गोदावरी नगरपालिकालाई दूतावासबाट एम्बुलेन्स सहयोग

गोदावरी नगरपालिकालाई दूतावासबाट एम्बुलेन्स सहयोग


भारतीय राजदूतावासले गोदावरी नगरपालिकालाई एक एम्बुलेन्स सहयोग गरेको छ । गोदावरीमा शनिबार ‘युवा सशक्तीकरण समाज नेपाल’ र ‘क्षेत्रीय सहकारी सञ्जाल’को संयुक्त पहलमा आयोजित कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई सो एम्बुलेन्स हस्तान्तरण गरे ।

गोदावरीमा सञ्चालित १९ वटा सहकारीमा आबद्ध १५ हजार सदस्यले एम्बुलेन्सको माग गरेसँगै राणाले स्वास्थ्य सेवालाई सुलभ बनाउन सो सहयोगको पहल गरेका थिए । गोदावरी नगर क्षेत्रमा एम्बुलेन्स ल्याउन मन्त्री राणा, युवा सशक्तीकरण समाज नेपाल तथा क्षेत्रीय सहकारी सञ्जालबीच सहजकर्ताको भूमिका सामाजिक अभियन्ता वशिष्ठ अधिकारीले गरेका थिए ।

एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका गोदावरी लगायत आसपासका गोदामचौर, विशंखुनारायण, बडिखेल, ठैब झरुवाराशी लगायतका बासिन्दा सेवा सञ्चालन भएपछि बढी मात्रामा लाभान्वित हुने भएका छन्। यसक्षेत्रमा प्राथमिक स्वास्थ्यकेन्द्र भए पनि सबैखाले उपचार सेवा नहुँदा रिफर गर्नुपर्ने बिरामीले सास्ती खेप्दै आएका थिए ।

एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा बोल्दै पूर्व मन्त्री राणाले युवा सशक्तिकरण समाज नेपाल तथा क्षेत्रीय सहकारी सञ्जालले आर्थिक व्यवस्थापन गरेर गोदावरी क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्ने बताएपछि आफुले भारत सरकार मार्फत एम्बुलेन्स उपलब्ध गराएको जानकारी दिए।

सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख महर्जनल साविकको गोदावरीमा सञ्चालित एम्बुलेन्सको व्यवस्थापन सही तरिकाले हुन नसकेका कारण त्यसै थन्काएर राख्नुपरेको खुलासाा पनि गरे । नगरपालिकाले टौखेलमा छिट्टै ग्यारेज निर्माण गरी नेपाल–भारत सहयोगबाट प्राप्त एम्बुलेन्स सञ्चालन गर्ने उनले बताए ।

गोदावरी क्षेत्रीय सहकारी सञ्जालका अध्यक्ष सुनन्द घिमिरेले सदैव सही तरिकाले एम्बुलेन्स सञ्चालन गर्न प्रत्येक सदस्यसँग महीनाको १०० रकम उठाएर २३ लाखको कोष खडा गर्ने जानकारी दिए ।