अखिल (क्रान्तिकारी)ले विद्यालय व्यवस्थापन समितिलाई दियो यस्तो चेतावनी

अखिल (क्रान्तिकारी)ले विद्यालय व्यवस्थापन समितिलाई दियो यस्तो चेतावनी


विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठन अखिल नेपाल रााष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्राान्तिकारी)ले पोखरास्थित शहीद आवासीय विद्यालयमा विद्यालय व्यवस्थापन समितिद्वारा एक करोड पचास लाखको हिसाब विद्यालयको खातामा नदेखाई बदनियतपूर्वक ढंगले भ्रष्टाचार गरेको दाबी गरेको छ । यससम्बन्धी मामलामा अखिल (क्रान्तिकारी)को कास्की जिल्ला समिति लामो समयदेखि संघर्षरत रहेको तर विद्यालय प्रशासन जवाफदेही हुनुको साटो उल्टै प्रहरी प्रशासनको दुरुपयोग गर्दै दमनकारी रवैयामा उत्रिएको सो संगठनले आरोप लगाएको छ ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समितिले प्रहरी लगाएर संगठनका केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाई विनाकारण गिरफ्तार गराएकोे भन्दै घटनाप्रति भत्र्सना प्रकट गरेका छन् । विनाकारण पक्राउ गरिएका काजीलाई विनाशर्त स–सम्मान रिहाई गर्न समेत उनले माग गरेका छन् ।

उनले आफ्नो विज्ञप्तिमा भनेका छन्– ‘दलाल पुँजीवादी शिक्षा प्रणालीको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनार्थ वैज्ञानिक समाजवादको अनिवार्य मान्यताअन्तर्गत नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशामा हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सङ्घर्षरत रहेको सर्वविदित नै छ । यस प्रक्रियामा जस्तोसुकै चुनौतीको सामना गर्न संगठन दृढ रहेको कुरा अवगत गराउन चाहन्छौँ । हरेक राजनीतिक क्रान्ति तथा परिवर्तनकारी आन्दोलनमा संगठनले रगतको मूल्य चुक्ता गरेको गौरवशाली विरासतलाई स्मरण गर्दै हामी निरन्तर अगाडी बढिरहेका छौँ ।’

गिरफ्तार गरिएका आफ्नो संगठनका नेतालाई तत्काल रिहा नगरे कडा संघर्षको कार्यक्रम गर्न संगठन बाध्य हुने चेतावनी अध्यक्ष ढकालले दिएका छन् । साथै शहिदहरूको रगतसँग जोडिएको शहिद आवासीय विद्यालयमा भ्रष्टाचारको कुरुप रोल बन्द गन कडा चेतावनी दिँदै उनले विद्यालयमा भएको भष्टाचारको तुरुन्तै छानबिन गरी दोषीलाई कडा कारबाही गर्नसमेत सम्बन्धित पक्षसँग अपिल गरेका छन् ।

यसैगरी आफ्नो संगठन अखिल (क्रान्तिकारी)बाट राजन राई समेतका व्यक्तिहरू केपी–प्रचन्डको पार्टीमा प्रवेश गरेका भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको चिरन्जीवी ढकालले जनाएका छन् ।

ढकालद्वारा जारी अर्को एक प्रेस वक्तव्यमा उल्लेख गरिएअनुसार राजन राईसमेतका व्यक्तिहरू अखिल (क्रान्तिकाारी)का कुनै पनि तहमा रहेका पात्र होइनन् । उनले भनेका छन्– ‘केपी–प्रचण्डको पार्टीमा ‘ठूलै भाग पाइने’ लालचामा हाम्रो संगठनबाट विद्रोह गरेको भनेर प्रचार गर्नु हास्यास्पद मात्र होइन, अनैतिक विषय पनि हो । संगठनको साधारण सदस्य समेत नरहेका र चिन्दै नचिनेका व्यक्तिहरू हाम्रो संगठनबाट गएको भनेर केपी–प्रचण्डको पार्टीमा लम्पसार पर्न गएपछि ‘गतिलै फल’ पाइएला भनेर सोच्नु ‘जोगीका घरमा सन्यासी पाहुना’ भनेजस्तै हो ।’

‘कम्युनिष्ट दर्शन, विचार, राजनीति, मुल्य, मान्यता र आर्दशबाट पुरै स्खलित भएको केपी–प्रचण्डहरुको त्यो पार्टी दिन–प्रतिदिन राष्ट्र र जनताको विरुद्ध षड्यन्त्र गर्दै गएको छ । … यस्ता गलत समाचारहरू हामी र हामीले देशैभरि अत्यन्तै उर्जाका साथ सञ्चालन गरिरहेको कम्युनिस्ट विद्यार्थी अभियानका विरुद्धको षड्यन्त्र मात्र हो र सिङ्गो कम्युनिस्ट विद्यार्थी आन्दोलनलाई कमजोर पार्न रचिएको प्रपञ्च हो । … यस्ता गलत समाचारको भ्रममा नपर्न र अझै सशक्त तरिकाले राष्ट्र, जनता र आम विद्यार्थीप्रति समर्पण भावका साथ क्रियाशील रहिरहन सम्पूर्ण विद्यार्थी तथा कमरेडहरूमा विशेष अनुरोध गर्दछौँ ।’