दुर्घटना न्युनीकरण गर्न अटोरिक्सामा स्टिकर

दुर्घटना न्युनीकरण गर्न अटोरिक्सामा स्टिकर


रमेश विश्वकर्मा, गुल्मी

जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना कम गर्न जिल्लामा सञ्चालित अटोरिक्समा स्टिकर टाँसिदिएको छ । रेसुङ्गा नगरपालिकाभित्र सञ्चालित अटोरिक्सामा चालकले पछाडी सहजै देख्न नसक्ने भएकोले रातको समयमा टल्कने स्टिकर राख्नाले अरु सवारीले सहजै देख्न सक्ने हुँदा दुर्घटना कम हुने अपेक्षााका आधारमा स्टिकर टाँस गरिएको बताइएको छ ।

चालकहरुलाई रातको समयमा टल्कने स्टिकर र ट्राफिक नियमको बारेमा प्रशिक्षण समेत दिइएको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी पृथ्वीनारायण काफ्लेले जानकारी दिए । चालकलाई अटो रिक्सा तिव्र गतिमा नचलाउन, क्षमता भन्दा बढी यात्रु ओसारपोसार नगराउन, जथाभावी ठूला गाडीसँग ओभरटेक नगर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

ट्राफिक नियम पूर्ण रुपमा पालना गर्दै यात्रुलाई सहज रुपमा सेवा दिन ट्राफिकले रिक्सा चालकलाई आग्रह गरेको छ । स्टिकर टाँसेर चालकहरु अनुशासित तथा स्टिकरको महत्व बुझ्न् सहज हुने छ । ट्राफिक कार्यालयले रिडी र श्रृङ्गामा सञ्चालित ट्याक्टरमा पनि स्टिकर टाँसेको हो ।

यस्तै, रातको समयमा ट्र्याक्टर बढी चल्ने र दुर्घटना हुने भएकोले ट्र्याक्टरको पछाडी स्टिकर टाँसेको ट्राफिक प्रमुख काफ्लेले बताए । अटोरिक्सा र ट्याक्टरमा रातको समयमा टल्कने स्टिर टाँस्दा सडक दुर्घटना कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य ठाउँमा पनि सडक दुर्घटनालाई न्युनीकरण गर्न यस्तो अभियानलाई अगाडि बढाइएको ट्राफिकले जनाएको छ ।