संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् ।
प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौं शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी ईश्वर पुडासैनी, सुकदेव अधिकारी, बीपी पौडैल, ईश्वरी नेपाल, रूपा गिरी, बाबुराम न्यौपाने, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुँयाल, नानीकाजी गिरी र अमृतजंग महतलाई पक्राउ गरेको हो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने, वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्न मुख्य दोषीलाई कारबाही गर्नुपर्ने र सत्याग्रही प्राडा गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित मानवअधिकार तथा शान्ति समाजले संघीय संसद् भवनअगाडि धर्नासहित प्रदर्शन गरेको सभापति पुडासैनीले बताए ।
प्रतिक्रिया