इन्धनको मूल्य फेरि घट्यो

इन्धनको मूल्य फेरि घट्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमशः घटिरहेकाले तथा डलरको तुलनामा नेपाली मुद्रा पनि बलियो हुँदै गएकाले घटाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ रुपैयाँ भएको हो ।

यसअघि एक लिटर पेट्रोलको खुद्रा मूल्य १ सय १० रुपैयाँ थियो । डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ भएको छ । डिजेल र मट्टीतेलको यसअघिको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९७ रुपैयाँ थियो । चारआली, विराटनगर महेन्द्रनगर (धनुषा), वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, पोखरा ,दाङ डिपोको १५ किलोमिटर क्षेत्रभित्र लागु हुने खुद्रा मूल्य प्रट्रोल प्रतिलिटर १०६.५० रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३.५० रुपैयाँ तोकिएको छ ।

यसअघि यी क्षेत्रमा प्रेट्रोलको मूल्य प्रतिलिटर १०७.५० रुपैयाँ र डजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ९४.५० रुपैयाँ थियो । आन्तरिक तथा अन्तराष्ट्रिय हवाई इन्धन तथा खाना पकाउने एलपि ग्यासको मूल्य यथावत राखिएकोे छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले अब नियमितरुपमा स्वचालित मूल्य लागु गर्ने निगमले जनाएको छ ।

पछिल्लो मूल्य समायोजनले भारतको रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोल प्रतिलिटर १०.४१ रुपैयाँ सस्तो छ । डिजेल र मट्टीतेल पनि लिटरमा १२.३८ रुपैयाँ सस्तो हुनेछ । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ । पछिल्ला केही महिना अन्तराष्ट्रिय बजारमा प्रट्रोलियम पदार्थको मूल्य आकाशिँदा निकमको घाटा बढेको थियो ।

अझै २ अर्ब ३७ करोड घाटा रहेको निगमको दाबी छ । नयाँ मूल्य लागुभएपछि निगमलाई पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनमा नाफा छ । खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर ८०.६९ रुपैयाँ घाटा हुने निगमको दाबी छ ।