राष्ट्रिय वाणिज्य बैंकद्वारा सहुलियत कर्जा योजना शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकद्वारा सहुलियत कर्जा योजना शुभारम्भ


राष्ट्रिय वाणिज्य बैंकले सरकारी नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार बिनाधितो सहुलियत कर्जा वितरणको शुरुवात गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत कलंकीका बीपी तन्दुरीका सञ्चालक भीमप्रसाद अधिकारी र उच्च र प्राविधिक तथा व्यावसायिक कर्जाअन्तर्गत एक्मी इन्जिनियर कलेजमा अध्ययनरत रजनी हायुलाई कर्जा वितरण गरेर यसको शुरुवात गरेको हो ।

सरकारले कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरूलाई मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवालाई विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपभोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशीलताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण एवम् प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न र आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण उपलब्ध गराउन सहुलियत कर्जासम्बन्धी कार्यविधि बनाएको थियो । सोही नीतिअनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि निर्देशन दिएअनुसार राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने कार्यको शुरुवात गरेको हो ।

सहुलियतपूर्ण कर्जा नीतिअनुसार बैंकले ३.६६ प्रतिशत ब्याजदरमा विभिन्न सात परियोजनाका लागि बिनाधितो कर्जा दिने घोषणा गरेको हो । जसअन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माणमा बैंकले कर्जा प्रवाह गर्ने भएको हो । बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा अधिकतम सीमा ५ करोडसम्म कर्जा दिने बताएको छ । अन्य कर्जा भने शीर्षक हेरी तीन लाखदेखि १० लाख रुपैयाँसम्मको सीमा निर्धारण गरिएको छ ।

बैंकले प्रवाह गरेको कर्जा ऋणीले पाँच वर्षभित्रमा ब्याजसहित तिर्नुपर्नेछ । कर्जा प्राप्त गर्न चाहनेले प्रक्रिया पुऱ्याएको सात दिनभित्रमा यो कर्जा प्राप्त गर्न सक्नेछन् र बैंकले यस्तो कर्जा किस्ताबन्दीमा उपलब्ध गराउनेछ ।

सहुलियत कर्जा लिन चाहने लक्षित वर्ग, समुदाय तथा युवाले १० लाखसम्मको लागि साधारण र १० लाखभन्दा बढीका लागि विस्तृत परियोजना पेस गर्नुपर्नेछ । परियोजनाको बिमा गराउनुपर्नेको हकमा बिमाको पोलिसी बैंकमा पेस गरेपछि मात्र कर्जा दिइने बैंकले जनाएको छ ।

यस्तो कर्जाका लागि सरकारले ५ प्रतिशत ब्याजअनुदान दिन्छ । वाणिज्य बैंकले आफ्नो आधार दरमा २ प्रतिशत थप गरेर ब्याज लिने जनाएको छ । हाल राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । यसमा बैंकले २ प्रतिशत थप गर्दा ८.६६ प्रतिशत पुग्छ । उक्त ब्याजमा सरकारले ५ प्रतिशत अनुदान दिँदा कर्जा लिनेले ३.६६ प्रतिशत ब्याजदरमा ऋण लिन सक्नेछन् ।