नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो ।
नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी बिक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक बीएम गुुप्ताले जानकारी दिए ।
‘गोदाममा नबिकेर थन्केका चिनी समयमै बिक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ,’ गुप्ताले भने ।
प्रत्येक वर्ष मिल सञ्चालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भए पनि यस वर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक संघका पूर्वअध्यक्ष शैलेन्द्रराज पाण्डेले बताए । किसानले अहिले उखुको मूल्य प्रतिक्विन्टल रु. ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रतिक्विन्टल रु ५३१ निर्धारण गरेको थियो ।
चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यस वर्ष मूल्यकै कारण सञ्चालन हुन सकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् ।
सुनसरी र मोरङमा अहिले दुई हजार दुई सय कृषकले पाँच हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रतिबिघा तीन सयदेखि चार सय क्विन्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रतिबिघा २५८ क्विन्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिए ।
इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा जोड दिए ।
उनले सरकाले बाहिरबाट आउने सिमेन्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेन्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ बताए । सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मिहिनेत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए ।
प्रतिक्रिया