कुनै पनि मुलुकको उन्नति–प्रगति या समृद्धिमा राजनीतिक स्थायित्व र सुशासनजस्ता कुराले अहम् महत्व राख्दछ । सुशासन भन्नेबित्तिकै मूलतः भ्रष्टाचारमुक्त समाजको कल्पना गरिने भएकाले हाम्रो परिवेशमा यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम–कारबाही विशेष चासो र चर्चाको सन्दर्भ बन्न पुगेको छ । हाम्रो देश गरिब छ, जनता गरिब छन् र अर्थतन्त्र कमजोर छ । यस्तो तिक्त यथार्थबीच हामी सुशासनयुक्त समाजको जुन अपेक्षा या परिकल्पना गरिरहेका छौँ, यसका लागि भ्रष्टाचारको समूल अन्त्य अपरिहार्य छ । अर्थात्, सुशासन कायम गरी नागरिकलाई राहत पु-याउने तथा राज्यलाई बलियो बनाउने उद्देश्यका खातिर संवैधानिक हैसियत पाएको एक मात्र निकाय हुनुको नाताले अख्तियारको अहम् भूमिका रहन्छ । यसर्थ पनि ‘अख्तियार’प्रति सबैको चासो या आमदृष्टि पर्नु स्वाभाविक हुन आउँछ ।
आजभन्दा करिब चार दशकअघि ०३२ मा पहिलोपटक ‘अख्तियार दुरुपयोग निवारण आयोग’ गठन भए पनि मूलतः ०४६ को राजनीतिक परिवर्तनपछि जारी भएको ०४७ सालको संविधानमार्फत अख्तियारलाई अहिलेको स्वरूप प्रदान गरिएको हो । यस हिसाबले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ आफ्नो २४औँ जन्मदिवस मनाउने उपक्रममा आइपुगेको छ र आफ्नो यो करिब अढाइ दशक अवधिमा अख्तियार पछिल्लो डेढ वर्ष सर्वाधिक चर्चामा रहेको छ । देशमा सुशासन स्थापनार्थ भ्रष्टाचार नियन्त्रणमा अख्तियारले पछिल्ला दिनमा दर्शाएको सक्रियता र सेवाग्राहीमा यसले जगाएको आशा–उत्साह तथा अनियमित कार्यमा संलग्न रहँदै आएकाहरूलाई निरुत्साहित तुल्याएकै कारण अख्तियारको सकारात्मक चर्चा चुलिएको हो भन्नेमा शङ्का गर्न सकिन्न । वास्तवमा भ्रष्टाचारको विशेष जडस्थल मानिँदै आएको निजामती कर्मचारी क्षेत्रमा यतिबेला अख्तियारले राम्रै दबदबा कायम गरेको छ । विषेशगरी भ्रष्ट कर्मचारीमा गतिलै मनोवैज्ञानिक त्रास सिर्जना गरिदिएकाले ‘आम’ बन्ने गतिमा चुलिइरहेको भ्रष्ट क्रियाकलापलाई मत्थर पार्न यो निकायले सञ्जीवनीकै काम गरेको छ भन्दा फरक नपर्ला । आफ्नो लामो इतिहासमै कीर्तिमान कायम राख्नेगरी काम देखाउन सकेबाट अख्तियारको नेतृत्व कसले कसरी गरिरहेको छ त भन्ने सवाल उठ्नु पनि स्वाभाविक हुन आउँछ ।
वास्तवमा अख्तियारलाई आफ्नो उद्देश्यअनुरूपको गति र पहिचान दिलाउनका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विशिष्ट योगदान रहेको छ भन्दा कसैले अतिरञ्जना ठान्छ भने त्यो पूर्वाग्रह मात्र हो । प्रमुख आयुक्तमा कार्कीको नियुक्ति हुँदा जुन रूपमा विवादको विषय बनाउन खोजियो, त्यो केवल पूर्वाग्रहवश या व्यक्तिको क्षमता बुझ्ने प्रयत्नै नगरी गरिएको दुराग्रही व्यवहार थियो भन्ने कार्कीनेतृत्वमा अख्तियारले गुजारेको डेढवर्षे अवधिले नै सिद्ध गरिदिएको छ । अख्तियारले आफ्नो सक्रियता बढाएको मात्र नभई निस्पक्ष अभ्यासमा पनि अग्रणी भूमिकामा देखिएको छ । भ्रष्टाचारका मुद्दामा ८० प्रतिशत सफलता मिलेको सो निकायको दाबीका आधारमा भन्नुपर्दा योग्य व्यक्तिले उचित जिम्मेवारी पाउँदा परिणाम सकारात्मक आउँदोरहेछ भन्ने तथ्य बुझाउने एक मानक नै बन्न पुगेको छ अख्तियारको हालका काम–कारबाही ।
तथापि, पछिल्ला दिनमा राज्यका सार्वजनिक सरोकारका कुनै पनि निकाय भ्रष्टाचारको दुश्चक्रबाट अछुतो रहन नसकेको तथ्य लुकाउन सकिन्न । सबै क्षेत्रमा नैतिक चरित्र दिनानुदिन स्खलन हुँदै गएको र स्वार्थप्रेरित व्यक्तिको मिलेमतो र सङ्गठित रूपमा सञ्जाल विस्तार गर्दै निहित स्वार्थसिद्धिका लागि भ्रष्टाचारमा उद्यत् रहने गरेको कुरा त अख्तियारका जिम्मेवार अधिकारीहरूले नै स्वीकार गरेको विषय हो । मुलुकमा विद्यमान अस्थिर राजनीतिक अवस्थाका कारण भ्रष्टाचारजन्य गतिविधि मौलाउन सक्ने खतराबीच अख्तियारको भूमिका झनै चुनौतीपूर्ण बनेको छ भन्नेमा दुईमत नरहला । यस्तोमा आमनागरिकले अपेक्षा गरेअनुरूप ठूला र गहन भ्रष्टाचारका मुद्दामा अख्तियार थप सक्रिय हुनु जरुरी छ । नेपालमा भ्रष्टाचारको मूल नै यहाँको राजनीतिक क्षेत्र हो भन्ने धारणा आमतहमा गढेर रहेको छ । यसमा सत्यको मात्रा अधिकाधिक रहेको इन्कार गर्न सकिन्न । यस तथ्यमाथि अख्तियारको ध्यान पुग्नुपर्छ । झिनामसिना तहमा मात्रै हात हालेर त्यसलाई प्रचारको विषय बनाउनेभन्दा उपल्ला तहका कर्तुतको पर्दाफास गरी मुलुक र जनतालाई गुन लगाउन सक्नुपर्छ । हुन त भ्रष्टाचार नियन्त्रण भन्ने कुरा अख्तियार या राज्यको मात्र दायित्वको विषय होइन । हाम्रै संस्कार, आचरण, नैतिकतासँग जोडिएको विषयका रूपमा पनि यसलाई बुझ्नुपर्छ । तैपनि, गल्ती गर्नेले उन्मुक्ति पाउँदैन भन्ने कुरालाई व्यवहारतः स्थापित गर्नसक्नुमा अख्तियारको सफलता लुकेको हुनाले यसप्रति अझ गम्भीर भएर काम गर्नु वान्छनीय हुन आउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भावी दिनमा अझै सफलता मिलोस्, चौबीसौँ अख्तियार दिवसको अवसरमा हाम्रो यही शुभकामना ।
प्रतिक्रिया