मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको घोषणा गरेका छन् । राजप्रासाद अधिकारीहरुलाई उद्धृत गर्दै एजेन्सीहरुले आज यसबारे समाचार सम्प्रेषण गरेका हुन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको बताइएको छ ।
मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । सुन्दरीसँगको सम्बन्धकै कारण उनले राजगद्दी परित्याग गर्न सक्ने अनुमान गरिँदै आाएको थियाो ।
मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो ।
राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ ।’
तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन ।
राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्नु भएको थियो । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएको थियो ।
उनले विदा लिएलगत्तै केही अनलाइन सञ्चारमाध्यममा राजा सुल्तानले रुसकी पूर्व सुन्दरी (मिस मस्को)सँग विवाह गरेको खबर आएको थियो ।
मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ ।
प्रतिक्रिया