संसदमा चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेश हुँदै

संसदमा चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेश हुँदै


प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पेश हुने भएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले विधेयकको प्रतिवेदन संसदमा पेश गर्ने कार्यसूची रहेको छ । विधेयकमा चिकित्सक गोविन्द केसीले विरोध जनाउँदै आएका छन् । सोही विषयलाई लिएर डा केसी १६ औं अनशनमा छन् । उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले साथ दिने जनाएको छ ।

आजको बैठकमा अन्य महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने तयारी रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक प्रस्तुत गर्नेछन् । यस्तै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठक १२ बजेका लागि बोलाइएको छ ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ पनि प्रस्तुत हुनेछ । यस्तै, अर्थमन्त्री युवराज खतिवडाले अर्थ समितिको प्रतिवेदन सहितको निवृत्तभरण कोष विधेयक, अर्थ समितिको प्रतिवेदन सहितको भुक्तानी तथा फस्र्यौट विधेयक पारितका लागि पेश गर्नेछन् ।