९० करोडको गुरुयोजनामा पर्यटन प्रवद्र्धन गरिँदै

९० करोडको गुरुयोजनामा पर्यटन प्रवद्र्धन गरिँदै


दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झन्डै ९० करोड रुपैयाँको गुरुयोजनाको तयारी गरिएको छ ।

यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करिब रु. ९० करोडभन्दा बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए । ‘पहिले हामीले करिब रु. ७० करोडको गुरुयोजना बनाएका थियौँ । सो गुरुयोजनाबाट केही काम सम्पन्न पनि भइसकेका छन्,’ उनले भने, ‘पहिलेको गुरुयोजनाको केही छुटेको थियो त्यसलाई समेटेर अब बृहत् गुरुयोजना बन्दै छ, यसको तयारीमा हामी जुटेका छौँ ।’

नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा डुंगा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करिब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घन्ट निर्माण, सुनकोटसम्म पुग्न चार हजार ९६३ सिँढी निर्माण गर्ने योजना छन् ।

सिँढी निर्माण गर्दा एकजना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउनेछ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताए । अहिले गुरुयोजनाका लागि कानुनी प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । प्रदेश ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।