निर्मलाको बलात्कारपछि हत्या, वाइड बडी विमान खरिदमा अर्बौं भ्रष्टाचारलगायत अनेका प्रकरणका कारण सरकार विवादित तथा आलोचित बन्दै आएको परिवेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघिबढिरहेको दाबी गरेका छन् ।
पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताएका हुन् ।
मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ भन्दै प्रधानमन्त्री ओलीले सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइने बताए । निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको दाबी गर्दै उनले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको पनि बताए ।
कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुने बताए । यो कुनै मजाकको विषय होइन भन्ने उनको जिकीर थियो ।
प्रतिक्रिया