घलेम्दीको आईपीओ बिक्री आजबाट

घलेम्दीको आईपीओ बिक्री आजबाट


म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजनास्थल रहेको घलेम्दी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रोपावर कम्पनीले आज (बिहीबार)देखि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले रु. १५ करोड ३३ लाखबराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण सयर (आईपीओ) बिक्री सुरु गरेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । सो कम्पनीको सेयर छिटोमा यही पुस २३ गतेसम्म र ढिलोमा आगामी माघ १८ गतेसम्म बिक्री गरिनेछ ।

आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण सेयर बिक्री गरेको थियो ।

चिलिमेको शेयर मूल्य समायोजन

चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु. ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेलगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु. ७३७ रहेको छ ।

चौतारी लघुवित्तको कारोबार शुरु

यस्तै, हालै मात्र साधारण सेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोबार शुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोबार मूल्य रु. १११ देखि रु. ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ ।

कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता सेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै रु. ६ करोड बराबरको ६ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो ।