बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल, ब्रेजिक्ट सम्झौता अनुमोदन अन्योलमै

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल, ब्रेजिक्ट सम्झौता अनुमोदन अन्योलमै


बेलायती प्रधानमन्त्री थेरेसा मेविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

हाउस अफ कमन्समा लामो छलफलपश्चात् बुधबार राति भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा ३२५ र विपक्षमा ३०६ मत परेको थियो । प्रधानमन्त्री मेविरुद्ध ल्याइएको यो पहिलो अविश्वासको प्रस्ताव थियो ।

गत मंगलबार ब्रेक्जिट अनुमोदनसम्बन्धी मतदानमा सरकारको पक्षमा २०२ र विपक्षमा ४३२ मत परेको थियो । इयूसँग भएको ब्रेक्जिट सम्झौतालाई बेलायती संसदले अनुमोदन गर्नुपर्ने प्रावधान छ । संसदमा अविश्वास प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री थेरेसा मेले विभिन्न दल र पक्षसँग छलफल शुरु गरेकी छिन् । उनले भनिन्, ‘वार्ताहरू निकै रचनात्मक ढंगबाट अगाडि बढेका छन् र हामीले कुनै पनि स्थितिमा समाधान खोज्नैपर्दछ ।’

तर, लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग प्रधानमन्त्रीको भेटवार्ता भएको छैन । कोर्बिनले ब्रेक्जिट सम्झौता फिर्ता नलिएसम्म प्रधानमन्त्रीसँग वार्ता गर्नुको कुनै अर्थ नभएको बताएका छन् । युरोपेली कूटनीतिज्ञहरूले ब्रेक्जिट सम्झौता लागू हुने दिन अति नजिक आइसकेकाले पुनः छलफल गरी संसदबाट अनुमोदन गर्न सम्भव नभएको बताएका छन् । उनीहरूले ब्रेक्जिट सम्झौता स्थगन हुन सक्ने अनुमान गरेका छन् ।

प्रधानमन्त्री मेले बुधबार संसदमा मुख्यगरी दुईवटा विषयमा सांसदहरूको ध्यानाकर्षण गरेकी थिइन्– इयूबाट हुने आप्रवासन र स्वतन्त्र व्यापार नीति । दुवै बुँदाहरू लेबर पार्टीको सिद्धान्तविपरीत छन् । प्रधानमन्त्री थेरेसाले ब्रेक्जिट कार्यान्वयनमा ढिलाइ गर्न चाहेएमा इयूका सबै २७ मुलुकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर, मेले ब्रेक्जिट कार्यान्वयनमा ढिलाइ नगर्ने दृढता व्यक्त गरेकी छिन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले ब्रेक्जिटमा रहेका केही बुँदामा संशोधन गर्न सकिए पनि त्यो अहिल्यै सम्भव नरहेको बताए । जर्मन चान्सलर एंजेला मर्केलले वार्ताका लागि अझै पनि समय रहेको बताउँदै लन्डनले स्पष्ट र एकीकृत धारणा ल्याउनुपर्ने आवश्यकता औँल्याइन् । उनले बेलायती प्रधानमन्त्रीको नयाँ प्रस्तावको प्रतीक्षा गरिरहेको बताइन् ।