बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लागेकी हुन् ।
उनी लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लागेकी हुन् । आज मन्त्रीहरूको पनि नियुक्ति हुने र ४७ जनाको मन्त्रिपरिषद बन्ने जनाइएको छ । ती मन्त्रीहरूमा ३१ जना भने नयाँ अनुहारका मन्त्रीहरू हुने पनि प्राप्त समाचारमा जनाइएको छ ।
बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आजै अपराह्न प्रधानमन्त्री शेख हसिनालाई शपथ ख्वाउने जनाइएको छ ।
राष्ट्रपति अब्दुल हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् ।
प्रधानमन्त्रीका रूपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनमा अवामी लिग र यस आबद्ध पार्टीहरूसहित २८८ सिटमा विजय हुन सफल भएका थिए ।
हाल बंगलादेशको संसदमा २९९ सिट रहेको छ । हसिनाको यो चौथो प्रधानमन्त्रीको कार्यकाल हो । यसअघि ७१ वर्षीया हसिना सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्रीमा रहेकी र त्यसअघि उनी सन् १९९६ देखि २००१ सम्म पनि बंगलादेशको प्रधानमन्त्री रहेकी थिइन् ।
बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।
प्रतिक्रिया