पाठक–मत

पाठक–मत


pathakmanchम इसाईविरोधि होइन !
धेरै मित्रहरू मैले इसाई धर्मको विरोध गरेँ भन्ने आरोप लगाउने गर्छन् । तर, इसाई धर्मको म विरोध गर्दिनँ, मेरो विरोध त धर्म परिवर्तन गराउने दुष्कर्मप्रति पो हो । बाहिर देख्दा धर्मको नाम र भित्र धार्मिक साम्राज्यवाद लाद्ने काम अनि आफु मात्रै ठिक अन्य धर्मको अस्तित्व नमान्ने स्वभाव र व्यवहार धर्म परिवर्तनको खोलभित्र देखिएको छ ।
मलाई यस्तो प्रवृत्तिको विरोध नगर भन्नेहरूले छातीमा हात राखेर भनुन् कि के म ईश्वर मान्दिनँ या मान्छु भन्ने मेरो खुशीको कुरा होइन र ? त्यसमा किन ‘तैँले मेरै धर्ममा लाग्नुपर्छ’ भनेर प्रलोभन समेत देखाउने काम गर्छन् ? मलाई दुःखद् आश्चर्य लाग्छ यसमा । के येशु, पैगम्बर, भगवान् मान्न तिनकै अनुयायी हुनुपर्छ ? के हामीले मनले मान्न मिल्दैन ? किन हिन्दु धर्मप्रति अनावश्यक टिप्पणी गर्दछन् इसाईहरू ?
अहिले हामीले गर्दाचाहिँ चित्त दुख्ने, उनिहरूले गर्दाचाहिँ हामी चुप लाग्नुपर्ने ! के यहि हो बेलायती राजदूतले भनेको मानवअधिकार ? इसाईकै देशमा उत्पादन हुने जुत्ता–चप्पलमा हाम्रा आस्थाका केन्द्रका तस्बिर राखेर बिक्री गर्दा कुनै इसाईले यो काम राम्रो हैन, हामी विरोध गर्छौं भनेर भन्न सके ?
के उनीहरूले बोलेका पवित्र वचनलाई मान्दा हामीले इसाई नै बन्नुपर्छ ? किन यस्तो जबर्जस्ती ?
ईश्वर त भावना र श्रद्धामा बस्दछ, यदि येशुका अनुयायीलाई सबै इसाई बने मात्र तिनका ईश्वर खुशी हुन्छन् भनेर चिट्ठी पठाएको भएदेखि सन् २०१४ भन्दा अगाडि के हेरेर बसेका थिए त ? के त्योभन्दा अगाडिका सबै नरक गए ?
हाम्रोमा जेसुकै होस् इसाईका अनुयायीलाई किन टाउकोदुखाई हुन्छ ? कि नेपालीलाइै इसाई बनाउने ठेक्का परेको छ ? कि चेलाको कमी भयो ?
जनताको सेवा गरेको हो कि ‘सेवा सित्तैमा गर्न सक्दैनौँ’ भनेर सेवाको आधारमा मानिसको आस्थालाई किनबेच गरेको ?
आजसम्म कुनै इसाईले ‘जसले जुन धर्म माने पनि हुन्छ, कसैलाई धर्म परिवर्तन गर्ने काम नगरौँ’ भनेर भनेको कसैले सुन्नुभएको छ ? उनीहरूसँग त्यसो भन्ने हिम्मत छ ? छैन … ! किनकि, उनीहरूको मूल उद्देश्य नै धर्मको नाम लिएर जुनसुकै देशलाई आफ्नो दास बनाउने भन्ने छ, अभियान नै हो यो उनीहरूको । हैन भने सेवा र चेतना अरूको कल्याण्ँको लागि हुन्छ, त्यसबाट आफ्नो स्वार्थ पूरा गर्न होइन, र मानवीय नाताले मिल्दैन पनि ।
– रामकृष्ण उपाध्याय, हिन्दु जागरण नेपाल

बिहानको खारेज गर्नु नै बेश
नेपाल सरकारले यही पुष १ गतेबाट वैदेशिक रोजगारी विभाग, राहदानी विभाग, जिल्ला प्रशासन, मालपोत, राजश्व, बिजुली र खानेपानीको महसुल लिने जस्ता महत्वपूर्ण कार्यालयमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिन सुरु गरेको छ । हिजोका दिनमा विहान १० बजेदेखि सुरु हुनुपर्ने सरकारी कार्यालयमा विहान ११ बजेतिर सेवाग्राही पुग्दा पनि कर्मचारीका अधिकांश टेबल–कुर्सी खाली नै हुन्थ्यो । अझ जाडो सुरु भएपछि त राज्यकोषबाट महसुल तिरेको बिजुलीको हिटर तापेर बस्ने या बाहिर चौरमै बसेर घाम ताप्ने तर सेवाग्राहीको काम गर्दैनगर्ने बानी परिसकेका कर्मचारीले पुसको ठिहिरोमा एकाबिहान ६ बजे नै कार्यालय पुग्लान् र न्यानो सिरक छोडेर सेवा लिने सेवाग्राही पनि विहान ६ बजे नै कार्यालय पुग्लान् भन्ने अपेक्षा कसरी गर्नु खोई ?
सरकारको यस कार्यबाट राज्यले थप आर्थिक भार ब्यहोर्नुपर्ने मात्रै हो । विहान ६ बजेदेखि काम सुरु होला र सेवाग्राही पनि भटाभट पुग्लान् भन्ने अपेक्षा गर्नु अलिक केटाकेटीपन जस्तो देखिन्छ । किनकि, कतिपय कार्यालयमा सेवा लिन वरिपरिका पसल, स्टेसनरीदेखि फोटोकपी पसलहरू पनि त सँगसँगै खुल्नुपर्छ । त्यसैले यो पुस–माघको जाडोमा बिहानैदेखि कार्यालय सञ्चालन गर्नुभन्दा बरु विजुलीको भरपर्दो व्यवस्थापन गरी साँझ ७/८ बजेसम्म त्यस्ता कार्यालय सञ्चालन गर्ने हो भने तिनले सेवा दिन सक्छन् र सेवाग्राहीले पनि फाइदा उठाउन सक्ने देखिन्छ ।
– दामोदर पौडेल
त्रि.वि.शिक्षण अस्पताल, काठमाडौं

अख्तियारको ध्यान नपुग्दा प्रमाणमाथि छेडछाड
अख्तियारको चरम दुरुपयोग गरी भ्रष्टाचार गरेको र प्रमाण नष्ट गरी फाइलहरू लुकाएकोेबारे छानबिन गरी कारवाही होस् भन्ने उजुरी धेरैपटक गरियो, तर सम्बन्धित निकायबाट अझै यसतर्फ ध्यान पु-याइएको छैन । यसबाट हामी दुखित छौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यसमाथि तत्काल दृष्टि पु-याइयोस् ।
काठमाडौं महानगरपालिकाको मेकानिकल शाखामा गएको १५ औँ वर्षदेखि सवारीसाधनको मर्मत–सम्भारविना प्रतिस्पर्धा टेण्डर नगरी मेकानिकल शाखाका प्रमुख इन्जिनियर पुरुषोत्तम शाक्यका आफूले चिनेका र आफ्ना नातेदारका सीमित वर्कसपमा वार्षिक करोडौँ रकमको मर्मतसम्भार गराई पूर्वनिर्धारित फर्मलाई काम दिई आफुलाई लाभ र काठमाडौं महानगरपालिकालाई करोडौँको हानी–नोक्सानी र भ्रष्टाचार गरेकोमा कारवाही नभएको,
काठमाडौं महानगरपालिका कार्यालयको वातावरण विभागको मेकानिकल वर्कशपमा सवारी साधनहरूको मर्मतपछि निस्कने डढेको मोबिलको रेकर्ड नराखी, आम्दानी नबाँधि १५/२० बर्षदेखि वातावरण विभागका मेकानिकल शाखाका प्रमुख इन्जिनियर शाक्यको मिलोमतोमा आफुखुसी बेचेर हिनामिना गरी महानगरपालिका कार्यालयलाई हानी–नोक्सानी र आफुलाई गैरकानुनी लाभ लिएकोमा कुनै कारबाही नभएको,
तसर्थ, अख्तियारबाट समयमा कारबाही नहुँदा पुरुषोत्तम शाक्यले १५/२० बर्षदेखि स्टोरमा काम गरेका तेजराजसँग मिलेर सोसम्बन्धी फाइलहरू लुकाउन सुरु गरेकोे, फाइलहरूमा थपघट गरी कागजपत्र मिलाएको र प्रमाण नष्ट गरिरहेकोबारे तत्काल अख्तियारको ध्यान पुग्नु जरुरी रहेको ब्यहोरा अवगत गराउँदछौँ ।
– काठमाडौं महानगरपालिकाका कर्मचारीहरू