नायक त्यो नागरिक हो जसले नियम पालना गर्छ, अरूको अधिकारको सम्मान गर्छ र समाजलाई आफूभन्दा माथि राख्छ । समस्या तब सुरु हुन्छ जब राष्ट्रले नायक उत्पादन गर्न छोड्छ । जब विद्यालयले केवल परीक्षार्थी जन्माउँछन्, विश्वविद्यालयले केवल प्रमाणपत्र बाँड्छन्, राजनीतिक दलले केवल समर्थक मात्र खोज्छन् र समाजले केवल दर्शक मात्र बनाउँछ । यस्तो अवस्थामा लाखौँको सङ्ख्यामा प्रतिभा पलायन हुन्छ, सत्य बोल्नेहरू एक्लिन्छन् र अवसरवादीहरू नेतृत्व/सत्तामा पुग्छन् ।
✍ रमेश राई

कुनै देशको शक्ति केवल उसको सेना, अर्थतन्त्र वा प्राकृतिक स्रोतमा मात्र मापन हुँदैन । त्यो देशका नागरिकले संकटको घडीमा कसलाई हेर्छन्, कसबाट प्रेरणा लिन्छन् र कसले सत्यको पक्षमा उभिने साहस गर्छ – यही प्रश्नले राष्ट्रको वास्तविक उचाइ निर्धारण गर्छ ।
आज नेपाली समाजमा भनौँ या राजनीतिक पृष्ठमा पपुलिस्ट ‘नायक’हरूको व्यक्तिपूजा बढेको छ, तर नेतृत्वको गुण भने घट्दो देखिन्छ । भाषण धेरै छन्, दृष्टि कम छ । नाराहरू धेरै छन्, उत्तरदायित्व कम छ । जनताको भावनालाई सम्बोधन गर्ने अनुहारहरू धेरै देखिन्छन्, तर कठिन निर्णयको जिम्मेवारी उठाउने नेतृत्व दुर्लभ हुँदै गएको छ । नायक भनेको केवल युद्ध जित्ने व्यक्ति होइन, नायक त्यो पनि हो जसले भ्रष्टाचारको विरोधमा आफ्नो सुविधा त्याग्छ । नायक त्यो शिक्षक हो जसले दुर्गम गाउँमा शिक्षा निर्माण गर्छ । नायक त्यो स्वास्थ्यकर्मी हो जसले महामारीमा आफ्नो जीवनको जोखिम मोलेर सेवा दिन्छ । नायक त्यो पत्रकार हो जसले दबाबका बीच पनि सत्यलाई लुकाउँदैन । नायक त्यो नागरिक हो जसले नियम पालना गर्छ, अरूको अधिकारको सम्मान गर्छ र समाजलाई आफूभन्दा माथि राख्छ । समस्या तब सुरु हुन्छ जब राष्ट्रले नायक उत्पादन गर्न छोड्छ । जब विद्यालयले केवल परीक्षार्थी जन्माउँछन्, विश्वविद्यालयले केवल प्रमाणपत्र बाँड्छन्, राजनीतिक दलले केवल समर्थक मात्र खोज्छन् र समाजले केवल दर्शक मात्र बनाउँछ । यस्तो अवस्थामा लाखौँको सङ्ख्यामा प्रतिभा पलायन हुन्छ, सत्य बोल्नेहरू एक्लिन्छन् र अवसरवादीहरू नेतृत्व/सत्तामा पुग्छन् ।
इतिहासले देखाएको छ- संकटको समयमा असाधारण व्यक्तिहरू उदाएका छन् । तर, दीर्घकालीन समाधान भनेको असाधारण व्यक्तिको प्रतीक्षा गर्नु होइन; असाधारण संस्थाहरू निर्माण गर्नु हो । स्वतन्त्र न्यायपालिका, उत्तरदायी सरकार, स्वतन्त्र प्रेस, गुणस्तरीय शिक्षा र सक्रिय नागरिक समाज भएका देशहरूमा राष्ट्रको भविष्य कुनै एक व्यक्तिको काँधमा मात्र अडिएको हुँदैन । त्यसैले प्रश्न केवल ‘हामीसँग नायक छन् कि छैनन् ?’ भन्ने होइन, प्रश्न यो पनि हो- के हाम्रो समाजले सत्य बोल्नेलाई सम्मान गर्छ ? के इमानदारलाई अवसर दिन्छ ? के योग्यलाई नेतृत्वमा पुग्ने वातावरण बनाउँछ ? यदि उत्तर ‘हो’ हो भने नायकहरू जन्मिइरहन्छन् । यदि उत्तर ‘होइन’ हो भने देशले अनुहार त धेरै पाउँछ, तर नेतृत्व पाउँदैन ।
कुनै राष्ट्रको समृद्धि केवल ठूला भवन, चौडा सडक वा बढ्दो बजेटले सुनिश्चित हुँदैन । त्यो तब सुनिश्चित हुन्छ जब नागरिकमा चरित्र/चेतना हुन्छ, संस्थामा विश्वास हुन्छ र नेतृत्वमा नैतिक साहस हुन्छ । त्यस्तो देशमा नायकहरू खोज्न पर्दैन; प्रत्येक पुस्ताले आफ्ना जिम्मेवार नागरिकहरूबाट नयाँ प्रेरणा पाउँछ । यदि कुनै समाजमा सत्यका पक्षमा उभिने, अन्यायसँग जुध्ने र सार्वजनिक हितलाई निजी स्वार्थभन्दा माथि राख्ने मानिसहरू क्रमशः हराउँदै जान्छन् भने, त्यस देशको सबैभन्दा ठूलो अभाव धनको होइन – नैतिक नेतृत्वको हुन्छ । त्यसैले, आजको सबैभन्दा महत्वपूर्ण बहस एउटै हो- हामी नायक खोजिरहेका छौँ कि नायक जन्मिने समाजको निर्माण गरिरहेका छौँ ? एउटा देश साँच्चै सफल भएको मानिने आधार भनेको त्यहाँका नागरिक कति खुशी, सुरक्षित, सम्मानित, स्वस्थ र आशावादी छन् भन्ने हो ।
जब नागरिक सुरक्षित महसुस गर्छन्, अवसर समान रूपमा प्राप्त गर्छन्, आफ्ना सपनाहरू आफ्नै देशमा पूरा गर्न सक्ने विश्वास राख्छन् र राज्यले उनीहरूको सम्मान गर्छ, तबमात्र राष्ट्र साँच्चै खुसी हुन्छ । देश र जनता अलग अस्तित्व होइनन् । जनताको खुसीबिना देश खुसी हुन सक्दैन, र देशको वास्तविक खुसी भनेकै जनताको खुसी हो । त्यसैले ‘अभागी हो त्यो देश जहाँ नायक छैन !’
राष्ट्र भन्ने शब्द कुनै अमूर्त अवधारणा होइन । राष्ट्र भनेको जनता, उनीहरूको श्रम, सपना, संस्कृति र भविष्यको समष्टि हो । यदि नागरिकको अनुहारमा मुस्कान छैन भने, राज्यका उपलब्धिहरू कागजमा मात्र सीमित रहन्छन् । आर्थिक वृद्धिको तथ्यांक बढ्दैमा नागरिकको जीवनस्तर स्वतः सुध्रिन्छ भन्ने निश्चित हुँदैन । त्यसका लागि समावेशी विकास, समान अवसर र न्यायपूर्ण शासन अपरिहार्य हुन्छ । जब किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ, श्रमिकले आफ्नो श्रमको सम्मानजनक पारिश्रमिक पाउँछ, विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्छ, यात्रीले सुरक्षित यात्रा गर्छ, बिरामीले उपचारका लागि आफ्नो सम्पत्ति बेच्न बाध्य हुँदैन, र युवाले भविष्यको खोजीमा देश छोड्नुपर्ने बाध्यता अनुभव गर्दैन । राज्यले विकासको अर्थ केवल पूर्वाधार निर्माणमा सीमित नराखी नागरिकको जीवनको गुणस्तरमा परिवर्तन ल्याउन सकेमात्र राष्ट्रिय खुसीको वास्तविक अनुभूति हुन्छ ।
लोकतान्त्रिक शासन व्यवस्थाको सार पनि यही हो- सत्ता पपुलिस्ट नायकहरूको लागि होइन, जनताको सेवाका लागि हो, सत्ता जनतामाथि शासन गर्नका लागि होइन । सरकार सफल भएको प्रमाण केवल उद्घाटन गरिएका परियोजनाहरू होइनन्; नागरिकको दैनिक जीवनमा आएको सहजता, सार्वजनिक सेवामा देखिएको पारदर्शिता र न्यायमा सबैको समानको पहुँच हो ।
जब नागरिकले नायक र राज्यप्रति विश्वास गर्छन्, त्यही विश्वास राष्ट्रको सबैभन्दा ठूलो पूँजी बन्छ । विश्वका धेरै विकसित राष्ट्रका नायकहरूले देखाएका छन् कि दीर्घकालीन समृद्धिको आधार केवल आर्थिक उत्पादन होइन, सामाजिक विश्वास, सुशासन, शिक्षा, स्वास्थ्य र नागरिक स्वतन्त्रता पनि हो । जहाँ कानुन सबैका लागि समान रूपमा लागू हुन्छ, जहाँ अवसर पहुँचका आधारमा होइन, योग्यताका आधारमा वितरण हुन्छ, त्यहाँ नागरिकको आत्मविश्वास बढ्छ र राष्ट्रको प्रगति दिगो बन्छ ।नेपालजस्तो सम्भावनाले भरिएको देशका लागि पनि यही सत्य लागू हुन्छ । प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र युवाशक्ति हाम्रो बल हो ।
तर, यी सम्पदालाई जनताको जीवन सुधार्ने नीतिसँग जोड्न सकिएन भने सम्भावना केवल भाषणमा सीमित रहन्छ । विकासका योजनाहरू तब मात्र सफल मानिन्छन्, जब तिनको प्रत्यक्ष लाभ गाउँदेखि शहरसम्मका नागरिकले अनुभूति गर्न सक्छन् । जब नागरिक सुरक्षित महसुस गर्छन्, अवसर समान रूपमा प्राप्त गर्छन्, आफ्ना सपनाहरू आफ्नै देशमा पूरा गर्न सक्ने विश्वास राख्छन् र राज्यले उनीहरूको सम्मान गर्छ, तबमात्र राष्ट्र साँच्चै खुसी हुन्छ । देश र जनता अलग अस्तित्व होइनन् । जनताको खुसीबिना देश खुसी हुन सक्दैन, र देशको वास्तविक खुसी भनेकै जनताको खुसी हो । त्यसैले ‘अभागी हो त्यो देश जहाँ नायक छैन !’
प्रतिक्रिया