चीन भ्रमणबाट उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

चीन भ्रमणबाट उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता


उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रूपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रूपमा लिइएको छ ।

उत्तर कोरियाली नेता किम मंगलबार चीनको भ्रमणमा पुगेका थिए । प्योङयाङको एक प्रमुख कूटनीतिक साथीको रूपमा रहेको चीनको किमको चौथो भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो ।

नेता किम बेइजिङको केन्द्रीय रेलवे स्टेसनमा मंगलबार अपराह्नमा आइपुगेको थियो । एक दिनको बसाइपछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको बताइएको छ । किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक घन्टा भेटवार्ता गरेका थिए । उत्तर कोरियाली नेता किमको मंगलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुवै नेता प्रथम महिलासहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएको पनि बताइएको छ ।

उत्तर कोरियाली समाचार समिति केसीएनएका अनुसार किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जुसहित अरू उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेका थिए । किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किमले चीन भ्रमण गरेका हुन् ।

यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्वतयारीका लागि यो भ्रमण भएको भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् ।

गत वर्षको जुनमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । यसै साताको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्काे बैठक गर्नेबारे सहमति भइसकेको छ, तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन– राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो ।