संसदमा बोलेको तथ्याङ्क गलत भन्नेहरुमाथि यसरी खनिए प्रधानमन्त्री

संसदमा बोलेको तथ्याङ्क गलत भन्नेहरुमाथि यसरी खनिए प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा उल्लेख गरेको तथ्यांक सही भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत गरेको आर्थिक परिसूचक काल्पनिक नभएर वास्तविक भएको दोहो¥याएका हुन् ।

चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत गरेको तथ्यांकमाथि टिका टिप्पणी भएकोप्रति गुनासो गर्दै तथ्यांकमा असहमति जनाउने आधार नभएको प्रष्ट पारे । तथ्यांकमा खेलेको नभइ नयाँ तथ्यांक बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । तर, प्रधानमन्त्री ओलीले हिजो संसदमा ३४ प्रतिशत आयात बढेको तथ्यांक लुकाएर १२ प्रतिशत निर्यात बृद्धि भएको बताएका थिए ।

यस्तै, उनले चालु आर्थिक बर्षको पाँच महिनामा ३२ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएको, पूँजीगत खर्चको बृद्धिदर २५ दशमलव ३३ प्रतिशतमा झरेको र सरकारी खर्चसमेत ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको तथ्यांक संसदमा सम्बोधनका क्रममा राखेका थिए ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताए । तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको उनको भनाई थिषे । सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु ढुक्क भएर अगाडि बढ्नुहोस्, निजी क्षेत्रका उद्यमी, व्यापारीलाई अप्ठ्यारो पार्ने कानून संशोधन तथा नयाँ कानून निर्माण गर्नुपर्ने भए सरकारलाई सुझाव दिनुहोस् ।’ प्रधानमन्त्रीले मौजुदा ऐन कानूनका कारण उद्यमी, व्यवसायीलाई कुनै अप्ठ्यारो परेको भए संशोधन गर्न सरकार तयार रहेकोसमेत बताए । ‘देश, जनता र विकासका लागि आवश्यक सम्पूर्ण ऐन, कानून सरकारले परिमार्जन गर्छ,’ मुलुकको विकास सरकारको एक मात्र उद्देश्य रहेको प्रस्ट्याउँदै प्रधानमन्त्री ओलीले भने ।

सरकारका बारेमा विभिन्न भ्रम सिर्जना गर्ने प्रयन्त भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले लोकतन्त्रका लागि सङ्घर्ष गरेको व्यक्तिबाट कुनै हालतमा अधिनायकवाद नआउने प्रस्ट पारे । उनले भने, ‘कसैले ल्याइदिएको लोकतन्त्र हामीले प्रयोग गरेको होइन, लोकतन्त्र ल्याउन सङ्घर्ष गरेको पिँढी यहीँ छ, लोकतन्त्र हामीले ल्याएको प्रणाली हो, लोकतन्त्र ‘ढाँटी खाने मागी खाने’ प्रणाली होइन्, आम जनताको प्राणलीका रुपमा अभ्यास गर्नुपर्छ ।’

विकासका कामलाई तीव्रता दिँदै गरीबी निवारण गर्न सरकार तयार रहेको धारणा राख्दै प्रधानमन्त्री ओलीले नेपाललाई तीन वर्षभित्र कम विकसित मुलुकको सूचीबाट माथि उकास्दै १२ वर्ष्भित्र सहस्राब्दी विकास लक्ष्य हासिल गर्न जुट्नुपर्ने आवश्यकता औँल्याए । सामाजिक न्याय, समानताको प्रत्याभूति गराउँदै हरेक नागरिकलाई सेवा, सुविधा प्रदान गर्न त्यसतर्फ सरकारको ध्यान केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सङ्घीयताको अभ्यास नेपालमा नयाँ भएकाले जनताको आकाङ्क्षा सम्बोधन गर्न केही समय लागेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा तीन तहको सरकार गठन भएको सन्दर्भमा अधिकारको प्रयोगका बारेमा समस्या देखिएको बताए ।

महिला उद्यमीको सशक्तीकरणमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले महिला उद्यमशीलता विकास गर्न सरकार तयार रहेको प्रस्ट पारे । यस्तै, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको बहुतहगत (मल्टिलेयर्ड) कर प्रणालीका कारण उद्योगी, व्यवसायीलाई निरुत्साहित गरेको बताउँदै करको दर भन्दा दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिए ।

कार्यक्रममा विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता महेश्वर महर्जन, मिस नेपाल शृङ्खला खतिवडा, मिस युनिभर्सको उत्कृष्ट १० मा पर्न सफल मनिता देवकोटा लगायतलाई चेम्बर विशिष्ट सम्मान प्रदान गरिएको थियो ।