म पनि आधा हिन्दू भइसकेँ– टोर्वन क्लेमिन्सन (डेनिस अध्येता)

म पनि आधा हिन्दू भइसकेँ– टोर्वन क्लेमिन्सन (डेनिस अध्येता)


antarbicharडेनमार्कका उच्च पादरी भन्छन्– धर्मपरिवर्तन व्यापार भएको छ
आफूलाई नेपाली दाबी गर्नेमध्येकै केही नेताहरू नेपाललाई धर्मनिरपेक्ष बनाउन अन्तिम चरणको कसरतमा जुटिरहँदा क्रिस्चिएन धर्मका उच्च पादरी रहिसकेका एक डेनिसले भने नेपाललाई हिन्दुराष्ट्र बनाउन भइरहेका प्रयासको सराहना गरेका छन् । २०४७ को संविधान र हिन्दु राजतन्त्रात्मक नेपालमा धार्मिक सद्भावका विषयमा अनुसन्धानात्मक अध्ययन गर्न आएका डेनिस टोर्वन क्लेमिन्सनले भनेका छन्– ‘म इसाई हुँ र इसाई धर्मलाई पे्रम गर्छु, तर म हिन्दु धर्मलाई पनि पे्रम र सम्मान गर्छु । नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागि खुमबहादुर खड्कले सुरु गरेको अभियानको पनि समर्थन गर्छु ।’ नेपालमा भइरहेको धर्मपरिवर्तनप्रति असन्तुष्टि जनाउने टोवर्नको भनाइ छ– ‘नेपालमा क्रिस्चिएन धर्मको प्रचार जसरी भइरहेको मैले देखेँ, मलाई यो एउटा व्यापार जस्तो लाग्यो । एउटाबाट अर्को धर्ममा कन्भर्ट गर्न जुन तरिका अपनाइएको छ, यो मलाई मन परिरहेको छैन ।’ हरेक क्षेत्रमा राजनीतिकरण भइरहेकोप्रति आश्चर्यभाव प्रकट गर्दै क्लेमिन्सनले भनेका छन्– ‘हरेक विहान सुशील कोइराला, प्रचण्ड, ओली, नेपाल, खनाल आदिका बारेमा पढ्न पाइन्छ । अखबारका अग्रपृष्ठ र धेरैजसो भागमा नेताहरूका अभिव्यक्ति र तिनका गुनगान या टिकाटिप्पणीले भरिएका हुन्छन् । मलाई लागेको छ– नेपालमा राजनीतिकर्मी नै सबथोक हुन् । हरेक विहान अखबार पढ्छु र उहाँहरूलाई पढ्न पाएकोमा खुशी हुन्छ । सुशील कोइरालाले नेपालको संरक्षण गरिरहनुभएको छ, यसैमा सबै नेपाली खुशी भएका होलान् जस्तो लाग्छ ।’
‘गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’को प्रस्ताव राख्दा राजा ज्ञानेन्द्रले नमानेको भन्ने सुनेँ । बीपी कोइरालाले राजाविनाको नेपाल रहन कठिन हुन्छ भनेको किन रहेछ भन्ने पनि बुझेँ । शेखर कोइराला छन् नि काङ्गे्रसमा, उनी पनि एकदम राष्ट्रवादी र प्रजातन्त्रवादी नेता रहेछन्,’ टोर्वनको भनाइ छ ।’
‘प्रजातन्त्र हुनैपर्छ तर राजासहितको, राजा हुनु राम्रो राजनीतिबिनाको’ भन्दै उनले थपे– ‘गणतन्त्रलगायत विवादका जति पनि विषय छन्, यिनको टुङ्गो जनमत सङ्ग्रहमार्फत् गरिनु राम्रो हुनेछ ।
डेनिस नागरिक टोर्वन क्लेमिन्सन उच्च तहका पादरी थिए, उनी विगत एक वर्षदेखि नेपालमा छन् । राजनीति, औषधि विज्ञान, इतिहास, भूगोल, धर्म र दर्शनका ज्ञाता टोर्वनले स्वेडेनको लन्ड विश्वविद्यालयमा हिन्दू, बौद्ध र इस्लामिक धर्म, संस्कृति र परम्पराबारे पनि विशेष अध्ययन गरेका थिए । सन् १९४५ को जनवरीमा डेनमार्कमा जन्मिएका उनी यतिबेला त्रिभुवन विश्वविद्यालयअन्तर्गत ०४७ सालको संविधान र सो संविधान क्रियाशील रहेका बेला हिन्दू समाजमा सद्भावका विषयमा अनुसन्धान गर्दै छन् । गत वर्ष नेपाल आएयता टोर्वनले अनुसन्धानका क्रममा साढे तीन हजारभन्दा बढी नेपाली युवा तथा कतिपय उच्च तहका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् । हिन्दू दर्शन, धर्म र संस्कृतिको अध्ययन गर्दागर्दै त्यसको प्रभावबाट आफू पनि आधा हिन्दू बनिसकेको दाबी गर्ने उनी नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र देशको अन्तर्राष्ट्रिय पहिचानका लागि राजसंस्थाको अपरिहार्यता रहेको ठान्छन् र भन्छन्– नेपालमा कस्तो प्रकारको राजनीति या राजनीतिक प्रणाली हुनुपर्छ भन्ने कुरा यहीँका जनताले निर्णय गर्ने हो, मैले केही भन्न मिल्दैन । तर, नेपालको हितका निम्ति हिन्दू राजसंस्थाको पुनर्वहालीचाहिँ उपयुक्त हुने मलाई लागेको छ ।
० तपाईं वास्तवमा नेपाल आउनुभएको केका लागि हो ?
– म भारतको दक्षिणी राज्य केरलामा साढे ६ वर्षदेखि हिन्दूधर्म, मठ–मन्दिर र संस्कृतिको अध्ययन गर्ने क्रममा थिएँ । मेरो देश (डेनमार्क)को चर्च सम्बद्ध मन्त्रालयले मलाई त्यहाँ अध्ययनका लागि पठाएको थियो । तर, त्यहाँ बारम्बार परिरहने पानी र जथाभावी देखापर्ने सर्पका कारण मलाई समस्या भयो । मैले आफूलाई आइपरेको समस्यालाई लिएर सम्बन्धित ठाउँमा गुनासो गरेँ । त्यसैक्रममा मलाई नेपाल जानका लागि सुझाव प्राप्त भयो । नेपालमा एक समय (मनसुनमा) मात्रै वर्षात् हुने र सर्प पनि नलाग्ने, अनि हिन्दू परम्परा, धर्म र संस्कृतिको अध्ययन गर्न उपयुक्त देश पनि भएकाले म नेपाल आएको हुँ । म यहाँ हिन्दूधर्म, संस्कृति, राजसंस्था र सन् १९९० को संविधान तथा त्यसको प्रभावबारे अध्ययन गर्न आएको हुँ ।
० कस्तो पाउनुभयो नेपाल ?
– मैले पूरै नेपाल घुम्ने मौका पाएको छैन । बुझ्न धेरै बाँकी नै छ । तराईतिरको अवस्था बुझ्न मैले त्यता पनि केही समय बिताउनुपर्ने हुन्छ । तर, काठमाडौं र पहाडी क्षेत्रका मानिसको व्यवहार मलाई मन प-यो । उनीहरूमा हाम्रो डेनमार्कको मान्छेजस्तै मानसिकता भएको पाएँ । सकारात्मक सोच, खुसी रहने, कुरा नलुकाउने र सरल व्यवहार भएकाले मैले डेनमार्कका मानिसको जस्तो मानसिकता भनेको हुँ । युवाहरू धेरै सकारात्मक, इमानदार र असल हृदयका छन् । तराईतिर बस्ने नेपालीबारे बुझ्न बाँकी छ, तर उनीहरूमध्ये धेरै भारतको उत्तरप्रदेश र बिहारबाट बढी प्रभावित छन् कि जस्तो चाहिँ मलाई लागेको छ ।
० नेपालको सबभन्दा राम्रो के लाग्यो तपाईंलाई ?
– धेरै कुरा राम्रा छन् । मानिस राम्रा, प्रकृति राम्रो । नेपाल गरिबीका कारण ‘अन्डरस्टिमेटेड’ भएको छ । तर म यहाँ धेरै राम्रो क्षमता देख्छु ।
० अनि नराम्रोचाहिँ के देख्नुभयो नि ?
– जनताले धेरै दुःख र सास्ती व्यहोर्नुपरेको छ । धेरै मानिसमा निराशा छ, आफ्नै जीवन धेरैलाई बोझ लागेजस्तो पनि देख्छु म । अध्ययन र रोजगारीका लागि लाखौँ युवा विदेश जान बाध्य भएका छन् । शिक्षा, स्वास्थ्यमा कुनै सुविधा दिइँदैन । रोजगारी उपलब्ध गराइँदैन र जनताले दुःख पाएकोमा जिम्मेवारी पनि कसैले लिएका छैनन् । यो पक्ष मलाई राम्रो लागेन ।
० तपाईं क्रिश्चियन धर्मको उच्च तहको पादरी रहिसक्नुभएको व्यक्ति, नेपालमा सन् २००८ यता क्रिश्चियन धर्मको प्रचारले व्यापकता पाएको छ र धेरैलाई धर्म परिवर्तन पनि गराइएको छ । यसप्रति तपाईं कस्तो धारणा राख्नुुहुन्छ ?
– मलाई कुनै पनि तरिकाले कसैको मौलिक धर्म परिवर्तन गराउने कुरा उचित लागेको छैन । कुन धर्म मान्ने या नमान्ने भन्ने कुरा व्यक्तिगत अधिकारभित्र पर्छ, तर धर्म परिवर्तन गराइनुचाहिँ ठीक हुँदै होइन । आखिर हिन्दू, इसाई, बौद्ध, मुस्लिम सबैले मान्ने ईश्वर एकै हुन् । ईश्वरप्राप्तिका काइदा मात्र फरक–फरक छन् । हरेकले हरेकको धर्म, संस्कृति र परम्परालाई सम्मान र प्रेम गर्नुपर्छ । नेपालमा क्रिश्चियन धर्मको प्रचार जसरी भइरहेको मैले देखेँ– यो एउटा व्यापारजस्तो लाग्यो मलाई । एउटाबाट अर्को धर्ममा कन्भर्ट गर्न जुन तरिका अपनाइएको छ, यो मलाई मन परिरहेको छैन । हिन्दू मित्रहरूलाई अनावश्यक रूपमा चिढ्याउने काम जसरी गरिँदै छ यो राम्रो होइन । पोप जोन पालले सबै मानवको कल्याण ईश्वरले गर्नेछन् भन्नुभएको छ र म त्यसमा विश्वास गर्छु । नेपालमा विदेशीहरू धर्म परिवर्तन गराउन ज्यादा सक्रिय भएका र त्यसमा भारतबाट आएका इसाईहरू अझ बढी नै सक्रिय भएको पाएँ । म इसाई हुँ र इसाई धर्मलाई प्रेम गर्छु । तर म हिन्दूधर्मलाई पनि प्रेम र सम्मान गर्छु । म आधा त हिन्दू नै भइसकेको महसुस गर्छु । नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि खुमबहादुर खड्काले सुरु गर्नुभएको अभियानको पनि म समर्थन गर्छु, यो मलाई ठीक लागेको छ ।
० नेपालको राजनीति र राजनीतिकर्मी कस्ता पाउनुभएको छ ?
– म नेपाली राजनीतिकर्मीलाई माया गर्छु । हरेक बिहान सुशील कोइराला, प्रचण्ड, ओली, वैद्य, नेपाल, खनाल आदिका बारेमा अखबारहरूमा पढ्न पाइन्छ । अखबारका अग्रपृष्ठ र धेरैजसो भागमा नेताहरूका अभिव्यक्ति र तिनका गुणगान या केही टीका–टिप्पणीले भरिएका हुन्छन् । अनि मलाई लाग्छ– नेपालमा राजनीतिकर्मी नै सबथोक हुन् । यहाँ अरू धेरै सिर्जनशील कुराहरू पनि होलान्, सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने अरू धेरै विषय छन् । तर, पत्रपत्रिकामा नेताहरूलाई मात्रै पढ्न पाइन्छ । हरेक बिहान पढ्छु र उहाँहरूलाई पढ्न पाएकोमा खुसी हुन्छु । सुशील कोइरालाले नेपालको संरक्षण गरिरहनुभएको छ, यसैमा सबै नेपाली पनि खुसी भएका होलान् जस्तो लाग्छ । तर, मलाई अरू केही राजनीतिकर्मीको भूमिका अर्कै प्रकारले राम्रो लागेको छ । विद्या भण्डारी, नारायणकाजी श्रेष्ठ, खुमबहादुर खड्का र डा. शेखर कोइरालाजस्ता नेताहरूले मौका पाउने हुन् भने देश बनाउँछन् जस्तो लाग्छ । त्यसो त अरू नेता पनि राम्रा छन् । खासगरी मलाई मोहन वैद्य पनि मनपर्छ । प्रचण्ड पनि केही गर्नकै निम्ति प्रयत्नशील भएको पाउँछु ।
० नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि भएका प्रयासप्रति पनि तपाईं सकारात्मक नै हुनुहुन्छ ?
– नेपालीले आफ्नो मुलुकप्रति प्रेम दर्शाउने कुरामा नकारात्मक बन्नुपर्ने कारण छैन र बन्नुहुँदैन पनि । यहाँ नेपाली राजनीतिकर्मीले जनताको चाहना भन्दै सङ्घीय गणतन्त्र बनाएका छन् । जनताले नै चाहेका हुन् या पार्टीका नेताहरूको मात्र चाहना हो यो भने परीक्षण गरिएको छैन । मैले भेटेकामध्ये नब्बे प्रतिशत मानिसले गणतन्त्रप्रति असन्तुष्टि जनाएका छन् । अनुसन्धानका क्रममा मैले पाएको तथ्य यही हो । आठ–दशवटा राज्य बनाउने कुरा आएको छ । यहाँ एउटै संसद्को आफ्नै भवन छैन, आठ–दशवटा संसद्को भवन कसरी बन्ला ? आठ–दश मुख्यमन्त्रीको निवास र कार्यालय कहिले बन्ला ? यो सबलाई पाल्न कहाँबाट पैसा आउला ? यस्ता प्रश्नहरू मेरो मनमा आउँछन् र म छक्क पर्छु । जनता रोजगारी, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था होस् भन्ने चाहन्छन्, त्यतापट्टि कसैलाई खासै मतलब भएजस्तो देख्दिनँ । गणतन्त्र भनिए पनि कानुनी शासनको अनुभूति जनताले गरेजस्तो पनि मलाई लाग्दैन । यस्तो अवस्थामा वैकल्पिक सोच कसैले राखेका छन् र राष्ट्रहितका निम्ति कुनै अभियान चलाएका छन् भने त्यसलाई अनुपयुक्त भन्न मिल्दैन ।
० तपाईं राजतन्त्र भएको मुलुकको नागरिक, नेपालमा गणतन्त्र घोषणा गरिएको तपाईंलाई राम्रो नलागेको हो कि ?
– त्यस्तो होइन । म एउटा विदेशी मान्छे, मलाई यहाँको राजनीतिक प्रणाली राम्रो या खराब भएर फरक पर्दैन । यहाँका जनतालाई राम्रो भए त भइहाल्यो नि । मैले त जनतालाई पनि राम्रो नभएको देखेर मात्र यसो भनेको हुँ । गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’को प्रस्ताव गर्दा राजा ज्ञानेन्द्रले नमानेको भन्ने सुनेँ । बीपी कोइरालाले राजाविनाको नेपाल रहन कठिन हुन्छ भनेको किन रहेछ भन्ने पनि बुझेँ । शेखर कोइराला हुनुहुन्छ नि काङ्ग्रेसमा, उनी पनि एकदम राष्ट्रवादी, प्रजातन्त्रवादी नेता रहेछन् । म भारतको कोची विमानस्थल भएर नेपाल आउँदै थिएँ, त्यहाँ भेटिएका केहीले म नेपाल जाँदै छु भन्ने थाहा पाएपछि भनेका थिए– नेपाल पनि भारतकै एउटा अंश हो । त्यो सुनेपछि मलाई नरमाइलो लाग्यो । मैले नेपाल एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो भन्ने धेरै पहिले नै पढिसकेको थिएँ । तथ्य एउटा हुँदाहुँदै प्रचार अर्को प्रकारले भएको मलाई ठीक लागेन र त्यसपछि मैले नेपालको मौलिक अन्तर्राष्ट्रिय पहिचान हुनुपर्छ भन्ने लाग्यो । नेपालले विश्वमा आफ्नो मौलिक पहिचान कायम राख्ने हो भने राजतन्त्र आवश्यक छ भन्ने मेरो ठम्याइ हुन पुग्यो । प्रजातन्त्र त हुनैपर्छ, तर राजासहितको । राजा हुनु राम्रो राजनीतिविनाको । यो गणतन्त्रलगायतको जति पनि महत्वपूर्ण विषय छन्, यिनको टुङ्गो जनमत सङ्ग्रहमार्फत गरिनु राम्रो हुन्छ । प्रजातन्त्र भनेको पनि जनचाहनाबमोजिम चल्नु त हो । दरबार हत्याकाण्डपछि राजसंस्था र देश दुवै सङ्कटमा छ । मैले राजनीतिक कुरा गर्न त नमिल्ने हो, तथापि सुझाव गर्नुपर्दा अब ‘चाइल्ड किङ’को अवधारणामा पनि जान सकिन्छ । सुशील कोइराला र प्रचण्डले त्यस्तो पहल गरे भने राम्रै हुन्छ कि जस्तो लाग्छ । होइन भने सुशील कोइराला छँदै छन् देशको संरक्षण गर्ने, त्यसैमा सबैले चित्त बुझाउनुप-यो । ज्ञानेन्द्र आफैँमा असल छन् र धेरैले उनलाई माया पनि गर्छन्, तर राजनीतिक कारणले नाति युवराजलाई अघि सार्नु उचित हो कि जस्तो लाग्छ । डेनमार्कमा राजालाई धेरै माया र सम्मान दिइन्छ । संसद्मा बोलाइन्छ । त्यहाँ ११ प्रतिशत गणतन्त्रवादी छन् र ८९ प्रतिशत राजावादी । नेपालमा पनि जनतामध्येको ठूलो हिस्सा राजसंस्थाकै पक्षमा छन् कि भन्ने मलाई लागिरहेको छ ।
० अन्त्यमा केही थप भन्नु छ ?
– क्रिसमसको पूर्वसन्ध्यामा म सबै नेपाली जनता, नेता र राजालाई पनि शुभकामना प्रकट गर्दछु । सबै नेपालीको कल्याण होस् ।