फन टाइम
उत्कृष्ट कलाकार बनेर सबैको मन जित्ने सुन्दर सपना र उद्देश्य बोकेकी छिन् सुस्मिता शाहीले । त्यसैअनुरूप नै आफू कलाकारिता क्षेत्रमा मन दिएर लागिपरेको उनको भनाई छ । चितवनकी सुस्मिता सुरुमा अध्ययनका लागि आएकी राजधानी आएकी थिइन्, तर अहिले उनी अध्ययन र अभिनय दुवैलाई अगाडि बढाउने योजनामा छिन् । अहिलेसम्म चार चलचित्रमा अभिनय गरिसकेकी छिन् उनले । त्यसमध्ये फुलस्टप, जञ्जिर र टिचर प्रदर्शनमा आइसकेका छन् भने पुनर्जन्म प्रदर्शनमा आउन बाँकी छ । चलचित्र निर्माता मोहनकृष्ण श्रेष्ठको पे्ररणाबाट आफू चलचित्र क्षेत्रमा प्रवेश गरेको सुस्मिताले बताइन् ।
० पढ्दै फिल्म खेल्दै भ्याइन्छ त ?
– जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै हो । उद्देश्य भएपछि सकिँदोरहेछ ।
० भनेपछि फिल्म क्षेत्रमा जम्नै आएको हो त ?
– हो नि, त्यसमा शङ्का मानिरहनै पर्दैन ।
० कत्तिको गाह्रो रहेछ त ?
– उद्देश्य ठूलो लिएपछि गाह्रो त भइहाल्छ नि ?
० अघिल्ला तीन चलचित्रबाट कत्तिको सफलता हात लाग्यो त ?
– मलाई रामै्र भएको छ । तर, म भने नयाँ चलचित्र पुनर्जन्मबाट बढी आशावादी छु ।
० के छ र पुनर्जन्ममा त्यस्तो ?
¬– यो बढी नै मिहिनेत गरेर बनाइएको चलचित्र हो । त्यसमाथि अहिलेका हिट नायक आर्यन सिग्देलसँग खेल्ने मौका पाएकी छु । त्यसकारण पनि हौसिएकी हुँ म ।
० हिरोइन बन्न के चाहिँदोरहेछ नि ?
– प्रथमतः अभिनय अनि अनुहार र शरिर पनि राम्रो हुनुपर्दोरहेछ ।
० आफ्नो अनुहार साह्रै राम्रो लाग्छ हो ?
– त्यस्तो औधी राम्री त होइन म, तर छीः भन्ने खालकी पनि छैन । जे होस् हिरोइन बन्न सक्नेसम्म राम्री त छु है म पनि ।
० अनि यो सुन्दर अनुहारप्रति लोभिनेहरू कत्तिको छन् नि ?
– होलान्, तर अगाडि आएर भन्न सक्ने भेट्टाएकी छैन ।
० अनि ब्वायफ्रेन्ड नि ?
– छ एकजना मनले खाएको ।
० सिनेमा क्षेत्रकै हो कि बाहिरको ?
– मनको राजाको बारेमा सबै कुरा नभनौँ, अहिलेलाई गोप्य नै राखाँै ।
० जीवन नै बिताउने हो कि साथी मात्र ?
– अब त उसैसँग बिताउने हो जीवन ।
० बीचमा अरू कोही आयो भने नि ?
– अब अरूको चान्स छैन ।
अध्यक्षको आशमा राजकुमार
चलचित्र कर्ममा लाग्नेहरूका लागि चलचित्र विकास बोर्ड आकर्षणको थलो हो । बोर्डमा सरकारले नियुक्त गरेको अध्यक्ष वा सदस्यहरू नियुक्त भएको दिन नसकिँदै त्यो पदमा जानका लागि हानथाप सुरु भइहाल्छ । अहिले पनि यो काउन्टडाउन सुरु भइसकेको छ । तर, पदका लागि मात्र लोभ गर्ने र हानथाप गर्नेहरूकै भीडले पनि बोर्डलाई विवादमा तान्ने गरेको छ । सरकारले बोर्डका लागि उपयुक्त चलचित्रकर्मीको खाका तयार पार्दा पनि असम्बन्धितहरूको भीडले गर्दा कहिलेकाहीँ सही व्यक्ति बोर्डमा जानबाट चुक्ने गरेको छ ।
प्रसङ्ग चलचित्र विकास बोर्डको अध्यक्षको हो । वर्तमान अध्यक्ष धर्मेन्द्र मरवौताको अध्यक्षको पद माघ १७ गते सकिँदै छ, तर त्यो पदमा जानका लागि अहिले नै विभिन्न क्षेत्रबाट सम्बन्धित ठाउँमा आफ्नो कुरा पु-याउने वा पावर भिडाउनेहरूको जमात पनि बढ्न थालेको छ ।
त्यसो त चलचित्र विकास बोर्डको अध्यक्ष हुन पूर्ण रूपमा चलचित्रकर्मी हुनुपर्ने र चलचित्र क्षेत्रबारे विज्ञ हुनुपर्ने सत्यताका बरोमा पनि सबै जानकार नै छन् । चलचित्र र चलचित्रकर्मीहरूको सुख–दुःखको सहयात्री बन्ने गरेको र बन्न सक्ने चलचित्रकर्मीहरूको खोजी भइरहेको समयमा चलचित्र निर्माता एवम् चलचित्र निर्माता सङ्घका वर्तमान अध्यक्ष राजकुमार राईको नाम अगाडि आएको छ । चलचित्रकर्मीहरूले पनि सूचना तथा सञ्चारमन्त्रीसमक्ष राजकुमार राई नै अध्यक्ष हुनुपर्ने आवाज उठाएपछि सञ्चारमन्त्री पनि राईलाई अध्यक्ष बनाउन लगभग तयार भइसकेको कुरा चलचित्र बजारमा आएको छ । यदि राईमाथि कसैको आँखा लागेन वा कुनै षड्यन्त्र भएन भने अबको १० दिनपछि चलचित्र विकास बोर्डले राजकुमार राईलाई अध्यक्षको रूपमा पाउनेछ । त्यसो त पार्टीगत रूपमा राई काङ्गे्रसनिकट भएको र पार्टीको सांस्कृतिक विभागसँग पनि आबद्ध रहेकाले राईको चलचित्र विकास बोर्डको अध्यक्ष हुने सम्भावना झनै बलियो देखिएको छ । चलचित्र निर्माणमा करोडौँ लगानी गर्दै निर्माताको रूपमा स्थापित भएका राई हाल पनि निर्माता सङ्घका हजारको सङ्ख्यामा रहेका निर्माताहरूलाई सम्हालेर अगाडि बढिरहेका छन् । नेपालमा चलचित्र निर्माण गर्ने निर्माताहरूको एक मात्र छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष राजकुमार राईभन्दा अर्को उपयुक्त व्यक्ति चलचित्र विकास बोर्डको अध्यक्षका लागि नदेखिएको कुरा चलचित्र बजारमा उठ्न थालेको छ ।
दिल्लीको ‘गजल कुम्भ’मा वसन्त–बहार
नयाँदिल्लीमा गत साता ‘साँझ एक अलौकिक’ साहित्यिक कार्यक्रमको आयोजना भयो । दुई साँझ गरी १० घन्टाभन्दा बढी समय चलेको उक्त प्रतिष्ठित र विशिष्ट साहित्यिक जमघटलाई ‘गजल कुम्भ’ नामकरण गरिएको र ती साँझमा प्रतिभाशाली नवोदित र अत्यन्तै चर्चित तथा अनुभवी र ख्यातिप्राप्त गजलकारहरूको गजलरूपी कोपिलाहरू राम्ररी पुष्पित र पल्लवित भएका थिए । विशिष्ट स्रष्टा र श्रोताहरूको उक्त जमघटमा नयाँ र पुराना दुवै तप्काका गजलकारले आ–आफ्ना विशिष्ट कृति पस्किएका थिए ।
उक्त कार्यक्रमको सभापतित्व हिन्दी र उर्दू काव्यात्मक साहित्यका अग्रणी स्रष्टा ९२ वर्षीय पद्मश्री वेकल उत्साहीले गरेका थिए । उत्साही त्यस्ता दिग्गज स्रष्टामध्ये पर्छन्, जसले ६ दशकभन्दा बढी समयसम्म हिन्दुस्तानी साहित्यमा एकछत्र राज गरेका छन् । सो अवसरमा श्री उत्साहीले आफ्ना अद्वितीय रचनाले श्रोतालाई मन्त्रमुग्ध पारेका थिए ।
अखिल भारतीय गजल गोष्ठी (गजल कुम्भ) नामक उक्त विशिष्ट साहित्यिक जमघटका आयोजक ‘अञ्जुमन फरोगे–उर्दू’का अनुसार नेपाली तथा हिन्दी साहित्यमा छोटो समयमै आफ्नो अमिट छाप छोड्न सफल सदावहार व्यक्तित्व कवि/गीतकार वसन्त चौधरीले उक्त समारोहको प्रमुख आतिथ्य गरेका थिए । प्रमुख आतिथ्यका लागि कार्यक्रमका आयोजक तथा हिन्दी/उर्दू गजल साहित्यका केही मूर्धन्य व्यक्तित्वको अनुरोधलाई स्वीकार गर्दै चौधरी दिल्ली पुगेका थिए । गजल कुम्भ आयोजकका अनुसार कवि चौधरीको सुशील एवम् शालीन व्यक्तित्व र साहित्यप्रतिको उनको अपार अनुरागका कारण गजल कुम्भका श्रोताहरू निकै प्रभावित बनेका थिए ।
स्मरणीय छ, गजल कुम्भ एक मात्र त्यस्तो बृहत् साहित्यिक कार्यक्रम हो, जसमा आयोजक, श्रोता/सहभागी दुवै पक्ष गजलका सर्जक र प्रस्तोता रहने गर्छन् । उक्त कार्यक्रममा पुराना र नयाँ गरी चार पुस्ताको प्रतिनिधित्व गर्ने करिब एक सय ५० जना हिन्दी, उर्दू र नेपाली साहित्यका कविको सहभागिता रहेको थियो । आयोजकका अनुसार सहभागीलाई आ–आफ्ना दुई–दुईवटा मात्रा गजल सुनाउने अवसर दिइन्छ । वसन्त चौधरीले पनि उक्त अवसरमा दुई सुन्दर गजल सुनाउँदै विविध श्रोताहरूको मन–मस्तिष्कलाई गहिरो प्रभाव पारेका थिए ।
‘सिनेमाण्डु’मा उत्सव
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय राजदूतावासद्वारा आयोजित सिनेमाण्डुको २२औँ शृङ्खलामा नेपाली चलचित्र ‘उत्सव’ प्रदर्शन भएको छ । गत साता नेपाल–भारत पुस्तकालयमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको फिल्म उत्सवका निर्देशक ‘दासढुङ्गा’, ‘उमा’जस्ता चलचित्रसँग जोडिइसकेका सिनेकर्मी कुमार भट्टराई हुन् भने सौगात मल्ल, सन्जोग कोइरालालगायत कलाकारले यसमा अभिनय गरेका छन् । सिनेमाण्डुको सो कार्यक्रममा निर्देशक भट्टराईको साथ सौगात र सन्जोग पनि सरिक भएका थिए । ‘उत्सव’ आजका नेपाली युवा र करिअर निर्माणका लागि सङ्घर्षरत तिनका क्रियाकलापमा आधारित फिल्म हो । उल्लिखित सिने–व्यक्तित्वहरूले फिल्म प्रदर्शनपछि उपस्थित दर्शकहरूसँग आफ्ना अनुभवहरू सेयर गरेर सिनेमाण्डुको सो शृङ्खलालाई रोचक तुल्याए । निर्देशक भट्टराईले सोलो डाइरेक्टरको रूपमा उत्सव आफ्नो पहिलो फिल्म भएकोले विभिन्न कमी–कमजोरी रहेको हुन सक्ने स्वीकार गर्दै दर्शकहरूबाट स्वस्थ आलोचना हासिल भएमा आगामी सिर्जनामा कमजोरी सुधार गर्दै उत्कृष्ट फिल्म प्रदान गर्न आफू इच्छुक रहेको बताए ।
कार्यक्रमको अन्त्यमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले कार्यक्रमका अतिथिहरूलाई सम्झनाको चिनो प्रदान गर्दै नेपाल चलचित्रकर्मी र दर्शकहरूलाई एकै ठाउँमा ल्याएर अन्तरक्रिया गर्न ‘सिनेमाण्डु’ एक उपयुक्त मञ्च भएको धारणा प्रस्तुत गर्नुभयो ।
‘चम्पाका हजार पाइला’ विमोचित
मातृभूमिका लागि युवा अभियानकी केन्द्रीय कोषाध्यक्ष एवम् नारीका लागि नारी परोपकारी अक्षय कोषकी संस्थापक साबी पाठकद्वारा सिर्जित उपन्यास ‘चम्पाका हजार पाइला’ राजधानीमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले पुस्तकको विमोचन गर्नुभएको थियो भने साहित्यकार डा. नारायण चालिसे, युवराज नयाँघरे, राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, राजनीतिकर्मी गंगा तुलाधरलगायतले विमोचन समारोहबीच मन्तव्यका साथ पुस्तकको समीक्षा गर्नुका साथै सर्जक साबीको साहित्यप्रेम एवम् लेखकीय उत्साहको प्रशंसा गरेका थिए । रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत रहेर पनि समाजसेवा र साहित्य सिर्जनामा सक्रिय साबी पाठकको गहकिलो उपन्यास कृति ‘चम्पाका हजार पाइला’ वैदेशिक रोजगारीमा गएकी नारीको मर्मस्पर्शी कथामा आधारित रहेका छ ।
गत शनिबार आयोजित विमोचन कार्यक्रममा मातृभूमिका लागि युवा अभियानको तर्फबाट अतिथिका रूपमा बद्रीराज तिम्सिनाले धन्यवाद मन्तव्य दिएका थिए भने सहकोषाध्यक्ष विष्णु दाहाल, एसिया प्यासिफिक संयोजक अनुज थापा, मध्यपूर्वी संयोजक कमल घिमिरे, केन्द्रीय सदस्य राजकुमार त्रिपाठीलगायतले लेखिकालाई प्रेरित गरेका थिए । विष्णुमाया पाण्डेको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नारीका लागि नारी आयोजक संस्थाका तर्फबाट संस्थापकहरू राधिका सुवेदी, अनिता सापकोटा, दीपा सिंखडा, एलिजा रायमाझी, रोशा पाठकलगायतले कार्यक्रमलाई व्यवस्थित पार्न विशेष भूमिका निर्वाह गरेका थिए । सञ्चारकर्मी श्वेता सिन्हाले आकर्षक ढङ्गबाट कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया