यतिबेलाका सर्वाधिक चर्चित, सफल र व्यस्त गायकमध्ये अग्रपङ्क्तिमा पर्छन् राजेशपायल राई । आफ्नो कुशल गायकीका कारण उनले विश्वभर छरिएर रहेका नेपालीलाई साङ्गीतिक स्वाद चखाइसकेका छन् । हालसम्म गायनप्रस्तुति एवम् व्यक्तिगत तवरले समेत गरी तीसभन्दा बढी मुलुक घुमिसकेका गायक राई चलचित्र र आधुनिक हरेक विधाको गायनमा निपूर्ण मानिन्छन् । चलत्रिको गीतमा त उनी खपरिहार्यजस्तै भइसके । हालै मात्र तीन महिना अमेरिका र क्यानडाको विभिन्न शहरमा साङ्गितीक प्रस्तुति दिएर स्वदेश फर्किएका राजेश अविवाहित नै छन् । कुनैबेला नायक राजेश हमालले सामना गर्ने प्रश्न आजकाल गायक राजेशपायल राईले ब्यहोर्नेगरेका छन् । प्रस्तुत छ, यसै विषयमा केन्द्रित रही राजेशसँग गरिएको कुराकानी :
० तपाईं महानायक राजेश हमाललाई मीतज्यू भन्नुहुन्छ नि, किन हो ?
– उहाँको र मेरो सम्बन्ध नै त्यस्तै छ । भेट्दा उहाँ मलाई मीतज्यू भन्नुहुन्छ अनि म पनि मीतज्यू भनेरै जवाफ फर्काउँछु ।
० साँच्चै मीत लगाउनुभएको हो र ?
– मनको नाता गाढा भएपछि औपचारिकता निभाइरहनु आवश्यक पर्दैन । औपचारिक रूपले मीत लगाएको नभई हृदयले जोडिएको नाता हो ।
० उसो भए त मीतज्यूकै सिको गर्ने होइन त अब ? उहाँले बिहे गर्नुभयो अब तपाईंको पालो आयो नि, होइन ?
– हो ! अहिले मलाई चौतर्फी दबाब आइरहेको छ । अब चाँडै झ्याईं पार्ने कि भन्ने सोच आएको पनि छ ।
० यसबारे मीतज्यूले के सुझाव दिएका छन् नि ?
– उहाँले पनि विवाह गर्नुप¥यो मीतज्यू भनेर भनिरहनुभएको छ ।
० महानायकले त छानेर राख्नुभएको थियो, तपाईंले नि ?
– मैले छानेरै त राखेको छैन, तर कहिँकतै त होलिन् नि मेरी जीवनसंगिनी भन्ने विश्वास छ ।
० कस्ती होलिन् त तपाईंकी सपनाकी राजकुमारी ?
– मलाई विश्वास छ– सभ्य, सुन्दर, सुकुमारी अनि भद्र होलिन् ।
० भनेपछि अब गायक राजेशपायल राईको बिहेको भोज छिट्टै खान पाइने भइयो, कि कसो ?
– अवश्य, अब टाढा जाँदैन । अब समय आएजस्तो छ ।
० कस्तो रह्यो नि अमेरिकाको यात्रा ?
– एकदम स्मरणीय र सम्झनयोग्य । भुल्नै नसक्ने प्रस्तुतिहरू दिइयो र स्थानीय नेपालीको साथ र माया पनि भूल्नै नसक्ने गरी पाइयो ।
० गीत गाएर पैसा कमाउने गायकमा तपाईंको नाम नम्बर वनमा आउँछ भन्छन् नि, हो ?
– भनेजस्तो पैसा त कमाएको छैन, इज्ज्तका साथ बाँचिएको छ भननुप¥यो । इजजत भए त पुगि हाल्यो नि, होइन र ?
० तर यहाँ त गीत गाएर बाँच्नै गाह्रो छ भन्छन् त ?
– मिहेनत गर्नु प¥यो नि, निरन्तरता पनि दिनुप¥यो । गायन क्षेत्रलाई रहर होइन कर्म ठान्नु प¥यो । खहरे बनेर एकैचोटि उर्लन खोज्ने ‘रहरे’हरूले मात्रै यो क्षेत्रलाई यसरी खसालेर कुरा गर्छन् जस्तो लाग्छ !
किन दिइन् नन्दिताले यस्तो सुझाव ?
‘घरकी श्रीमतीलाई ठूलो सपना देखाउने, फकाउने अनि माया गरेजस्तो गर्ने र बाहिर पनि दोस्री स्त्री राखेर गलत व्यवहार गर्ने ! यस्तै हुन् लोग्नेमान्छे… ।
नायिका नन्दिता केसीले यसै भनिन् गत आइतबार । उनी अगाडि भन्दैथिइन्– ‘विश्वास गर्न नसकिने जात हो लोग्नेमान्छे । जस्तो हुन्छ त्यस्तो नदेखिने र जे देखिन्छ त्यो सत्य नहुने !’ पुरुषका बारेमा यति धेरै आरोप लगाउँदै तिक्तता पनि पोखिन् अभिनेत्री नन्दिताले । तर, यो असन्तुष्टिमा उनको अनुभव भने मिसिएको छैन । नन्दिताले यो अभिव्यक्ति आइतबार आयोजित चलचित्र ‘लोग्नेमान्छे’को एक कार्यक्रममा ब्यक्त गरेकी हुन् । उनले चलचित्रमा आफ्नो गजबकै भूमिका छ भनेर पनि भनिन् ।
पुराना नलाकर्मी लय संग्रौलाले चलचित्र ‘लोग्नेमान्छे’को निर्देशन गरेका हुन् । कार्यक्रममा यो चलचित्र निर्देशक संग्रौलाकै जीवनमाथि आधारित भएको भनेर ठट्टा पनि गरे । यता यो ठट्टालाई संग्रौलाले इन्कार गर्दै थपे– ‘घरकीलाई वास्ता नगरेर बाहिरीकीलाई महत्व दिएको छैन मैले ।’
‘सबै लोग्नेमान्छे फिल्ममा देखाएजस्तै हुने हो भने त म बिहे गर्दिनँ । किनकि, फिल्मका लोग्नेमान्छे त खत्तम छन्’, अभिनेत्री नन्दिता केसीले सार्वजनिक समारोहमा खुलस्तै भनिन् । कार्यक्रममा सबैले लोग्नेमान्छे हेर्नेपर्ने तर्क अगाडि सारे– ‘निकै हल्लीखल्ली भयो ‘लोग्नेमान्छे’को एकपटक त हेर्नैपर्ने भयो नि यो फिल्म !’ त्यसो त, अभिनेत्री नन्दिता केसीले फिल्ममा सबै लोग्नेमान्छेलाई गाली गरिएको छैन पनि भनिन्– ‘भोलि बाटोमा हिँड्दा सबै लोग्नेमान्छेले आँखा तरेर हेरे भने त बर्बाद नै हुन्छ नि !’ उनले थपिन् । नन्दिता भन्दै थिइन्– ‘तर यो फिल्म एक्लै लोग्ने र एक्लै स्वास्नीमान्छे भने हेर्न नजानुहोला, लोग्ने–स्वास्नी दुबै मिलेर हेर्ने जानुभयो भने राम्रो हुन्छ’, उनको आग्रह थियो ।
रोल्पामा चलचित्र कार्यशाला
नेपाली सिनेमाको पहुँच र स्तर उकास्ने उद्देश्यले अखिल नेपाल चलचित्रकर्मी सङ्घले तीनदिने कार्यशालाको आयोजना गर्ने भएको छ । सङ्घका अध्यक्ष केपी पाठकका अनुसार कार्यशाला रोल्पाको लिवाङमा आयोजना हुनेछ भने अन्तर्राष्ट्रिय चलचित्र कार्यशालामा टर्की, भारत र चाइनालगायत मुलुकका वरिष्ठ चलचित्रकर्मीहरूको सहभागिता रहने छ । पाठकले नेपाली सिनेमाको आफ्नै पहिचान स्थापना गर्नका निम्ति पनि कार्यशालाको आयोजना अनिवार्य भएको बताए । कार्यशालामा पचासभन्दा बढी चलचित्रकर्मीहरूको सहभागिता रहने छ भने कार्यशाला माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ । सङ्घले यो कार्यशालालाई सिर्जनात्मक आन्दोलनको रूपमा पनि लिएको छ । रोल्पामा नेपाली चलचित्रसम्बन्धी यो पहिलो कार्यक्रम हो ।
श्यामप्रसादलाई रू. एकको पुरस्कार
वरिष्ठ लेखक श्यामप्रसाद शर्मा रू. १ को ‘अभियान पुरस्कार–२०७०’ बाट पुरस्कृत भएका छन् । राजधानीमा गत शनिबार एक कार्यक्रमको आयोजना गरी अभियान साहित्य प्रतिष्ठानले साहित्यकार शर्मालाई पुरस्कृत गरिएको हो । प्रतिष्ठानको तर्फबाट नाबालकद्वय राघव फुयाँल र आस्था ज्ञवालीले साहित्यकार शर्मालाई रु. १ को अभियान पुरस्कार प्रदान गरे भने साथमा ताम्रपत्र र प्रतीक चिह्न प्रदान गरिएको थियो । प्रतिष्ठानले नौ वर्षमुनिका बालबालिकाको हातबाट सो पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार आनन्ददेव भट्ट, साहित्यकार शान्ता मानवी, डा. धर्मराज अधिकारीले साहित्यकार श्यामप्रसादबारे अभिव्यक्ति दिए भने प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. कृष्णप्रसाद घिमिरेले अहिलेको साहित्यिक पुरस्कारमा देखिएको विसङ्गति–विकृतिविरुद्ध साङ्केतिक प्रहारको रुपमा रू १ को पुरस्कार स्थापना गरिएको जानकारी दिएका थिए ।
न्यौपानेलाई सिसार सम्मान
लमजुङका कवि रामचन्द्र न्यौपानेलाई सिसार सम्मान–०७१ अर्पण गरिएको छ । सिसार साहित्यिक पत्रिकाका प्रधानसम्पादक ज्ञाननिष्ठ ज्ञवाली र प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले कविलाई संयुक्त रूपमा सम्मान हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मणिराज सिंह, युवराज शर्मा गौतम, जनार्दन अधिकारी, रामबहादुर गुरुङ, प्रभा भट्ठराई, डा. जीवन अधिकारी, सुदेश सत्याल, कविता न्यौपाने लगायतले मन्तव्य तथा कविता वाचन गरेका थिए ।
उप्रेतीका नियात्रा
निबन्ध कृतिसँगै आधा दर्जन गैरसाहित्यिक पुस्तक लेखेका प्रा.डा. रामप्रसाद उप्रेती नियात्रा सङ्ग्रह ‘अन्तिम आकाश’सहित आएका छन् । त्रिवि महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुख समेत रहिसकेका प्रा.डा. उप्रेतीले मुलुकभित्र र बाहिर घुम्दाका अनुभूतिलाई सँगालेर नियात्रा कृति प्रकाशनमा ल्याएका हुन् ।
प्रतिक्रिया