तुलसीपुरलाई परम्परागत ढंगबाट ‘स्मार्ट’ बनाउन नसकिने

तुलसीपुरलाई परम्परागत ढंगबाट ‘स्मार्ट’ बनाउन नसकिने


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढंगबाट योजना बनाउनुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढंगबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले दाङमा यस आवदेखि विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र त्यसमा स्थानीय पालिकाहरूको साक्षेदारी आवश्यक रहेको बताए । उनले विद्युतीय बस सञ्चालनले दाङलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने उल्लेख गरे । ‘विद्युतीय बस सञ्चालन गरेमा बसबाट उत्पन्न हुने प्रदूषण न्यूनीकरण हुने र मुलुक नयाँ युगमा प्रवेश गरेको आभास हुने उनको भनाइ छ ।

विकासका लागि स्थानीय जनताको रुचि र सहभागिता हुनुपर्ने, अहिले दाङका उपमहानगरहरू भौगोलिकभन्दा पनि जनताको संख्याका आधारमा निर्माण गरिएको र अहिले उपमहानगरहरू विकासका दृष्टिले कमजोर भएको उनको भनाइ छ ।

उपमहानगरपालिकाको विकासका लागि स्थानीय तहहरूबीच सहकार्य हुन आवश्यक रहेकोसमेत उहाँको भनाइ छ । गाउँलाई बजारसँग जोड्ने गरी योजना बनाउनुपर्नेसमेत उनको भनाइ छ । अहिले दाङका कुनै पनि सहर व्यवस्थित नभएको भन्दै ती सहरलाई व्यवस्थित बनाउन निकै चुनौती सामना गर्नुपर्ने उनी बताउँछन् ।

उपमहानगरपालिकालाई व्यवस्थित बनाउन बजारबाहिरको व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने र ती जग्गामा व्यवस्थित बजार बनाएर आम्दानी भएको फाइदा जग्गाधनीलाई दिने तथा अर्को विकल्पका रूपमा व्यक्तिको जग्गा अधिग्रहण गरी त्यसमा विकास गर्ने र मूल्यवृद्धि गरी व्यक्तिलाई फिर्ता दिने तथा त्यसको केही हिस्सा उपमहानगरपालिकाले लिने गरेमा व्यवस्थित सहर निर्माण हुने उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले सहरलाई व्यवस्थित गर्न व्यवस्थित सडक, घरहरूको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारबारे योजना, खोलाको किनारको बस्ती व्यवस्थितलगायत कुरामा ध्यान दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै, सहरका नागरिकलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने वातावरण तयार पार्नुपर्ने, बजारका उत्तरतिरका पहाडलाई हिल स्टेसनका रूपमा विकास गर्नुपर्ने तथा दक्षिणतिरका फाँटमा रात्रिकालीन विकासका रूपमा ध्यान दिनुपर्ने बताए । तुलसीपुरको ‘क’ लाइनलाई व्यावसायिक केन्द्रका रूपमा संरचनाहरू तयार पार्नुपर्ने, राम्रो होटेल व्यवसायको विकासमा ध्यान दिनुपर्ने बताए ।

दाङमा उत्पादन भएको मनसुली चामलले काठमाडौंमै राम्रो बजार पाएकाले मनसुली ब्रान्डका रूपमा विकास गर्नुपर्ने, कृषिको विकासमा ध्यान दिनुपर्ने, दाङलाई कर्णालीकै ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकासका लागि शिक्षा, स्वास्थ्य, उद्योग, सूचना तथा प्रविधिको विकासलगायतमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा आर्थिक विकासमा लगानी व्यवस्थापन तथा सम्भावनाबारे विष्णुपुरी, तुलसीपुर उपमहानगरपालिकामा आर्थिक विकासका सम्भावना, नीति तथा कार्यक्रमबारे बाबुराम रानाभाट, प्रदेश सरकारको स्थानीय आर्थिक विकाससम्बन्धी रणनीति र सोचबारे पाँच नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, स्थानीय आर्थिक विकासको अवधारणाबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले प्रस्तुति राखेका थिए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर आर्थिक विकास सम्मेलनबाट तुलसीपुरको आर्थिक विकासका लागि आएका सुझावलाई आउँदो वर्षको बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्ने बताए ।