स्वदेशी चिनी उद्योगमा ४० हजार मेट्रिकटन चिनी मौज्दात

स्वदेशी चिनी उद्योगमा ४० हजार मेट्रिकटन चिनी मौज्दात


–छविलाल बगाले
नेपालमा आयात नहुने बस्तु सायद कमै होला । सरकार सबै बस्तुमा आत्मनिर्भर बन्ने उद्घोष गर्छ तर बर्षेनी आयातको मात्रा भने बढ्दो छ । स्वदेशको मागलाई सम्बोधन गर्न र मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन चिनी उद्योगीहरु आक्रामक भएपनि विदेशबाट आयात हुने चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा चिनी उद्योगहरु जिवन मरणको दोसाँधमा छन् ।

स्वदेशी चिनी उद्योगमा ४० हजार मेट्रिकटन चिनी मौज्दात छ । सरकारले आयातमा कडाइ गर्न नसक्दा स्वदेशी उद्योगमा चिनी थुप्रिएको हो । नेपालमा भारत, पाकिस्तान र चिनबाट चिनी आयात हुँदै आएको छ । व्यवसायीले पनि सस्तो दरमा पाकिस्तानबाट चिनी आयात गर्दा नेपाली चिनीको अवमुल्यन भएको हो । विदेशबाट आयात गरिएको सस्तो चिनीका कारण मुलुकका विभिन्न ५ उद्योगसँग मात्रै ४० हजार मेट्रिकटन चिनी मौज्दात रहेको रिलायन्स सुगर मिलका संचालक राजकुमार अग्रवालको भनाई छ । उनका अनुसार अहिले विदेशबाट सस्तो चिनीको आयात बढि भएकोले स्वदेशी चिनी थक्किएको हो ।

चिनी मौज्दात रहेका उद्योग
रिलायन्स सुगर मिल, बारा
इन्दुशंकर चिनी उद्योग, सर्लाही
एभरेष्ट सुगर मिल, महोत्तरी
हिमालय सुगर मिल, सिराहा
इस्टर्न सुगर मिल, सुनसरी

नेपालमा चिनीको माग र आयात
नेपालमा चिनीको माग : बार्षिक २ लाख ३५ हजार मेट्रिकटन
यस बर्ष उत्पादन लक्ष्य : २ लाख ३५ हजार मेट्रिकटन
गतबर्ष आयात : १ लाख ८० हजार मेट्रिकटन

सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न अनुदानदेखि अन्य सहयोग पनि गर्दै आएको छ भने विदेशबाट आयात हुने चिनीमा पनि रोक लगाएको छ । तर यसअघि आयात गरिएको चिनी बजारमा सस्तो दरमा खरिद बिक्रि भईरहेकोले उद्योगीहरु मर्कामा छन् । यता, अर्थमन्त्रालय र उद्योग मन्त्रालयले पनि स्वदेशी उद्योगको चिनी बिक्रि गर्न साल्ट टे«डिङ कर्पोरेशनलाई निर्देशन दिएको थियो । सोही अनुरुप साल्ट ट्रेडिङले चिनी खरिदका लागि ३ पटकसम्म टेण्डर आब्हान गरेको थियो । तर उद्योगीहरुले टेण्डर बिड नगरेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीको निष्कर्ष छ ।

कहिले कहिले भयो त टेण्डर आब्हान ?
पहिलोपटक २०७४ माघ १४ गते : २० हजार मेट्रिकटन
दोस्रोपटक २०७४ फागुन २३ गते : २० हजार मेट्रिकटन
तेस्रोपटक २०७४ जेठ २३ गते : १० हजार मेट्रिकटन

नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्छ । गत बर्षमात्रै १ लाख ८० हजार मेट्रिकटन चिनी आयात गरिएको छ । समयमा चिनी नबिक्दा गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने उद्योगीको गुनासो छ । सरकाले बाहिरबाट आउने चिनीलाई पूर्ण रुपमा रोक नलगाएसम्म स्वदेशी चिनी उद्योगहरु फस्टाउन नसक्ने दावी गर्दै आएका छन् ।