करिश्माको काखमा शिल्पा
जब–जब फागुपूर्णिमा नजिकिन्छ तब अभिनेत्री करिश्मा मानन्धर निकै उत्साहित हुन थाल्छिन् । त्यसो त फागुपूर्णिमा नजिकिँदा चलचित्रकर्मीहरू पनि अभिनेत्री करिश्मा मानन्धरलाई सम्झिहाल्छन् । कारण हो हरेक फागूपूर्णिमाको दिन करिश्माले आफ्नै निवासमा चलचित्रकर्मीहरूलाई आमन्त्रण गरेर विशेष कार्यक्रमको आयोजना गर्ने गर्छिन् । लामो समयदेखि करिश्माले यसलाई निरन्तरता दिँदै पनि आइरहेकी छिन् ।
चलचित्रकर्मीहरूलाई एउटै थलोमा जम्मा गरेर गजबकै संस्कारको सुरुवात गर्दै आइरहेकी छिन् उनले । चलचित्रकर्मीहरू पनि करिश्माको निमन्त्रणालाई सकभर छुटाउँदैनन् र उनले गराएको जमघटमा सहभागी भइहाल्छन् । आफू र चलचित्रकर्मीहरूबीचको यही माया, सद्भाव र आत्मीयतालाई अब करिश्माले सिनेमाको रूप दिने भएकी छिन् । पछिल्लोपटक चलचित्र ‘बाबुसाहेव’ निर्माणपश्चात् व्यावसायिक रूपमा थला परेपछि अमेरिकातिर भासिएकी करिश्मा अब भने आर्थिक रूपमा पनि बलियो भएको प्रमाण हो चलचित्र–निर्माण । त्यसैले त उनी भन्छिन्, ‘अब जे–जस्तो बाधा–व्यवधान आए पनि चलचित्र क्षेत्रलाई छाडेर कतै गइँदैन, यही क्षेत्रमा जमिन्छ ।’
यस्तो उत्साहित अभिव्यक्ति दिँदै अभिनेत्री करिश्मा पुनः चलचित्र क्षेत्रमा फर्किएकी छिन् निर्माताको रूपमा । फागुपूर्णिमाकी प्रशंसक करिश्माले अब बन्ने नयाँ चलचित्रको नाम पनि ‘फागु’ नै राखेकी छिन् । यो चलचित्रको उनले यसै साता पाँचतारे होटल याक एण्ड यतीमा भव्य समारोहबीच शुभारम्भ गरिन् । ‘सबैको माया र साथ मैले पाएकी छु । यसो हुँदाहुँदै पनि मेरो चलचित्र व्यावसायिक मारमा प¥यो । त्यसलाई म भाग्यमा नै रहेनछ भनेर चित्त बुझाएकी छु । विगतलाई बिर्सिएर नयाँ जोस, उमङ्ग र उत्साह बोकेर आएकी मैले अब झनै तपाईंहरूबाट साथ मिल्ने आशा राखेकी छु,’ कार्यक्रममा उनले भनिन् ।
महिलाले निर्माण गर्न लागेको यो चलचित्र ‘फागु’मा निर्देशन पनि महिलाकै रहनेछ । सम्झना रौनियारले ‘फागु’ निर्देशन गर्नेछिन् । सम्झनाले यसअघि ‘मेघा’ नामक चलचित्रको निर्देशन गरेकी थिइन् । अभिनेत्री मनीषा कोइरालाका भाइ सिद्धार्थ कोइरालालाई सम्झनाले नै पहिलोपटक नेपाली चलचित्रमा प्रवेश गराएकी थिइन् । करिश्माले बनाउन लागेको चलचित्र फागुमा उनले नयाँ पुस्ताकी अभिनेत्री शिल्पा पोखरेललाई नायिकाको रूपमा लिएकी छिन् । नयाँपुस्ताका नयाँ अनुहारलाई साथ दिनु पनि करिश्माको स्वागतयोग्य कदमको रूपमा लिइएको छ । ‘म त औधी भाग्यमानी हुँ । चलचित्र क्षेत्रमा प्रवेश गरेको थोरै समयमा करिश्मा दिदीको फिल्ममा काम गर्न पाउनुलाई मैले ठूलो अवसरको रूपमा लिएकी छु,’ निकै उत्साहित हुँदै शिल्पाले भनिन् ।
करिश्माले बनाउन लागेको यो चलचित्रको विशेषता के हो भने हरेक वर्ष करिश्माले जमघट गराउने चलचित्रकर्मीबीचको फागु कार्यक्रमका दृश्यहरू पनि चलचित्र फागुमा समेटिनेछन् । करिश्माले यो दृश्य समेटिनुपछाडिको कारण भविष्यमा सिनेमामार्फत् पुराना रमाइला कुराहरूलाई स्मरण रहिरहोस् भन्नु नै रहेको बुझिएको छ ।
बेल्जियममा चलचित्र अवार्ड
यतिबेला नेपाली चलचित्र क्षेत्रमा चलचित्र बजारको विस्तार गर्ने उद्देश्य लिएर आयोजना हुने फिल्म अवार्डको सङ्ख्या उल्लेख्य मात्रामा बढ्न थालेको छ । विभिन्न नाममा आयोजना हुने फिल्म अवार्डको कुरा गर्दा अब चाँडै युरोपको बेल्जियममा पनि आईएएफ अर्थात् इन्टरनेसनल फिल्म अवार्डको आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च बेल्जियमले आयोजना गर्ने यो अवार्डमा विभिन्न विधाहरूमा चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कृत गरिने कार्यक्रम रहेको छ । यसै साता अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका अध्यक्ष चलचित्रकर्मी प्रदीप उदयले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नु नै अवार्डको उद्देश्य रहेको बताए । ‘चलचित्रको विस्तार र कलाकारको सम्मान’ भन्ने उद्देश्यसहित सेप्टेम्बर २०१५ तारिखका दिन बेल्जियममा आयोजना हुन लागेको अवार्डमा सहभागी हुन नेपालबाट कलाकार एवम् प्राविधिकहरू त्यसतर्फ जाने भएका छन् ।
‘माग्ने’ र ‘तक्मे’ बाहिरिएपछि
गाउँले परिवेशमाथि आधारित हास्य शृङ्खला मेरी बास्सै यतिबेला तनावमा रहेको छ । पछिल्लोपटक यो सिरियलबाट माग्नेबुढा र तक्मेबुढा अग्गिएपछि यो सिरियल हेर्ने दर्शकहरूको सङ्ख्यामा कमी आउन थालेको छ । हरेक चरित्रमा धुर्मुस अर्थात् सीताराम कट्टेल मात्र दोहोरिने गरेका कारण दर्शकमा मनोटोनस हुन थालेपछि मेरी बास्सैको क्रेज घट्दा टेलिभिजन र विज्ञापन एजेन्सी यतिबेला तनावमा रहेका छन् । यता मेरी बास्सैको अवस्था यस्तो छ भने अर्कोतर्फ यस्तै गाउँले परिवेशमाथि आधारित अर्को सिरियल भद्रगोल आएपछि मेरी बास्सैलाई धक्का दिन थालेको छ । नयाँ–नयाँ थेगो र प्रस्तुतिका कारण भद्रगोलले मेरी बास्सैलाई बिर्साउने त होइन भन्ने चर्चा बजारमा तातेको छ । त्यसमाथि मेरी बास्सैका सीताराम कट्टेलका सहोदर भाइ भद्रगोलका ‘जिग्री’ को भूमिका निभाउने कुमार कट्टेलबीचको ‘इगो’ले पनि भद्रगोल युनिटलाई जसरी पनि मेरी बास्सैभन्दा राम्रो बनाउनुपर्ने चुनौती थपिनुले पनि भद्रगोलमा बढी मिहिनेत देखिएको छ ।
‘मान्छेभित्रको मान्छे’ सार्वजनिक
साहित्यकार प्राध्यापक डा. गणेश क्षेत्रीको सिर्जना ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रह हालै साहित्यबजारमा आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज च्याप्टरले राजधानीमा हालै आयोजना गरेको विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सर्जक क्षेत्रीका कवितामा नयाँ नेपालको चिन्तन प्रतिबिम्बित भएको बताए । च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गरिनु अपरिहार्य रहेको तर्क गरे भने पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र डा. कुमार कोइरालाले पनि कृतिबारे मन्तव्य दिएका थिए ।
यसैगरी भद्रकुमारी घले सेवा सदनले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ५७ जनालाई पुरस्कृत गरेको छ । सेवा सदनले साहित्य, पत्रकारिता, राजनीति तथा अन्य विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा साहित्यकार डा. उषा ठाकुर, वसन्तकुमार शर्मा, अधिवक्ता शान्तिकुमारी राई, श्यामदास वैष्णव, पत्रकार दण्ड गुरुङलगायत छन् । ठाकुर र शर्मालाई जनही एक लाख रुपैयाँ तथा ताम्रपत्रसहितको भद्रकुमारी घले सेवा सदन व्यक्तित्व पुरस्कार प्रदान गरिएको छ । यस्तै, राई र वैष्णवलाई जनही ५० हजार रुपैयाँको भद्रकुमारी घले कृतित्व पुरस्कार र पत्रकार गुरुङलाई दश हजार रुपैयाँसहितको भद्रकुमारी घले सेवा सदन जनजाति पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार मदनमणि दीक्षितलाई भद्रकुमारी घले शताब्दी साहित्य सम्मान प्रदान गरिएको थियो भने अन्य स्रष्टालाई विभिन्न सम्मान तथा नगदसहितको पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया