–छविलाल बगाले
पछिल्ला महिनामा शोधनान्तर घाटा निरन्तर रूपमा बढदै छ । यसको अर्थ मुलुकबाट बाहिरिने रकम निरन्तर रूपमा बढिरहेको छ भन्ने हो । व्यापार घाटाको चाप तथा घटेको प्रत्यक्ष वैदेशिक लगानीले शोधनान्तर स्थितिमा चाप पर्न गएको हो । पछिल्ला वर्षमा आयात उच्च दरले बढ्नुका साथै अध्ययन, स्वास्थ्य उपचार, घुमफिरलगायत कारण ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएकाले शोधनान्तरमा दबाब पुगेको हो ।
दिन प्रतिदिन मुलुकको शोधनान्तर घाटा बढ्दो छ । बढ्दो उपभोग प्रवृत्तिले वस्तु तथा सेवा आयातको अनुपातमा पनि बृद्धि भएको छ । वस्तु तथा सेवाको कारोबार र पुँजी ट्रान्सफरमा आयभन्दा व्यय बढी हुँदा नेपालको चालू खाता र समग्र शोधनान्तर अवस्था घाटामा पुगेको हो । चालु आर्थिक वर्षको मंसीर महिनासम्ममा मुलुकको शोधनान्तर घाटा ५७ अर्ब ३३ करोड पुगेको छ । गत वर्ष यही समयमा दुई अर्ब ४० करोडले बचतमा थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा दुई करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा छ ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चार महिनाको समीक्षामा चालु खाता घाटा ८८ अर्ब ६४ करोड पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड सात लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको हो ।
चार महिनामा मुलुकको अर्थतन्त्र
चार महिनाको शोधनान्तर घाटा– ५७ अर्ब ३३ करोड
चालु खाता घाटा– ८८ अर्ब ६४ करोड
आयातको वृद्धिदर– ३५ दशमलव ८ प्रतिशत
निर्यातको वृद्धिदर– ११ प्रतिशत
विप्रेषण आप्रवाह– ३६ दशमलव ४ प्रतिशतले बृद्धि
सरकारको नगद प्रवाहमा आधारित कुल खर्च– १७.५ प्रतिशतले बृद्धि
राजस्व संकलन– ३० दशमलव ५ प्रतिशतले बृद्धि
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन– ३ दशमलव ६ प्रतिशत बृद्धि
निजी क्षेत्रतर्फको कर्जा–८ दशमलव ५ प्रतिशतले बृद्धि
मुद्रास्फीति– ४ दशमलव २ प्रतिशत
समिक्षा अवधिमा नगद प्रवाहमा आधारित सरकारको वित्त स्थिति ५१ अर्ब एक करोडले बचतमा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३२ अर्ब १५ करोड रहेको अर्थशास्त्री नर बहादुर थापा बताउँछन् ।
चालु आर्थिक बर्षको चार महिनामा व्यापार घाटा ३७ दशमलव ८ प्रतिशतले बृद्धि भई कुल वस्तु व्यापार घाटा चार खर्ब ५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव १ प्रतिशत कायम भएको छ । यस्तै, समीक्षा अवधिमा वस्तु निर्यात ११ प्रतिशतले बढेर २९ अर्ब २८ करोड पुगेको छ ।
प्रतिक्रिया