो अलग्गै दर्बिलो स्थान बनाएरै छोड्ने प्रतिबद्धता उनले लिएकी रहिछिन् । झापामा जन्मिएकी सुजना केही वर्षयता काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी छिन् । म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेकी सुजना आफूलाई भाग्यमानी कलाकार यसकारण ठान्छिन् कि पहिलोपटक नै उनले ठूलो पर्दाको चलचित्रमा काम गर्ने असर पाइन् । अहिले सुजना चलचित्र ‘आवारा’को छायाङ्कनमा व्यस्त छिन् ।
० प्रतिभा देखाउने क्षेत्र त अरू पनि थिए, तर कलाकार नै बन्ने इच्छा कसरी आयो ?
– सानैदेखिको रहर हो, कलाकारिता नबुझ्दै रहर जाग्यो अनि बुझेपछि त झन् लक्ष्य वा उद्देश्य नै यही भइदियो ।
० टापटिपे कलाकार बन्ने कि उच्चश्रेणीमै पुग्ने विचार छ नि ?
– नलाग्नु लागेपछि उच्च श्रेणीमै पुग्ने हो नि ! सानोतिनो उद्देश्य लिएर हिँडेकी छैन म ।
० पहिलोपटक अभिनय गरेको चलचित्र आवाराको भूमिका कस्तो छ ?
– गजबको छ । प्रमुख नायिका नै मै हुँ । त्यो भएर पनि कामप्रति बढी नै ध्यान दिएर लागेकी छु ।
० कत्तिको गाह्रो हुँदोरहेछ त चलचित्र क्षेत्रमा काम पाउन ?
– कुरै नगर्नुस्, साहै्र गाह्रो ! लोभ देखाउने, आश्वासन दिनेहरू कति–कति, तर साँच्चै काम दिनेचाहिँ औँलामा गन्न सकिने मात्र ।
० आश्वासन मात्रै दिनेकोे पछि लाग्ने कि नलाग्ने त आफ्नै हातमा छ नि, होइन र ?
– त्यो त हो । म त्यस्ताहरूको पछि लागेकी पनि छैन । त्यस्ताको पछि लागे त बिताइहाल्छन् नि ! आशा देखाएर नाजायज फाइदा लिन खोज्नेहरू चिनेरै व्यवहार गर्छु नि म पनि ।
० त्यस्ताहरूलाई ब्वाइफ्रेन्ड देखाएर तर्साउने विचार त छैन ?
– ब्वाइफ्रेन्ड भएको भए त तर्साउन पनि हुन्थ्यो होला, छैन र पो मा-यो । करिअर बनाउने समयमा ब्वाइफ्रेन्ड बनाएर हिँड्ने कुरा पनि भएन ।
० आँखा लगाउनेहरू त भेटिएकै होलान् ?
– त्यसको त कुरै नगर्नुस्, कति–कति । यसो भेट्यो कि त ‘फलानीसँग त मेरो लभ प-यो’ भनिहाल्ने !
० पहिलोपटक फिल्म खेलेर पाएको पारिश्रमिक केमा खर्च गरियो ?
– जीवनकै मेरो पहिलो कमाइ भएकाले त्यो साँचेर राखेकी छु ।
० कति पाइएको थियो पारिश्रमिक ?
– अँ हँ, त्यो त गोप्य नै राख्छु ।
टासी अमेरिकामा फिरन्ते बन्दा…
मानिसले पहिले आफ्नो विगतको धरातल बिर्सनुहुँदैन । त्यसमाथि चलचित्रको निर्देशकजस्तो सिर्जनशील क्षेत्रमा लागेकाले त यसमा बहुत ध्यान पु-याउन सक्नुपर्छ । समाजलाई डो-याउने क्षेत्रमा लाग्ने अनि के बोल्दा असर पर्छ भन्ने कुरा ध्यान नदिँदा व्यक्ति मात्र होइन कि त्यो क्षेत्रप्रति नै अरूहरूको नजर नकारात्मक हुन सक्छ ।
यस्तै कुरामा ध्यान नदिई प्याच्च बोल्दा चलचित्र निर्देशक हिमग्याप लामा टासीले लज्जित मात्र नभई मुखभरिको जवाफ पनि खानुप-यो, त्यो पनि स्वदेशमा नभई अमेरिकामा । पछिल्लोपटक उनले भीमदत्त नामक चलचित्रको निर्देशन गरेका हुन् । त्यसपछि अरू कुनै पनि चलचित्र नपाएका टासी कहिले नेपाल त कहिले अमेरिका ओहोरदोहोर गर्छन् । अमेरिकामा पनि खासै हैसियत नबनाएका टासी कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा अमेरिका छिरेका थिए । अमेरिकामा पनि उनी कहाँ बस्छन्, के गर्छन् ? सबै अनविज्ञ नै छन् । यसै क्रममा अर्का एकजना चलचित्र निर्देशक गत महिना अमेरिका पुग्दा टासीसँग जम्काभेट भएछ । अमेरिकामा खासै काम नगर्ने अनि पहिचान पनि नबनाएका टासीलाई ती निर्देशकले के गर्छौ टासी आजभोलि यता भनेर जिज्ञाशा राखेछन् । टासीले चाहिँ गम्केर ‘म त नेपालका चलचित्रका निर्देशकजस्तै कहिले कसकोमा कहिले कसकोमा बस्छु, खान्छु ! नेपालका चलचित्रका निर्देशकजस्तै फिरन्ते जीवन छ मेरो, काम पनि छैन फुर्सद पनि छैन’ भन्ने जवाफ दिएछन् ।
नेपाली चलचित्रका निर्देशकको बेइज्जत हुने गरी टासीले यस्तो अभिव्यक्ति दिएपछि ती निर्देशकले जवाफ फर्काएछन्, ‘तिम्रोजस्तो हविगत हाम्रो नेपालमा चलचित्रका निर्देशकहरूको छैन । खाने, बस्ने वा सुत्ने ठाउँको सुनिश्चितता छ, फिरन्ते जीवन कुनै निर्देशकको पनि देखिएको छैन तिम्रोजस्तो ।’ उनले फेरि थपे, ‘अमेरिका आएर नेपालका निर्देशकको यसरी बेइज्जत गर्दारहेछौ, अब कुन मुखले नेपाल फर्कन्छौ तिमी ? आफूजस्तो खराब सोच र प्रवृत्तिको अरूलाई नसोच न ।’ मुखभरिको जवाफ पाएर लाजले पानीपानी भएका टासीलाई पछि आफ्नै भनाइप्रति ग्लानि भएछ, उनले माफीसमेत मागेछन् ।
जाबो एउटा फिल्म निर्देशन गरेको भरमा अमेरिकामा रहेका नेपालीलाई गफ दिँदै जीवन चलाइरहेका टासीको निम्नस्तरको सोच–व्यवहार देखेर यतिबेला सिने–उद्योगमा कठैबरा हिमग्याप भन्नेहरू भेटिन थालेका छन् ।
रेजिना चलचित्रबाट टाढिँदै
वैवाहिक जीवनमा बाँधिएपछि अभिनेत्री रेजिना उपे्रती चलचित्र अभिनयबाट टाढिएकी छिन् । सम्भवतः अब रेजिनालाई चलचित्रमा देखिन पाइन छैन । बेलायतनिवासी नेपाली युवकसँग विवाह गरेकी रेजिना यतिबेला भने नेपालमा नै छिन् र अब चाँडै दिगो रूपमा नै बेलायत जाने तयारीमा छिन् । अब उनी पनि अन्य केही नायिकाजस्तै सिनेमा क्षेत्रबाटै हराउन लागेकी त होइनन् ? यस्तो जिज्ञासाको जवाफमा ‘अहिले भने समय र परिस्थितिले त्यस्तै देखाएको छ । सिनेमा क्षेत्रलाई माया र सम्मान गरे तापनि अब अभिनयको काम गरिँदैन होला,’ भनिन् रेजिनाले । सिनेमा क्षेत्रले नाम दिएकोमा रेजिनाले खुसी पनि व्यक्त गरेकी छिन् । तर, यदाकदा विवादमा पनि ल्यायो उनलाई । त्यसो त कति विवादका कुराहरू काल्पनिक किसिमले बजारमा आउँदा रेजिनाको मन पनि नदुखेको होइन ‘अब पुराना कुराहरू गरेर के फाइदा ? जीवनको लक्ष्य, यात्रा र उद्देश्य नै नयाँ भएपछि त्यसअनुसार नै अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ’ रेजिनाले भनिन् । चलचित्रमा अभिनय नगरे तापनि जीवनपर्यन्त चलचित्र क्षेत्रलाई बिर्सन नसक्ने कुरा पनि बताइन् रेजिनाले । उनले थपिन्, ‘मलाई लाग्छ विवाहपछि मेरो जीवनको दोस्रो अध्याय सुरु भयो ।’
सिनेमाण्डुमा टलकजंग भर्सेज टुल्के
व्यावसायिक रूपमा सफल एवम् बहुप्रशंसित नेपाली चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठनद्वारा आयोजित सिनेमाण्डुको २१औँ शृङ्खलामा प्रदर्शन भएको छ । निश्चल बस्नेत निर्देशक तथा रवीन्द्रसिंह बानियाँ निर्माता रहेको सो चलचित्र केही मात्रामा माओवादी जनयुद्धमा आधारित फिल्म हो । सिनेमाण्डुमा फिल्म प्रदर्शनको अवसरमा कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ, लेखक तथा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री ऋचा शर्मा उपस्थित थिइन् । फिल्म प्रदर्शनपछि उनीहरूले उपस्थित दर्शकहरूसँग अन्तरक्रियासमेत गरेका थिए ।
निर्माता–अभिनेता बानियाँले आफ्नो रङ्गमञ्चीय यात्रादेखि सिने क्षेत्रमा प्रवेश तथा यतिबेला निर्माताको रूपमा समेत क्रियाशील हुन पुगेसम्मका अनुभूति दर्शकसमक्ष सेयर गरे । फिल्म निर्माणको क्रममा आइपर्ने कठिनाइ तथा चुनौतीका साथै दर्शकहरूबाट प्राप्त स्नेह र रचनात्मक सुझावहरू आफ्ना लागि प्रेरणादायी सन्दर्भ बन्न पुगेको उनले बताए । यस्तै निर्देशक निश्चल बस्नेतले फिल्मलाई कस्तो मोडमा ल्याएर अन्त्य गर्ने भन्ने विषय जहिले पनि खुल्दुलीपूर्ण रहने र दर्शकको सोचअनुरूप फिल्म टुङ्ग्याइनु पनि रोचक सन्दर्भ बन्ने उल्लेख गर्दै आफ्नो चलचित्रमा कतिपय कमी–कमजोरी रहेको हुनसक्ने र भविष्यमा यस्ता कमजोरी हटाउँदै आफूले अझ राम्रा चलचित्र दिँदै जाने वाचा गरे ।
घिमिरे र रोर्शी नूरगंगाबाट सम्मानित
राष्ट्रकवि माधव घिमिरेलाई यस वर्षको नूरगंगा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई एक लाख रुपैयाँ राशिसहित नूरगंगा पुरस्कार समर्पण गरिएको हो ।
सम्मान कार्यक्रममा सम्मानित स्रष्टा राष्ट्रकवि घिमिरेले अन्य स्रष्टालाई नूरगंगा प्रतिभा पुरस्कार समर्पण गर्नुभयो । उहाँले नूरगंगा नवप्रतिभा पुरस्कारबाट उपन्यासकार अनुपम रोशीलाई सम्मान गरिएको थियो । रोशीलाई १५ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरियो । त्यसैगरी नूरगंगा नवलोकगायक प्रतिभा पुरस्कारबाट देवी घर्तीलाई सम्मान गरियो ।
कार्यक्रममा नूरगंगा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्राध्यापक डा. चूडामणि बन्धुले लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने मुलुकका प्रतिष्ठित लेखक–कविलाई नूरगंगा प्रतिभा पुरस्कार प्रदान गरिने बताउनुभयो । सम्मानित स्रष्टा राष्ट्रकवि घिमिरेले नयाँ र पुराना दुवै स्रष्टालाई सम्मानले रोमाञ्चक अनुभूति हुने उल्लेख गर्नुभयो भने नूरगंगा प्रतिभा पुरस्कारबाट सम्मानित अनुपम रोशीले सम्मानले आफूलाई थप प्रेरणा मिलेको अभिव्यक्ति दिनुभयो । साहित्यकार रोशीका कुमारी आमा, नाङ्गो मान्छे र कालो छाया उपन्यास प्रकाशित छ ।
शमी साहित्य प्रतिष्ठानमा प्रदीप
नेपाली वाङ्मयको उत्थान र विकासका लागि केही गर्ने सोचका साथ विगत लामो समयदेखि वरिष्ठ साहित्यकर्मी, युवा प्रतिभाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको शमी साहित्य प्रतिष्ठानको प्रथम साधारणसभा सम्पन्न भएको छ । राजधानीमा गत शनिबार सम्पन्न साधारणसभाले प्रतिष्ठानको अध्यक्षमा साहित्यकार प्रदीप नेपाललाई सर्वसम्मत रूपमा चयन गरेको छ । यस्तै, प्रतिष्ठानको उपाध्यक्षमा गीता केशरी, सचिवमा श्रीओम श्रेष्ठ रोदन, कोषाध्यक्षमा प्राडा कृष्णहरि बराल र सदस्यहरूमा अशेष मल्ल, जय छाङ्छा र सुमित्रा महर्जन डङ्गोललाई छानिएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार प्रदीप नेपालले प्रतिष्ठानले विवादरहित रूपमा काम गर्दै आएकोमा आगामी दिनमा पनि नेपाली वाङ्मयको उत्थानका लागि पृथक सोच र शैलीका साथ काम गर्दै जाने बताए भने प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्मा, श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. चन्द्रा भद्रा, गीता केशरी, रामचन्द्र पाण्डे र विश्वविमोहन श्रेष्ठले पनि आ–आफ्ना मन्तव्य दिएका थिए ।
‘साइकल’ले बाँड्यो निःशुल्क औषधि
रिलिजको तयारीमा रहेको फिल्म ‘साइकल’को निर्माण समूहले भक्तपुरको कटुञ्जेस्थित तीनधारा चौर, युनिटी इङ्ग्लिस स्कुल प्राङ्गणमा स्थानीय सुवर्णेश्वर युवा समाजको सक्रियतामा निःशुल्क औषधि वितरण्ँ शिविर सम्पन्न गरेको छ । फिल्मका केही कलाकार र निर्माता तथा सङ्गीतकार राजेन्द्र श्रेष्ठको सहभागितामा सम्पन्न स्वास्थ्य शिविरमा चार सय ४१ जना महिला तथा पुरुषले निःशुल्क स्वास्थ्य परीक्षण्ँ र औषधि प्राप्त गरेका थिए । स्वास्थ्य शिविरमा मध्यपुर अस्पताल थिमी र तिलगंगा आँखा अस्पतालका डाक्टरहरूले शारीरिक स्वास्थ्य जाँच, नाक–कान–घाँटी, स्त्रीरोग, मधुमेह, रक्तचाप तथा हाड–जोर्नीसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा दिएका थिए । शिविरमा क्लबका स्वयम्सेवी, स्थानीयवासीदेखि स्कुलका विद्यार्थीसम्म बिरामीको सेवामा खटिएका थिए ।
फिल्मका निर्माता तथा सङ्गीतकार राजेन्द्र श्रेष्ठले यसप्रकारको सामाजिक कार्य देशका विभिन्न गाउँमा समेत आयोजना गर्ने तयारी गरिएको बताए । साइकल आगामी ६ गतेदेखि देशभर रिलिजमा ल्याइने वितरक गोपाल कायस्थले जानकारी गराए । स्थानीयवासीले साइकल राम्रो फिल्म बनेको थाहा पाएको र यसको प्रतीक्षामा रहेका बताएका छन् । विभिन्न हिट गीत दिँदै आएका सङ्गीतकार राजेन्द्र श्रेष्ठको निर्माण र शिव घिमिरेको निर्देशनमा बनेको साइकलमा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारीलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
प्रतिक्रिया