‘कोहीनूर’का निकम्माबीच बेग्लै खिचातानी

‘कोहीनूर’का निकम्माबीच बेग्लै खिचातानी


funtimeसर्जकको चाहना, इच्छा, उद्देश्य अनि ध्येय हुन्छ आफ्नो सिर्जना बढीभन्दा बढी दर्शक, श्रोता, पाठक अनि शुभचिन्तकसमक्ष पुगोस् । आफ्नो प्रतिभा र आफूले सिर्जनामार्फत उठाएका कुराहरू अत्याधिक पहुँचमा पुगोस् । त्यसमा आर्थिक कारोबार गरेजस्तो नाफा वा घाटाको कुरै आउँदैन । अझ त्यसमाथि आर्थिक रूपले सक्षम भइसकेको सर्जकहरूका निम्ति त आफ्नो सिर्जनामा मोलमोलाई वा धेरै–थोरैको कुरै आउँदैन । सिर्जनामा आफूले लगाएको लगानी कभर भएपछि ती सर्जकले बढीभन्दा बढी जनतामाझ आफ्नो सिर्जना पु-याउने चाहना राखेका हुन्छन् । यस्तै चाहना राखेका थिए अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठले । उनले पहिलोपटक बनाएको चलचित्र ‘कहाँ भेटिएला’ हिट भएर आफ्नो लगानी उठेपछि भनेका थिए, ‘मेरो लगानी उठ्यो अब यो फिल्मलाई मूल्य नतोकेर म बढीभन्दा बढी दर्शकहरूमाझ पु-याउन चाहन्छु ।’ अन्ततः श्रीले आफ्नो उक्त वाचा पूरा गरे, फलतः उनी लाखौँ दर्शकको मनमा बस्न सफल भए । आफ्नो सिर्जनालाई श्रीले कहिल्यै पनि दाममा दाँजेनन् । आफ्नो दोस्रो चलचित्र ‘कोहीनूर’ रिलिजपूर्व पनि श्रीले यस्तै अभिव्यक्ति दिएका थिए, ‘मेरो लगानी उठ्यो भने म नाफाका लागि दौडन्नँ ।’
दुःखलाग्दो कुरा यस्तो स्वच्छ अभिव्यक्ति दिने अभिनेता श्रीले आफ्नो उद्देश्य पूरा गर्नुअगाडि नै यो धर्ती छाडे । तर, उनको यो उद्देश्यलाई साथ दिने वा सम्मान गर्ने उनका परिवारहरू पनि भेटिएनन् । जब श्रीकृष्णको निधनले राष्ट्रिय वा अन्तर्राष्ट्रिय चासो र चर्चा पायो, त्यसपछि नै आफ्ना प्रिय नायकको अन्तिम सिर्जना हेर्न स्वदेश–विदेशमा रहेका नेपालीबाट चासो उठाइयो । तर, यही चासो र महत्वको गलत फाइदा उठाउँदै चलचित्र ‘कोहीनूर’का अन्य लगानीकर्ता (पार्टनर)हरूले यो चलचित्रलाई हलसम्म पु-याउन विभिन्न मोलमोलाई गर्न थाले । यतिसम्म कि यति भए दिने नत्र नदिने भन्ने जस्तो सुनको मोल राखेजस्तो स्वर्गीय अभिनेताको अन्तिम चिनो हेर्नका लागि दर्शकहरूले यी पार्टनरहरूले तोकेजति रकम दिनुपर्ने भयो । यस्तो फोहोरी खेल स्वदेशमा मात्र भएन, विदेशमा पनि देखियो । कुनै विदेशमा नेपालीले श्रीको अन्तिम चिनो हामी चलाएर उहाँप्रति श्रद्धाञ्जली दिन चाहन्छौँ भन्ने उद्देश्यले चलचित्र कोहीनूर माग्दा श्रीका अन्य पार्टनरहरूले यतिभन्दा नदिने र अर्कोले यति दिएको छ भनेर कोहीनूरलाई आयस्रोतको मूल माध्यम नै बनाउन खोजे । यदि श्री भएका भए यो चलचित्रलाई दर्शकमाझ पु-याउने क्रमा यस्तो फोहोरी खेल खेल्दैनथे । पछि हुँदाहुँदा त पार्टनरहरूबीच नै कसले कति कमिशन खाने र कसले कुन देशको जिम्मा लिने भनेर झगडा नै पर्न थालेको थियो । यी सबै कुराबारे श्रीकृष्णकी धर्मपत्नी तथा कोहीनूरकी अभिनेत्री श्वेता खड्का भने अनिविज्ञ थिइन् । धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भनेजस्तै भयो श्रीको निधनपछि कोहीनूरका पार्टनरहरूबीच । ती पार्टनरहरूले बुझेनन् कि कोहीनूर उच्चकोटिको या ‘वाह †’ गर्नलायकको फिल्म भएर नभई आफ्ना प्रिय नायकको अन्तिम उपहार हेर्नका लागि मात्र स्वदेश तथा विदेशमा रहेका नेपाली लालायित भएका हुन् भन्ने कुरा । यति भए दिने नत्र नदिने भन्दै निधन भएका नायकको सिर्जनामाथिको मोलमोलाइमा नै अल्झिने कोहीनूरका पार्टनरहरूका कारण विदेशमा रहेका लाखौँ नेपाली चलचित्र कोहीनूर हेर्नबाट वञ्चित हुन पुगेको सत्यता अब छिपेको छैन । विदेशमा रहेका ती नेपालीले चलचित्र कोहीनूरका पार्टनरलाई चुनौती दिँदै भनेका छन्, ‘अब श्रीको सिर्जना र चिनोलाई व्यापारीकरण गर्नेले अर्को चलचित्र बनाउन र हामीसँग फिल्म चलाउने कुरा गरून्, हामी के गर्छौं त्यसपछि थाहा हुन्छ †’ उनीहरूले थपेका छन्, ‘स्वर्गीय अभिनेताको सिर्जनालाई कमाइको भाँडो बनाउन खोज्नेलाई अर्को चलचित्र बनाउन आग्रह गर्दछौँ । उनीहरूको हैसियत स्पष्ट होस् भन्ने चाहन्छौँ । निधन भएका नायकको नाममा व्यापार गर्नेको कहिल्यै भलो नहोला ।’ निकै निराश र चिन्तित छन् विदेशमा रहेका नेपाली, चलचित्र कोहीनूर हेर्न नपाएकोमा । र, यता श्रीका पार्टनरलाई चलचित्रको ‘च’ थाहा छैन, तर आज उनीहरू नै कोहीनूरको हिस्सा खान हरपल तयार भएर बसेका हुन्छन् ।
यसरी चलचित्र क्षेत्रमा जीवन नै अर्पण गरेका अभिनेता स्व. श्रीकृष्णको सिर्जनालाई मूल्यमा तौलेर उनको आत्मालाई ठेस पु-याउन खोज्नेहरूलाई सुझाव छ कि जति कमाउनु छ कोहीनूरबाट कमाउनुस्, किनकि यसपछि तपाईंहरूले अर्को फिल्म पनि बनाउनुहुन्न र बनाउनुभयो भने पनि यति कमाउन सक्नुहुन्न । कमाउनुस् कमाउनुस्, कमाउनुस् †

मीनलाई स्टाइलिस बन्ने चस्का
हुन त उनले गायन क्षेत्रमा प्रवेश गरेको चार वर्ष भइसक्यो, तर चर्चा–परिचर्चामा भने गायक मीनराज गौतम भर्खर आउन थालेका छन् । आधुनिक, लोक र पप सबै स्वादका गीत गाउन सिपालु छन् उनी । ‘हाँसेर दिन कटाइ राख है, खारा बजार न्यागी मेलैमा र आफ्नो मुुटु भन्न नपाउँदा’ बोलका लोकदोहोरी गीतबाट साङ्गीतिक बजारमा चिनिएका हुन् उनी ।
बानेश्वर चोकमा बोलको पप स्टाइलका गीतमार्फत पनि यिनी युवा पुस्तामाझ चिनिएका थिए । ‘श्रोतामाझ चिनिन त हरेक खालका गीत गाउन सक्नुपर्दो रहेछ, स्टाइलिस भइएन भने गाह्रो हुँदोरहेछ’ भन्न थालेका छन् मीन यतिबेला । त्यसैले उनी आधुनिक गीति एल्बम ल्याउने तयारीमा छन् । बाग्लुङका मीनराज गाउने मात्र नभएर गीतलेखन र सङ्गीत भर्ने काम पनि आफैँ गर्छन् ।

श्रवणको भावालय सार्वजनिक
साहित्यकार श्रवण मुकारुङको नयाँ कृति ‘भावालय’ पाठकमाझ आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक विमोचन गर्दै श्रवणको साहित्यिक व्यक्तित्व कविता र गीतमा मात्र सीमित नभएको बताए । यसअघि ‘तर्कहरूको विपक्षमा’ नामक निबन्धसङ्ग्रह प्रकाशनमा ल्याएका श्रवणको दोस्रो निबन्धसङ्ग्रह हो ‘भावालय’ । ‘निबन्धमा सीधै विचार राख्न पाइने हुँदा यसमा बडो स्वतन्त्रता महसुस गर्छु, कवितामा त्यस्तो हुँदैन,’ नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसमेत रहेका श्रवणले निबन्धलेखनबारे भने ।

चेतकी सम्मान
चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानले शनिबार राजधानीमा विभिन्न पुरस्कार वितरण गरेको छ । गत वर्षको चेतकी प्राज्ञ सम्मान संस्कृतितर्फ डा. जगदीशचन्द्र रेग्मीलाई दिइयो भने यस वर्षका लागि बौद्ध धर्म–दर्शनतर्फ भिक्षुणी धम्मवती शाक्यलाई प्रदान गरियो । यसैगरी ०५३ सालदेखि प्रदान गर्दै आएको सुश्री लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक पत्रकारिता पुरस्कार–०७१ गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक जयदेव भट्टराईलाई प्रदान गरिएको छ । गत वर्ष सो पुरस्कार सिक्किमबाट प्रकाशित हुने स्रष्टा साहित्यिक पत्रिकाका सम्पादक केदार गुरुङलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा युवराजसिंह कार्की सम्पादित सांस्कृतिक धरोहर भाग–१ पुस्तक पनि सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले पुस्तक लोकार्पण गर्दै इतिहास र संस्कृतिमा देखिएका विसङ्गत पक्ष हटाउन उक्त पुस्तकले सहयोग गर्ने बताए भने संस्कृतिविद् तुलसी दिवसले साहित्य र धर्मको मर्म बुझेर मुलुक विकासमा लाग्नुपर्ने औँल्याए । इतिहासविद् तथा प्राज्ञ दिनेशराज पन्तले इतिहास–संस्कृतिले युवा पुस्तामा अनुशासन जागरणमा सघाउ पुग्ने बताए । सुवर्ण शाक्यले बौद्ध दर्शन र गुरुमा धम्मवतीबारे चर्चा गरेका थिए । प्रा. खगेन्द्र लुइँटेलले पत्रकारिताको वर्तमान स्थिति, पुरस्कृत व्यक्तित्व र स्व. चेतकीराज्यलक्ष्मीबारे बोलेका थिए ।