‘चरिमायाको फिल्म हल्ला मात्र’
विश्वविख्यात अवार्ड र सम्मान जित्न सफल समाजसेवी चरिमाया तामाङको जीवनमाथि चलचित्र बनाउँदै छु भनेर बजारमा कलाकार शुभेच्छा थापा र निर्देशक राजु गिरीले चलाएको हल्ला अन्ततः झुटो, कपोलकल्पित, भ्रामक र गलत भएको ठहर भएको छ । गत साता यसै पृष्ठमा शुभेच्छा र राजुले चरिमाया तामाङको जीवनमाथि न्याय गर्न सक्दैनन् र यिनीहरूलाई यो विषयमाथि चलचित्र निर्माण गर्न अधिकार दिनु गलत हुनसक्छ भन्ने आशयको लेख लेख्दा शुभेच्छाले यस पङ्क्तिकारलाई मुद्दा हाल्नेसम्मको धम्की दिएकी थिइन् । चरिमाया तामाङजस्ती चर्चित समाजसेवीको सिनेमा बनाउनु भनेको सामान्य कुरा होइन । यो असामान्य विषयलाई शुभेच्छा र राजुले हलुका रूपमा हेर्न नहुने सुझावसहितको लेखप्रति आपत्ति जनाउँदै शुभेच्छाले सामाजिक सञ्जालमा तथानाम गाली गरेकी थिइन् । तर, अन्ततः गलत सोच र उद्देश्य बोकेको मानिस कहिल्यै सफल हुँदैन भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ । कसैको जीवनमाथि चलचित्र बनाउँदा वा उसको जीवनलाई चलचित्रमा उतार्दा उसको स्वीकृति लिनुपर्छ कि पर्दैन ? सम्बन्धित पक्षको स्वीकृतिबिना नै फलानोको विषयमाथि चलचित्र बनाउँछु भनेर थापा र गिरी बिनाआधार कुर्लिएका रहेछन् भन्ने कुरा स्पष्ट भएको छ । चरिमाया तामाङको संस्था शक्ति समूहले शुभेच्छा र राजु गिरीलाई चलचित्र बनाउन कुनै स्वीकृति नै नदिएको र उनीहरूले बनाउन लागेको चलचित्रमा चरिमाया तामाङको जीवनी नसमेटिने स्पष्ट पार्दै प्रेस विज्ञप्ति रिलिज गरेपछि वास्तविकता पर्दाफास भएको थियो । चरिमाया तामाङलाई सुझाव दिने र उनलाई सजग गराउने आशयको लेख गत साता लेख्दा यो स्तम्भकारप्रति आगो भएकी शुभेच्छाले अब कुन हैसियतले मुद्दा हाल्ने कुरा गर्नुहुन्छ ? त्यो भने हेर्न बाँकी नै छ । बजारमा गलत सन्देश प्रवाह गर्दै झुटको खेती गर्ने शुभेच्छा र राजुलाई चाहिँ अब कसले मुद्दा हाल्ने ?
चरिमाया तामाङजस्ती उच्चकोटिकी नारी पात्रमाथि बनाउने चलचित्र जस्तो पायो त्यस्तो हुनुहुँदैन । उनको जीवनमाथि चलचित्र बनाउन पनि हैसियत हुनुपर्छ । जसले पायो त्यसले चलचित्र बनाउँदा जीवनकथामाथि नै असर पर्न सक्छ र भोलिको पुस्तामा गलत सन्देश प्रवाह हुनसक्छ । यस्तो जीवनमाथि चलचित्र बनाउँदा संवेदनशील हुन सक्नुपर्छ भन्ने लेख लेख्दा सामाजिक सञ्जाल र मिडियामा चर्को स्वरले विरोध गर्ने शुभेच्छाहरूलाई अन्ततः समयले नै गलत सावित गरिदिएको छ । चरिमाया तामाङको संस्था शक्ति समूहले प्रेस विज्ञप्ति जारी गरेपछि घटना र विचार साप्ताहिकले उठाएको विषयले न्याय पाएको छ ।
आगामी दिनमा पनि कसैको स्वीकृति वा अधिकार प्राप्त नगरीकन सस्तो लोकप्रियता र चर्चा कमाउन फलानाको विषय वा जीवनमाथि चलचित्र बनाउँदै छु भनेर गलत चर्चा, हल्ला र भ्रमको खेती गर्नु आफैँमा लज्जास्पद हो भन्ने कुरा यो घटनाले पनि प्रस्ट पारेको छ ।
न्यू इयरको दाबी
नेपाली चलचित्र क्षेत्रमा बिग ब्यानर र कर्पोरेट हाउसहरूको आगमनमा कमी आइरहेको महसुस भइरहेको समयमा यो महसुसलाई थोरै मात्रामा पूरा गर्न भए पनि यसै सातादेखि नयाँ ब्यानरले नेपाली चलचित्र निर्माणमा प्रवेश गरेको छ ।
ग्रिष्मा इन्टरटेनमेन्ट नामक सो ब्यानरले काठमाडौंको पाँचतारे होटल एभरेष्टमा एक विशेष कार्यक्रमको आयोजना गरेर चलचित्र निर्माणको घोषणा गरेको थियो । यो संस्थाका प्रमुख ग्रिहेन्द्र घिमिरेले चलचित्र न्यू इयरको निर्माण गर्न लागेको घोषणा गरेका थिए । घिमिरेले नै चर्चित गायक रामकृष्ण ढकालले तेस्रो सुमधुर साँझको भव्य आयोजना गरेर मनोरञ्जन क्षेत्रमा आफ्नो उपस्थिति जनाएका थिए भने उनले अब चाँडै चर्चित हास्य कलाकार जितु नेपालको एकल हास्य साँझको पनि आयोजना गर्ने भएका छन् । कार्यक्रममा घिमिरेले सस्तो र फर्फुलायुक्त नभएर स्तरीय र विदेशको बजारमा पकड जमाउन सक्ने चलचित्र निर्माणलाई जोड दिँदै यो विधामा पनि निरन्तर रूपमा अगाडि बढ्ने कुरा बताए । मोक्षजस्तो राम्रो चलचित्रको निर्देशन गरेका निर्देशक प्रवीण श्रेष्ठले न्यू इयरको निर्देशन गर्नेछन् । चलचित्रमा अनुपविक्रम शाही र बेनिशा हमालको प्रमुख भूमिका रहने बताइएको छ ।
यूएईमा नेपाली युवाको लोकप्रियता
वैदेशिक रोजगारीको क्रममा विदेश पुग्ने नेपालीले आफ्नो मुलुकको कला र संस्कृतिलाई विदेशी भूमिमा पनि चम्काउने काम गरिरहेकाछन् । चलचित्र प्रदर्शन गरेर होस् या सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर होस्, उनीहरू लागिपर्ने गरेका छन् ।
यसैक्रममा लामो समयदेखि यूएईमा बस्दै आएका युवाहरू यतिबेला त्यहाँस्थित नेपालीमाझ निकै लोकप्रिय भइरहेका छन् । लक्ष्मण अधिकारी, सुशील केसी र रवि घिमिरेको जोडीले नेपालबाट चलचित्र लगेर वा कलाकार यूएईमा लगेर विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यसबाहेक पनि त्यहाँ दुःख पाएका र कानुनी रूपमा असर परेका नेपालीलाई न्याय दिने कार्यमा पनि यो समूह निकै लाग्ने गरेको छ ।
यूएईस्थित नेपाली मिडियामा पनि आबद्ध छ यो समूह । सामाजिक कार्यमा समेत रामै्र संलग्नता जमाउने यो समूह विशेष गरेर नेपालीपन झल्कने चलचित्रहरू यूएईमा देखाउने मामिलामा अगाडि रहेको छ । ‘हामी सस्तो र भद्दा होइन, स्तरीय र नेपालीपन झल्कने चलचित्र प्रदर्शनलाई जोड दिन्छौँ,’ उनीहरूको भनाइ छ ।
यदि चलचित्र राम्रो बन्न सकेमा यूएईबाटै लगानी उठाउन सकिने भनाइ पनि उनीहरूको रहेको छ । पारिवारिक र सामाजिक चलचित्र बढी चल्ने गरेको यूएईमा यो समूहले सांस्कृतिक कार्यक्रम र चलचित्र प्रदर्शनबाट उठेको रकम नेपालीको सेवा एवम् हक र हितका लागि खर्चने गरेको छ ।
प्रतिक्रिया