चार महिनामा चार छावा जन्मिए, यो वर्ष अरू चार जन्मिने

चार महिनामा चार छावा जन्मिए, यो वर्ष अरू चार जन्मिने


चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा चार महिनामा चार छावा जन्मिएका छन् । गत वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।

खोरसोरस्थित उक्त केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार कर्णालीकलीबाट शनिबार चौथो भाले छावा जन्मिएको हो । यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा र मंसिर ३ गते तमरकलीबाट भाले छावा जन्मिएका थिए । अझै चार गर्भिणी हात्तीले यसै वर्ष बच्चा जन्माउने चौधरीले जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताए । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जंगली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारणले प्रजनन राम्रो भएको उनले बताए । छावा जन्मिएसँगै व्यवस्थापनको चुनौती पनि थपिएको उनको भनाइ थियो । प्रजनन केन्द्रमा पोथी हात्ती बढेसँगै जंगली भाले हात्ती आउने क्रम बढ्छ । अधिकांश छावा जंगली भाले हात्तीको प्रजननबाट जन्मिएका हुन् ।

हाल निकुञ्जमा ५७ हात्ती छन् । गर्भिणी भएपछि २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । कोसीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालिम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोस्टमा हात्ती राखिँदै आइएको छ । ०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २८ वटा हात्तीका बच्चा जन्मिसकेका छन् ।