मन्त्री निकटको एनजिओलाई छनोट नगरिँदा कुटिए सचिव !

मन्त्री निकटको एनजिओलाई छनोट नगरिँदा कुटिए सचिव !


प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री यादवको नजीकको एनजिओलाई कार्यक्रमका लागि छनोट नगरिदिँदा आफूमाथि कुटपिट भएको आरोप सचिव झाले लगाएका छन् ।

सचिव झाले भने, ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुन लागेको गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उहाँले आफ्नो कार्यकक्षमा बोलाएर मेरो गालामा झापड हान्नुभयो ।’ सचिव झाले आफूले लगेको फाइल र डायरीसमेत मन्त्री यादबले खोसेको आरोप लगाए ।

सङ्घीय सरकारले ससर्त अनुदानअन्तर्गत गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनका लागि १९३ गैरसरकारी संस्थाले मन्त्रालयमा आशय पत्र दिएका थिए । त्यसमा ४० संस्था छनोट भएको थियो । मन्त्री यादवले आफ्नो नजिकको संस्थालाई छनोट गरिदिनका लागि दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण उहाँले मलाई कुटपिट गरेको सचिव झाको भनाइ छ ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेको भन्दै कर्मचारीले मन्त्री बस्ने मुख्य ढोकामा नै धर्ना दिएका थिए । कर्मचारीको धर्नाबाट मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्री यादवले भने आफूले नकुटेको जिकिर गरेका छन् । उनले सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडि ‘आफू जनकपुरको लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको बताए ।

मन्त्री यादवले सचिवलाई आफूले कुटेको प्रमाण भए आफू कारवाही भोग्न तयार रहेको बताए । घटनापछि सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषामा एक घण्टा राखेर प्रहरीले बयान लिएको थियो । त्यसपछि उनलाई प्राथमिक उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याइएको थियो । घटनापछि सचिव झाले सञ्चारकर्मीसँग कुरा गर्दै आफू मन्त्रीविरुद्ध अब कानूनी कारवाहीतर्फ जाने चेतावनी दिए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्द बुढाले पनि आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठमा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालीम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश नं २ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।

यसैबीच यस घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । छानबिन समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल रहेका छन् ।