त्रिशूली जलविद्युत केन्द्र सञ्चालनमा आएन्, प्राधिकरणलाई १ करोड २५ लाख घाटा

त्रिशूली जलविद्युत केन्द्र सञ्चालनमा आएन्, प्राधिकरणलाई १ करोड २५ लाख घाटा


आगलागीपछि बन्द त्रिशुली जलविद्युत केन्द्र संचालनमा आउन सकेको छैन् । केन्द्रमा पछिल्लो पटक बुधबार साँझ ६ बजे आगलागी भएको हो ।

निरन्तर मर्मत गरे पनि पटक–पटक भएको आगलागीका कारण प्राधिकरणलाई ठूलो घाटा पुगेको छ । आगलागी लगत्तै बुधबार साँझ वा बिहीबार बिहान सञ्चालन गर्ने केन्द्रले जानकारी दिए पनि ठोस काम भने भएको छैन । यही कारण २२ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट सञ्चालन हुन सकेका छैनन् । मर्मतमा समस्या देखिएकाले समयै विद्युत आपूर्ति सुचारु गर्न नसकिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार (शुुक्रबार) साँझसम्म विद्युत उत्पादन सुचारु हुने योजना थियो । केन्द्रमा बुधबार साँझ विद्युतगृहमा जडान गरिएको ब्रेकरमा आगो लागेको थियो । यसपछि केन्द्रको सबैतिर आगो फैलिएको थियो । विद्युतगृहको एउटा ब्रेकर आगोले पूरै नष्ट भएको र अन्य उपरणमा पनि क्षति पुगेको छ । आगलागी भएको करिब २ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । यहाँ आगो लागेपछि देवीघाट पनि बन्द भएको छ ।

त्रिशूली विद्युतगृहबाट निस्केकै पानीबाट देवीघाट सञ्चालन हुँदै आएको छ । केन्द्रमा आगलागीका कारण आर्थिकरूपमा ठूलो क्षति भएको जनाइएको छ । विद्युत उत्पादन हुन नसकेपछि यसबाट पनि प्राधिकरणको आम्दानी घटेको छ । पछिल्लो ७ महिनामा केन्द्रमा ३ पटक आगलागी भएको छ । यसअघि मंसिर ८ र असार २६ गते पनि ब्रेकरमा समस्या आएर आगो लागेको थियो ।

भारतीय सहयोगमा झन्डै ५ दशक पहिला निर्माण भएको विद्युतगृहबाट अहिले करिब १७ मेगावाटमात्र विद्युत उतपादन हुने गरेको छ । अहिले त्रिशूली १७ मेगावाट र देवीघाट १२ मेगावाट विद्युत हुँदै आएको छ । यसको आधारमा ४३ घन्टामा १२ लाख ४७ हजार युनिट विद्युत उत्पादन हुन्छ । प्राधिकरणले चालू आर्थिक वर्षमा १०.०४ रुपैयाँ प्रतियुनिटमा विद्युत बेचिरहेको छ । यसो हुँदा १ करोड २५ लाख १९ हजार रुपैयाँ प्राधिकरणलाई घाटा छ ।