नेपाली काङ्ग्रेसले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीलाई प्रतिनिधिसभाको सांसद पदको शपथग्रहण गराइएकोमा आपत्ति जनाएको छ ।
काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत चौधरीको शपथले सरकारले कानुनी राज्यको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन् ।
उनले प्रतिनिधिसभा नियमावली २४४ (३) अनुसार नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न नपाउने बताएका छन् । प्रवक्ता शर्माले सरकारले चौधरीलाई पुरस्कारस्वरूप सांसद पद उपहार दिन लागेको टिप्पणी गरेका छन् ।
यसैगरी नेपाल तरुण दलले प्रेस विज्ञप्ति जारी गर्दै रेशमको सांसदको शपथग्रहणप्रति भत्र्सना गरेको छ । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको नामा जारी गरिएको विज्ञपीतमा भनिएको छ, ‘वर्तमान कम्युनिस्ट सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई कानुनविपरीत जेलबाट निकालेर सांसद पदको शपथ गराउने कार्य नेपालको संविधान र कानुनी शासनको ठाडो उल्लंघन गर्नुका साथै लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘२०७२ भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सातजना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रूपमा कारबाही गर्नुको साटो उल्टै सम्मानस्वरूप शपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानुनी राज्यको उपहास गरेको छ । सरकार यो अवैधानिक, निरंकुश, अमानवीय र अन्यायपूर्ण निर्णयको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । आफ्नो सत्तास्वार्थको नाममा हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिने हर्कत नगर्न यो सरकारलाई नेपाल तरुण दल सचेत गराउन चाहन्छ ।’
प्रतिक्रिया