चाहिएन हामीलाई यिनले बनाएको संविधान

चाहिएन हामीलाई यिनले बनाएको संविधान


sanjiv– सञ्जीव सत्याल
प्रजातन्त्र सबै नेपालीको हक स्थापित गर्न आएको प्रणाली मान्ने हो भने एक आमनागरिकको नाताले प्रजातन्त्र आएपछि त्यसलाई उपभोग गर्न पाउने हक मेरो पनि थियो । यसो भनेर यहाँ व्यक्तिगत प्रस्तुत भएजस्तो देखिए पनि म एक आमप्रतिनिधि पात्र हुँ । पङ्क्तिकारजस्तै प्रतिप्रजातन्त्रको प्रहार हरेक या करोडौँ नेपालीले बेग्लाबेग्लै भोगेका छन् ।
०४६ मा आएको प्रजातन्त्र निश्चित व्यक्ति र परिवारको भोगचलनका लागि मात्र आएको रहेछ भन्ने कुरा पङ्क्तिकारलाई ०४९ मा सुशील कोइरालाले व्यावहारिक तवरमा सम्झाइदिएका थिए । उनी आफ्नै बाबुको सम्पत्तिजस्तै ‘प्रजातन्त्र’ र ‘विकास’ भन्दा केही बोल्दैनन्, तर उनमा प्रजातन्त्रसँग मिल्दोजुल्दो व्यवहार छँदै छैन । उनी नियम–कानुन पालनामा गम्भीर छैनन् र कुनै भूमिकामा नरहेका बेला पनि कैयन् आधिकारिक कामकारबाहीमा हस्तक्षेप गरी कसैले पनि कानुनी बुँदा उठाउन नसकोस् भनी मनपरी व्यवहार गर्छन्, अनि त्यसैलाई प्रजातन्त्र मान्छन् । आमजनतालाई न्याय चाहिएको बेला पनि कानुनी बाटोसम्म पुग्नै दिँदैनन् । यस्तो व्यक्तिलार्ई मूल कानुन नै चाहियो र ?
जहाँ पनि अनधिकृत किसिमले पर्दापछाडि बसेर षड्यन्त्र र जालझेलको तानाबाना बुन्ने र लाखौँ निर्दोष नागरिकको जीवन बर्बाद गरे । उनको त्यो कोपभाजनमा परेर जागिर र घरबार दुवै गुमाउन पुगेको म आजसम्म मृतप्रायः छु । मजस्तै लाखौँ जनता उनको सिकार हुन पुगेका छन् । प्रधानमन्त्री भएपछि पनि उनले मौखिक जवाफ दिएर टार्ने गरेका छन् । प्रजातन्त्रको मुख्य आधार भनेकै जनता चित्त नबुझे अदालत जान पाउनु हो र त्यसको लागि चाहिने आधिकारिक लिखित जवाफ उनले हिजो पनि कसैलाई दिएनन् र आज पनि दिइरहेका छैनन् । यसरी कानुनी आधार नै नरहने गरी अरूलाई बेमतलब असफल तुल्याउनु कुनै राजनीति नभई गुण्डागर्दी मात्र हो । यस्तो श्वेतगुण्डागर्दी गर्ने व्यक्तिले बनाएको संविधान हामीजस्तालाई के काम लाग्ला ?
वास्तवमा आमजनतालाई त संविधान नभए पनि हुन्छ, अहिलेकै संविधानले पनि चलेकै छ । गिरिजाप्रसादकै कालदेखि उनको तथाकथित दाहिने हात बनी शक्तिकेन्द्रमा रहेर बिनापद नाजायज तरिकाले शक्ति अपचलन गर्ने हर्ताकर्ता हुन् सुशील कोइराला । पार्टीका कार्यकर्ता र जिल्लावासी मतदाताका लागि पदासीन मन्त्री र पदाधिकारी प्रयोग गरी कानुनविपरीत जे पनि गर्ने र अन्य आमजनतालाई कानुनले दिएको अधिकार पनि उपभोग गर्न नदिने, अनेकौँ बहाना, अभिनय, ह्युमिलिएसन, कुतर्कका साथ सङ्गठित गुण्डागर्दी गर्ने, ‘हामी जे बोल्छौँ त्यही प्रजातन्त्र भइहाल्यो नि’ भन्ने किसिमबाट बेसहारा नागरिकको अपमान गर्ने, आफू ठूलो या विशिष्ट व्यक्ति भएको देखाउन जनतालाई भेट नै नदिने, भेटिहाल्नुपरे केवल आत्मरतियुक्त अव्यावहारिक ठूला कुरा मात्र गर्ने, तार्किक गुण्डागर्दी गर्नेलगायतका सबैखाले कुकर्म गर्ने, स्टेटसको धाक र इगो देखाई ह्युमिलेट गर्ने, कानुनले जे भने पनि ‘मैले हुँदैन भनिसकेकोले अब हुँदैन’ भन्ने र सरकारमा बसी सङ्गठित गुण्डागर्दी गरी देशभर श्वेतआतङ्क फैलाउँदै सुशीलले गिरिजाकालदेखि अहिलेसम्म २३ वर्ष बिताए । गिरिजा जनतासामु जति बदनाम भए, त्यो अधिकतर त सुशीलकै व्यवहारका कारण भए भन्न पनि सकिन्छ । त्यही कारण गिरिजा सरकार आएको ६ महिनामा जनताले ‘योभन्दा त पञ्चायत धेरै स्तरीय थियो’ भनेर तीतो पोख्न थालिसकेका थिए ।
पदको लोभ नभएका त्यागी सुशील यतिबेला संविधान जारी गरेर मात्र राजीनामा दिने कुरा गर्दै छन् । यिनको संविधान जनताले कहिले देख्ने ? कहिले लागू हुने ? के प्रधानमन्त्रीको काम संविधान बनाउने हो र ? भ्रष्टाचार नगर्ने भनिएका उनी शासन सञ्चालनमा शतप्रतिशत असफल छन् । अहिले झन् भ्रष्टाचार बढेको छ । सुशील कोइराला इतिहासमा नाम राख्ने अभीष्टले हतारका साथ संविधानरूपी कुनै खोस्टो जारी गरेर निक्लिएलान् रे लौ, तर त्यसपछि हुने माराकाट त हामी जनताले व्यहोर्नुपर्छ । त्यस्तो बेकारको लागू हुनै नसक्ने संविधान जारी गरेर के फाइदा ?
आफ्नै पार्टीका उपसभापति रामचन्द्रलाई कार्यवाहक सभापति बनाउँछु भनी वाचा गरेर भोटचाहिँ लिने तर कार्यवाहकको जिम्मेवारी नदिने सुशील नैतिक हिसाबले भ्रष्टाचारी हुन् । नीतिगत भ्रष्टाचारका उदाहरण पनि उनले अनेक देखाइसकेका छन् । नीतिगत भ्रष्टाचारजस्तो देशै खाने काम कतिपय प्रधानमन्त्री बनेका व्यक्तिले गर्ने हिम्मत गर्न सकेनन् । विवाह नगरे पनि र घुस नखाँदैमा हुँदैन, सुशील गिरिजाका अनाधिकृत सहयोगी हुँदादेखि नै नीतिगत भ्रष्टाचार गरी प्रजातन्त्रलाई कुरूप र कुशासनतर्फ घचेट्ने खतरनाक व्यक्ति हुन् । सुशील अविवाहित छोराछोरी नभएका व्यक्ति त हुन्, तर उनीभन्दा ठूला परिवारवादी सोच बोकेका आफन्तवादी कोही छैन भन्ने कुराको पुष्टि उनको टिममा रहेका सहयोगी तथा सल्लाहकारको फेहरिस्त हेर्दा थाहा हुन्छ । यस्ता परिवारवादीले बनाएको संविधान हामीलाई वास्तवमै के काम ? आज सुशीलको राजमा काम नपाएर त्राहिमाम भई गाउँ–गाउँबाट भारत र खाडी मुलुकमा जाने युवा ६० लाख पुगिसकेका छन् । बीस लाख युवा जो आज देशमै पढ्दै छन्, तिनीहरूको लक्ष्य पनि युरोप वा अमेरिका, क्यानाडा र अस्ट्रेलिया बनेको छ, । देशका गाउँ–गाउँ रित्तिएका छन् । यसरी देशै युवाविहीन बन्ने क्रममा छ । तर, यो खतराबाट रोक्ने युक्ति केही पनि सुशील कोइरालासँग छैन । वृद्धहरू चार वर्षदेखि आन्दोलनमा छन्, तिनको सुनुवाइ गर्ने छाँटकाँट अझै छैन । यस्ता व्यक्तिले बनाएको संविधान साँच्चै हामीलाई चाहिन्न । बूढो गोरुले कुन्नि के ओगटेजस्तो गरी शासन–सत्ता ओगट्ने, तर परिणाम भने शून्य दिने यस्ता व्यक्तिले दिने संविधान अवश्य चाहिएन, चाहिएन, चाहिएन । अस्तु ।