आत्मघाती बम आक्रमणमा पन्ध्रको मृत्यु

आत्मघाती बम आक्रमणमा पन्ध्रको मृत्यु


केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मंगलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एक सय एक कोठा, रेस्टुरेन्ट, कार्यालय भवनहरू र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मंगलबार अपराह्न अल शबाब इस्लामिक आतंककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् ।

विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र त्यसपछि बन्दुकधारीहरूले गोली प्रहार गर्न शुरु गरेको बताइएको छ । विदेशीसहित १५ व्यक्तिको मृत्यु भएको एक प्रहरीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् । मारिएका व्यक्तिमध्ये एक अमेरिकी नागरिक रहेका विदेश विभागका अधिकारीले जानकारी दिएका छन् ।

होटेल परिसरमा फसेका दर्जनौँ व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३ः३० बजे बिहान भाग्न सफल भएको बताइएको छ । के–कति व्यक्ति होटेलमा छन् भन्ने प्रस्ट भइसकेको छैन ।

यस आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ ।

सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो । सन् २०१५ को अप्रिल २ मा पूर्वी केन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ जनाको मृत्यु भएको थियो ।

रासस–एएफपी