डा. केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

डा. केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना


चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि सोमबार बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । १६औँ पटकको अनशनको छैटौँ दिन आजसम्ममा डा. केसीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा संक्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा. केसीका वार्ताटोली सदस्य अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए । अस्पताल भर्ना गरिए पनि डा. केसीले औषधि सेवन गर्न भने मानेका छैनन् ।

वार्ताटोली सदस्य भण्डारीले डा. केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताए । डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनशनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्नेसहितका ६ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनशन बसेका छन् ।