छविलाल बगाले
अन्नपूर्ण पदमार्ग पछिको चर्चित मनास्लु पदमार्गमा पर्यटकिय होटलहरुमा लगानी बढाइएको छ । पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा उत्साहजनक बृद्धि भएपछि मनाङका पर्यटन ब्यवसायीहरुले पर्यटकिय होटलहरुमा लगानी बढाएका हुन् ।
गोरखाको आरुघाटबाट शुरु हुने मनास्लु पदमार्गको मनाङ खण्डका होटलहरुमा मात्रै १५ करोड बढि लगानी गरिएको होटल ब्यवसायी समिति तिल्चेका पुष्पबहादुर गुरुङले बताए । उनका अनुसार मनास्लु पदमार्गको फेरो मार्न आउने पर्यटकको संख्यामा बृद्धि हुन थालेपछि होटलहरुमा लगानी बढाइएको छ ।
पदमार्गको मनाङ खण्ड अन्तर्गतको धारापानी, थोंचे, तिल्चे, गोवा, सुर्कि, याकखर्क, भिमथाङमा तीन दर्जन बढि पर्यटकिय होटलहरुको निर्माण गरिएको छ । ‘मनास्लु पदमार्ग निकै ब्यस्त रुट हो ।’ गुरुङ भन्छन्, ‘पदमार्गमा दैनिक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । उनिहरुले सुविधासम्पन्न होटल खोज्ने हुनाले लगानी बढाएका हौं ।’
पछिल्ला वर्ष बेसीशहर–चामे, गोरखा–आरुघाट र काठमाडौं–आरुघाट सिधा यातायात संचालन भएपछि पर्यटक आगमनमा आएको उत्साहजनक वृद्धिले होटल व्यवसायमा लगानी गर्न मनाङका ब्यवसायीहरु हौसिएका छन् । पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै होटलको संख्या, सुविधा र लगानी बढाउनुपरेको मनाङको गोवास्थित होटल हिलटपका संचालक गुनराज गुरुङ बताउँछन् । ‘मैले होटलमा डेढ करोड लगानी गरीसकेको छु ।’ गुनराज भन्छन्, ‘राज्यले यस्ता पदमार्गको प्रचारप्रसारमा ध्यान दिनुप¥यो ।’ उनका अनुसार पर्यटकलाई लक्षित गरी पदमार्गको धारापानीदेखि भिमथाङसम्मको भागमा तीन दर्जन बढि होटलहरु संचालनमा आएका छन् । जहाँ एक दर्जन बढि आधुनिक र सुविधा सम्पन्न छन् ।
पदमार्गको मनाङ खण्डमा पछिल्लो समयमा केही नयाँ होटलहरु पनि निर्माणाधिन छन् । संचालनमा आएका होटलहरुमा एक करोडदेखि ४ करोडसम्मको लगानी भएको भिमथाङस्थित होटल पोङ्करका संचालक धनबहादुर गुरुङ बताउँछन् । ‘पर्यटकहरुको आगमनमा केही सुधार आएपछि ब्यवसायीहरु इमेल इन्टरनेट, तातो चिसो लगायतका सुविधाहरु थप्नमा ब्यस्त देखिएका छन् ।’ उनि भन्छन्, ‘राज्यले पदमार्गको स्तरोन्नती र पदमार्गमा पर्यटकहरुलाई आवश्यक पूर्बाधारको विकासमा चासो दिन आवश्यक छ ।’ उनका अनुसार नयाँ होटलमा स्नान कक्षसहितको सुविधा भएको र पुरानामा कमन बेड बढी छन् । पाहुनाको सुविधाका लागि स्थानीय बासिन्दाले होटल व्यवसायमा लगानी बढाउने होड चलेको गुरुङ बताउँछन् ।
विगत ५–६ वर्ष पहिलेसम्म पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु सामान्य होटलमा बस्नुपर्ने बाध्यता रहेको गोवास्थित निर्भाना होटलका संचालक डिलराम गुरुङ बताउँछन् । ‘अहिले पूर्बाधार र सुविधासहितको होटल निर्माण भएका छन् ।’ उनले भने, “पाहुनाको चाप, माग र आवश्यकताअनुसारको आवास सुविधा दिन होटलमा लगानी र सुविधा बढाइएको हो ।’ उनका अनुसार होटलमा एट्याच बाथरुम, वाइफाइ, तातोपानीले स्नान गर्ने लगायतका पोखरा, काठमाडौं, चितवन जस्ता शहरमा पाइने सुविधा मनाङका होटलमा उपलब्ध छ ।
यहाँका होटलका कोठाबाटै हिमाल र मनोरम भूबनोट एक साथ अवलोकन गर्न सकिन्छ । पाहुनाको रोजाई अनुसार राष्ट्रिय, अन्तराष्ट्रियदेखि स्थानीय खानाको परिकारका स्वाद यहीँ चाख्न पाइने गोवास्थित सुपरभ्युका संचालक पुष्प गुरुङ बताउँछन् । उनले पर्यटकका लागि घोडा र क्याम्पिङको सुविधासहित होटल संचालन गरेको बताए । ‘छुट्टि मनाउन नेपाली पर्यटक मनाङको गोवा र भिमथाङ आउने क्रम बढेको छ ।’ उनले भने, ‘यहाँ आउने जो कोही पर्यटकले बास पाइँदैन कि भन्ने चिन्ता लिनु पर्दैन । हामीसँग धेरै होटलहरु छन् ।’
पदमार्गको यि होटलहरुमा विदेशीलाई सुविधा अनुसार एक रातको चार सयदेखि आठसय रुपैयाँसम्मको कोठा पाइन्छ भने नेपाली पर्यटकलाई २ सयदेखि ५ सयसम्म लिने गरेको होटल गोवा भिलेजकी संचालक यमकुमारी गुरुङ बताउँछिन् । ‘केही वर्ष पहिला लार्केपास छिचोल्न खोज्ने र मनाङ यात्रामा आउने विदेशी पर्यटक पाल टाँगेर बस्न बाध्य थिए ।’ उनि भन्छिन्, “तर अहिले सुविधायुक्त होटल खुलेसँगै यो बाध्यताको अन्त्य भएको छ ।”
उता पदमार्गको गोरखा खण्डमा पनि सुविधासम्पन्न होटलहरुको निर्माण भएको छ । ब्यवसायीहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटकिय होटलमा लगानी बढाएका छन् ।
प्रतिक्रिया