दश दिनको तालिमले फेरिएको जिन्दगी

दश दिनको तालिमले फेरिएको जिन्दगी


जनकपुरधाम उपमहानगरपालिका–१८ महुवाटोल बस्ने मीना मण्डल आफैँले चुरा बनाएर बिक्री गरी आत्मनिर्भर बनेकी छिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको लघुउद्यम विकास कार्यक्रम (मेडेप) मार्फत ‘मित्र धनुषा’ नामक संस्थाबाट १० दिनको तालिम लिएकी मीनाले घरमै बनाएको चुरा बेचेर राम्रो आम्दानी गर्दै आएकी हुन् ।

उनले लाहा, चपरामा रङ मिलाएर तथा रञ्जक (खोटोबाट बनेको) र ‘ह्वाइट पाउडर’ मिलाएर घरमै चुरा बनाउँछिन् । चुरा बनाउन सबै कच्चा पदार्थ भारतबाट आउँछ । तैपनि उनले बनाएका चुराको माग स्थानीयस्तरमै धेरै छ । बजारको कमी छैन । बजारका मेसिनबाट बनेका चुरासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसके पनि हातैले बनाएका लाहाको चुराको विशेष महत्व छ । पूजा, विवाह, व्रतबन्धमा लाहाको चुरा लगाउने चलन छ । काँचको चुरा अशुद्घ मानिन्छ ।

चुराका लागि शतप्रतिशत कच्चापदार्थ रिङ, रङ, चपरा आदि भारतबाट खरिद गरेर ल्याउनुपर्छ । उनले माटोको चुरा पनि बनाउँछिन्, जुन अलि सस्तो हुन्छ । पहिले घरखर्च चलाउन धौधौ हुने उनी अहिले महीनामा कम्तीमा रु. १५ हजार कमाउँछिन् । यसैले घरखर्च र छोराछोरीको पढाइ खर्च चलेको छ । अहिले त उनी तालिम दिन पनि जान्ने भइसकेकी छिन् । तालिमको सिलसिलामा काठमाडौंसम्म पनि पुगेकी छिन् उनी । मीना भन्छिन्, ‘तालिम पाएपछि यस कामबाट राम्रै कमाइ भएको छ, घरखर्च चलेको छ, आफ्नै काम भएकाले मन लागेको बेला र बिहान–बेलुका फुर्सदमा जुनसुकै बेला पनि गर्न सकिन्छ । परिवारका सदस्यले पनि सघाउँछन् । बजारको चिन्ता लिनुपरेको छैन,’ उनी भन्छिन्, ‘देशमै कच्चापदार्थ पाउने हो भने अझ राम्रो हुन्थ्यो ।’

प्रदेश १ र २ का लागि यूएनडीपीका क्षेत्रीय संयोजक धनबहादुर चन्दले यी महिलालाई यूएनडीपीको लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कार्यान्वयन साझेदार संस्था मित्र धनुषासँगको सहकार्यमा तालिम दिइएको बताइन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएएलओ) को ‘स्ट्यान्डर्ड प्याकेज’अन्तर्गत उनीहरूलाई तालिम, बजार खोजी, प्राविधिक सहयोग तथा प्याकेजिङसम्मको तालिम उपलब्ध गराइने गरेको र यसबाट उनीहरू निकै लाभान्वित भएको बताइन् ।

मेडेपको आर्थिक सहयोगअन्तर्गत काम गरिरहेको उद्यम विकास सहयोग संगठन (बीडीएसपीओ) का अध्यक्ष सुधा कर्णले महिलाको आवश्यकता तथा रुचिअनुसार आफैँलाई रोज्न दिएर सोअनुसार तालिम दिइएको बताइन् । महिलालाई तालिम दिएर उदयपुर, काभ्रे आदि जिल्लामा बजार अभियान पनि चलाइएको उनको भनाइ छ ।

अध्यक्ष कर्णका अनुसार मित्र धनुषाबाट करिब २०० महिलालाई यस्ता आयआर्जनका तालिम दिइएको छ जसबाट महिलाको जीवनस्तरमा धेरै सुधार आएको छ । पहिले बोल्न नसक्ने, छोराछोरी पढाउन नसक्ने महिला अब बोल्न सक्ने र पढाइ खर्च जुटाउन सक्ने भएका छन् । उनले भनिन्, ‘अब मीना आफैँ बँैक जान सक्छिन् र आफैँ बोलेर काम सम्पन्न गरी फर्कन सक्छिन्, उनी तालिम दिन बेलाबखत बाहिरी जिल्ला पनि जान्छिन् ।’ यसरी छोटो अवधिको तालिमले कसरी महिलालाई आत्मनिर्भर मात्र होइन अरूलाई पनि सीप सिकाएर सम्मानजनक रूपले बाँच्न सक्छन् भन्ने उदाहरण मीनाले देखाएकी छिन् ।

तीर्थ भट्टराई (रासस)