तेस्रो नजर

तेस्रो नजर


pathakmanchप्रवासबाट प्रधानमन्त्रीलाई पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
म एक गरिब किसान परिवारको छोरा हुँ । एक छाक खान–लाउन कमीको कारण रोजगारीका लागि भारत प्रवासमा छु । आज मजस्ता करोडौँ युवायुवती बिदेसिन बाध्य छन् । कति छिमेकी भारतकै गल्ली–गल्लीमा रोजगारी गरिरहेका छन् भने कतिचाहिँ अन्य मुलुक भासिएका छन् । तर, भारत होस् या अन्य मुलुक, रोजगारीका निम्ति बिदेसिएका नेपालीको अवस्था राम्रो छैन । दिनहुँ नेपालीमाथि अत्याचार भइरहेको छ । उनीहरूले मिहिनेतअनुसार पारिश्रमिक पाएका छैनन् । मालिकको अनेक अत्याचार र दमन खप्नुपरेको छ । नेपाली कामदारको दिनहुँजसो हत्या भइरहेको छ । नेपाली युवतीलाई दलालहरूबाट रोजगारीको वहानामा भारत तथा अन्य मुलुकका वेश्यालयहरूमा बेच्ने कामले तीव्रता लिइरहेकै छ । उनीहरूको उद्धार हुन सकेको छैन । भारतीय गुप्तचर एजेन्सी सीबीआईको रिपोर्टअनुसार सन् २०१४ मा मात्र आठ हजार नेपाली युवतीलाई तस्करहरूले दिल्ली हुँदै दुबई पु-याएका छन् । सीबीआईको नेतृत्वमा रहेका अन्य एजेन्सीहरू संलग्न अन्तर्राष्ट्रिय अप्रेसनले नेपाली युवतीलाई खाडी मुलुकका वेश्यालयमा पु-याउने गरेका प्रमाण मिलेको जनाएका छन् । यस्तो गम्भीर मामलामा नेपाल सरकारको ध्यान नजानु या उदास रहनु अत्यन्त दुःखद् विषय हो ।
प्रधानमन्त्रीज्यू, भारतमा नेपाली दूतावास छ, माइती नेपालको शाखा छ । तर, यी निकाय आखिर केका लागि छन् ? दिनहुँ हाम्रा आमा, दिदी, बहिनी र पत्नीहरू बेचिँदा हाम्रो मन कति रुन्छ होला ? माइती नेपालले भारतमा काम देखाएजस्तो गरी फगत डलर खाने काम गरिरहेको छ । आखिर यसैका लागि माइती नेपालको शाखा भारतमा राखिएको हो त ? यस सम्बन्धमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाज्यूसँग पनि नेपाल सरकारले सोधपुछ गरोस् ताकि सत्यतथ्य पत्ता लागोस् । सम्माननीय प्रधानमन्त्रीज्यू, एउटा स्वाभिमानी नेपालीको नाताले यो पत्र हजुरसमक्ष राखेको छु । यस्ता तस्करहरूका विरुद्ध कडाभन्दा कडा कानुन बनोस् । यस्ता व्यथाको समुचित सम्बोधन गरी पीडित नेपालीको घाइते मनमा मल्हम लगाउन सक्ने खालको संविधान बनाएर चाँडै नै मुलुकलाई दिलाउनुहोस् । किनकि, राष्ट्रको नेतृत्व त तपाईंकै हातमा छ । जय नेपाल ।
– योगेन्द्र गौतम, हाल : हैदरावाद, तेलङ्गना, भारत