प्रेम राईका कारण ‘वाइड बडी’बाट सरकार पछि हट्दै

प्रेम राईका कारण ‘वाइड बडी’बाट सरकार पछि हट्दै


सांसद डा. अमरेश कुमार सिंहले ‘वाइड बडी’ विमान खरिद गर्दा ब्यापक भ्रष्टाचार भएको खुलासा गरेपछि मुलुकमा तरङ्ग पैदा भएको छ भने सत्तापक्षभित्र छटपटि बढाएको छ ।

संसदको लेखा समितिद्वारा गठित उपसमितिले विमान खरिद गर्दा चार अर्ब पैंतीस करोड रूपैयाँ घोटाला भएको निश्कर्ष निकालेको छ ।

सांसद राजन कुमार केसीको संयोजकत्वमा गठित उपसमितिमा कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले मगर र मीना सुब्बा थिए । उपसमितिले लेखा समितिमा गत बुधबार (पुस १८) प्रतिवेदन बुझाएपछि अहिले सत्तापक्ष समितिमै प्रतिवेदन तुहाइदिने प्रपञ्चमा लागेको पाइएको छ ।

वाइड बडी विमान खरिद गर्दा ब्यापक भ्रष्टाचार भएको चर्चा केही समयअघिदेखि नै चल्दै आएको थियो । गत मंगलबार (पुस १७ गते) सांसद अमरेश कुमार सिंहले संसदमा वाइड बडी भ्रष्टाचार काण्डबारे छानबीन गर्न माग गरेका थिए ।

भोलिपल्ट केसी उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा पनि भ्रष्टाचार भएको ब्यहोरा उल्लेख भएपछि सत्तापक्ष यो प्रकरणलाई शिथिल बनाउन जोडदारका साथ लागिपरेको छ । ‘वाइड बडी’ भ्रष्टाचार प्रकरणलाई विना कुनै कारबाही सामसुम पार्न सरकार लागिपर्नुको एउटा कारण यसबाट धेरै ब्यक्ति लाभान्वित हुनुलाई मानिएको छ भने अर्को मूख्य कारण ‘सचिव प्रेम राई’ बीचमा पर्नुलाई ठानिएको छ ।

सत्तारुढ कम्युनिष्ट पार्टी सम्बद्ध राई हाल गृहमन्त्रालयका सचिव छन् । राईलाई मूख्यसचिव हुँदै अख्तियार प्रमुखसम्म बनाउने योजनामा वर्तमान सरकार रहेको बताइन्छ । केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेपछि उनको नाममा शासन–प्रशासन चलाउनेमा विष्णु रिमाल, प्रेम राई र दिनेशचन्द्र थपलिया रहेको आमजानकारीको विषय बनेको छ ।

प्रेम राई पर्यटन सचिव एवम् नेपाल बायु सेवा निगम सञ्चालक समितिका अध्यक्ष रहँदा आठ अर्ब रूपैयाँ भुक्तानी दिएका थिए । रविन्द्र अधिकारी मन्त्री भएपछि चौध अर्ब रूपैयाँ भुक्तानी दिइएको हो ।

यो भ्रष्टाचार प्रकरणलाई सामसुम पार्न नसक्दा प्रेम राई कारबाहीमा पर्न सक्ने र राईलाई जोगाउनका लागि पनि यसलाई बीचमै तुहाइदिनु पर्ने मानसिकतामा सत्तापक्षीय नेताहरू पुगेका छन् ।

त्यसैले संसदको लेखा समितिमै यतिबेला लविङ भइरहेको बुझिएको छ । यस विषयमा छलफल गर्न समितिको बैठक पुस २० गते शुक्रबार राखिएको भए पनि उक्त बैठकमा नेकपाका सांसदहरूबाट फरक प्रस्तुति हुन सक्ने सम्भावना छ ।

यसअघि प्रेम राई आपूर्ति सचिव तथा नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्ष हुँदा पनि निगमको नाममा जग्गा खरिद गर्ने नाममा करोडौँ भ्रष्टाचार भएको थियो । त्यसबेला पनि संसदीय समितिले भ्रष्टाचार भएको ठहर गरी निगम सञ्चालक समितिका अध्यक्ष तथा सदस्य र महाप्रबन्धक गोपाल खड्कालाई कानूनी कारवाही गर्न निर्देशन दिएको थियो ।

प्रेम राई कारबाहीमा पर्ने भएपछि उक्त भ्रष्टाचार प्रकरणमा कुनै कारबाही अघि नबढाउने प्रयास भइरहेको छ । अहिले गोपाल खड्कालाई अमेरिका भगाउने काम पनि प्रेम राई समेतको योजनामा भएको बताइन्छ ।