राप्रपालाई वैकल्पिक शक्ति बनाउने कमल थापाको उदघोष

राप्रपालाई वैकल्पिक शक्ति बनाउने कमल थापाको उदघोष


राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भने । ‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको विचार व्यक्त गरे ।

मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उनले वाइड बडी विमान काण्ड, सुन काण्ड, विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताए । निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पु¥याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नुपर्नेमा जोड दिँदै उनले विधिको शासन छैन, मनपरि छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुन सक्नेमा अध्यक्ष थापाले जोड दिए ।

राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको चर्चा गर्दै थापाले भने, ‘गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ ।’

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरुप्रसाद सापकोटालगायतले उक्त कार्यक्रमलाई सम्बोधान गरेका थिए । सभापछि घरदैलो कार्यक्रम गर्दै वडा परिक्रमा गरिएको थियो ।