सरकार महाअभियानमा जुटेको छ : प्रधानमन्त्री

सरकार महाअभियानमा जुटेको छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । उनले बानेश्वरस्थित संसद भवनमा सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा उनले वर्तमान सरकारकोे कार्यव्यवहार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन गर्ने तथा आर्थिक विकासको बाटोमा अघि बढ्ने रहेको र सरकार त्यही महाअभियानमा जुटेको बताए ।

पुस ११ गते शुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिपक्ष दल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भएका कामको जस वर्तमान सरकारले लिएको भन्दै आपत्ति जनाएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिएका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशबारे उनले भने– कर्मचारी स्वेच्छिक अवकाशमा जाँदा अनावश्यक ५०–६० अर्ब राष्ट्रलाई व्ययभार हुन्थ्यो । उनले कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सन खाने बनाएर दक्षता गुमाउनुपर्ने अवस्था रहेको पनि बताए ।

आधिकारिक ट्रेड युनियनसँगको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको उनको भनाइ थियो । उनले यसमा उनले कसैले चित्त दुखाउनुपर्ने अवस्था नरेको बताए ।