‘बिहे गर्दैमा सुख नमिल्नेरहेछ’
आफ्ना क्रियाकलापका कारण प्रायः विवाद र चर्चामा रहिरहने नायिका रेखा थापा पछिल्लो पटक पूर्वपति समेत रहेका निर्माता छविराज ओझाप्रति अभिव्यक्त धारणाका कारण चर्चामा छिन् । यतिबेला चलचित्र ‘तथास्तु’को प्रचारप्रसारमा व्यस्त रेखा अब चाँडै ‘रामप्यारी’ नामक नयाँ चलचित्र निर्माण गर्दैछिन् । आफूलाई एक नायिकाको रूपमा अलग उचाईमा राख्न सफल रेखासँग उनको व्यक्तिगत जीवनशैलीमा केन्द्रित भई गरिएको कुराकानी :
० रेखा थापाको समाचार भनेपछि बिकाउ नै हुन्छ हो ?
– मैले आफ्नो कुरा आफैं कसरी भन्नु ? बिक्ने भएकैले नै त यस्तो भनिएको होला नि !
० तर, समाचार बिकाउने बहानामा रेखा सबैलाई गाली गर्छिन् भन्ने आरोप छ नि ?
– त्यै त । मेरो समाचार बिक्ने भएकैले मैले भन्दैनभनेका कुराहरू पनि बजारमा आउन थालेका छन् । कतिपय अनौपचारिक कुराहरू मेरो भनाइको नाम दिएर पत्रपत्रिकाले प्रकाशित गर्दा दुःख लागेर आउँछ ।
० चर्चामा आउन रेखा जे गर्न पनि पछाडि पर्दिनन् भन्ने चर्चा पनि छ नि बजारमा त ?
– अब सायद मलाई चर्चामा आउन अन्टसन्ट बोलिरहनु पर्दैनजस्तो लाग्छ । वास्तवमा जबर्जस्ती चर्चामा छाइरहनु पनि आवश्यक छैन कि अब मलाई ?
० रेखाका मित्र धेरै होलान् कि शत्रु ?
– त्यो भन्न सक्दिनँ । म त सबैलाई मित्र नै ठान्छु तर यता पछाडिबाट शत्रुको व्यवहार गरिँदोरहेछ ।
० रेखामाथि मात्रै किन यस्तो हुन्छ त ?
– मेरो बारेमा मात्र नभई अरुको बारेमा पनि यस्तो हुन्छ होला । अरुहरूको कुरा बजारमा त्यत्ति नआएको हुन सक्छ । मेरो भने हरेक क्रियाकलाप बजारमा आउँदा चर्चा बढी आएको हो ।
० रेखाजस्तै बन्न यतिबेला केही नायिकाहरू लागिपरेका छन् भनिन्छ, के उनीहरूको उद्देश्य सफल होला ?
– सफल होस् भन्ने कामना गर्दछु । तर, रेखाजस्तो होइन कि सबैले आफूजस्तै बन्ने अनि आफ्नै विशेषता अँगाल्नु पर्दछ । अरुको सिको वा नक्कल गर्नु राम्रोचाहिँ होइन जस्तो लाग्छ । आफ्नै विशेषता बनाउन सक्नुपर्छ ।
० रेखाले अब फेरि बिहे गर्छिन् कि ?
– त्यसबारेमा म अहिले नै भन्न सक्दिनँ । तर मलाई विवाहमाथि विश्वास लाग्नै छाड्यो ।
० विवाहप्रति किन यस्तो वितृष्णा ?
– कसैले पढेर जान्दछन् त कसैले परेर । बिहेबारे मैले दुबै तरिकाले जानेँ, त्यसैले ।
० अनि एक्लो जीवन निरस हुँदैन र ?
– जीवनलाई कसरी बुझ्ने भन्ने कुरामा भर पर्छ । संसारमा बाँच्नेहरू सबैले बिहे नै गरेका छन् र ? विवाह नगरेका महिला पनि खुशीसाथ बाँचेका छन् नि । अनि विवाह गर्नेहरू पनि सबै कहाँ खुशी छन् र ?
० भनेपछि अब रेखा थापाको विवाहको चर्चालाई हल्लाको रूपमा मात्र लिए भयो ?
– अहिलेलाई यही नै भनौँ ।
केकीमाथि किचकिच
यतिबेला घरायसी झमेलाले तनावमा रहेकी अभिनेत्री केकी अधिकारीलाई अब फिल्मवालाहरूले पनि तनाव दिन थालेका छन् । ओरालो लागेकालाई जेसुकैले पनि लखेट्छ भनेजस्तै भएको छ केकी अधिकारीको हकमा ।
म्युजिक भिडियोमार्फत् चलचित्रमा प्रवेश गरेकी केकीलाई कुनै समय आफ्नो सिनेमामा लिन पाए निश्चित सफलता मिल्ने ठान्दथे चलचित्रकर्मीेहरू । तर, अहिले तिनै चलचित्रकर्मी केकीलाई पारिश्रमिकमा निचोर्न उद्यत् हुन थालेका छन् । कारण हो– केकीले अभिनय गरेका चलचित्रहरू लगातार असफल हुनु । हुन पनि त्यस्तै भएको छ, केकीले अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छिन्, तर विडम्बना ! कुनै पनि चलचित्र सफल भएका छैनन् ।
सुरुमा केकीले मागेको पारिश्रमिक दिन तयार हुने निर्मार्ताहरू अहिले आफूले तोकेको पारिश्रमिकमा केकीलाई चलचित्रमा अभिनय गराउन सफल भएका छन् । केकीलाई बाध्यता पनि छ कि यतिबेला जति पारिश्रमिकमा पनि काम गर्नैपर्छ । चलचित्रमा काम गरिसकेपछि म्युजिक भिडियोमा काम नगर्ने उनको प्रतिबद्धताले पनि यतिबेला हावा खाएको छ’, आफूले खेलेका चलचित्रहरू असफल हुन पुग्नु अनि त्यो कारणले गर्दा फिल्मवालाहरूले पारिश्रमिक पनि कम दिन थालेपछि केकी अहिले बाध्य भएर भिडियोमा खेल्न थालेकी छिन् ।
सुरुसुरुमा त उनको चुरीफुरी पनि कम थिएन । स्थापित निर्माता/निर्देशकको चलचित्रलाई लत्याउँदै थोरै बढी पारिश्रमिक पाउने आशामा नयाँ निर्माता/निर्देशकको चलचित्रतिर फालहालिन्, तर दुर्भाग्यले तिनै आलाकाँचाहरूको चलचित्रले केकीलाई डुबायो र अहिले डुबेपछि उनी पुराना निर्माताहरूको चलचित्रमा काम पाउन विभिन्न माध्यम अपनाउन थालेकी छिन् । पुरानाहरू पनि के कम ? असफललाई भित्याएर आफैं किन असफल हुनु ? केकीले पनि किन कुरा नबुझेकी होलिन् ? यहाँ सबै बलेकै आगो ताप्छन् नि !
तीन स्रष्टालाई वनीताश्री सम्मान
वनीता साहित्यिक त्रैमासिकले हरेक वर्ष प्रदान गर्दै आएको ‘नरेन्द्र चापागाईं वनीताश्री समालोचना सम्मान’बाट–०७१ बाट वरिष्ठ समालोचक प्रा. राजेन्द्र सुवेदी र देवकुमारी थापा, वनीताश्री कथा सम्मान–०७१ बाट वरिष्ठ कथाकार श्रीमती भागीरथी श्रेष्ठ र गोपालप्रसाद रिमाल तथा वनीताश्री काव्य सम्मान–०७१ बाट वरिष्ठ कवि डा. दुवसु क्षेत्रीलाई सम्मानित गरिने भएको छ । उपर्युक्त तीनवटै सम्मान वनीता साहित्यिक त्रैमासिकको आगामी महिना सम्पन्न हुने वाषिर्कोत्सवमा समर्पण गरिने जनाइएको छ ।
प्रतिक्रिया