पानीजहाजमा आगलागी हुँदा १४ को मृत्यु

पानीजहाजमा आगलागी हुँदा १४ को मृत्यु


क्रिमियाको तटीय क्षेत्रमा ग्यास ट्यांकर बोकेको पानीजहाजमा आगलागी हुँदा चौधजनाको मृत्यु हुनुका साथै पाँचजना हराइरहेका छन् । तान्जानियाको झन्डा रहेको उक्त ग्यास ट्यांकरयुक्त पानीजहाज कृष्ण सागर (ब्लाक सी) मा दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन् ।

रुसको संघीय जल यातायात निकायका प्रवक्ता अलेक्सी क्राभचेन्कोले ११ जनाको शव समुद्रबाट निकालिएको बताए । उनले उद्धारकर्मीहरूले अरू तीनजनाको शव देखेको तर तिनीहरू पानीमा डुबेको जानकारी पनि दिए ।

क्यान्डी र मेइस्ट्रो नामका दुईवटा पानीजहाजमा चालक दलका सदस्यहरू भारत र टर्कीका नागरिकहरू रहेको बताइएको छ । क्यान्डीमा १७ जना चालक दलका सदस्य थिए भने मेइस्ट्रोमा १४ जना सवार थिए । क्राभचेन्कोले १२ जनालाई जीवितै उद्धार गरिएको जानकारी दिए । बेपत्ता रहेका अरू पाँचजनाबारे थाहा हुन सकेको छैन ।

एउटा जहाजबाट अर्को जहाजमा तेल भर्ने क्रममा अचानक आगो लागेको थियो । जहाजमा आगलागी शुरु हुनासाथ चालक दलका सदस्यहरू पानीमा हामफालेका थिए । क्राभचेन्कोले खोज तथा उद्धार कार्य जारी रहेको बताए ।

उक्त दुर्घटना कृष्ण सागरको कर्च स्ट्रेटनजिक भएको थियो । गत वर्षदेखि उक्त स्थान रुस र युक्रेनको विवादको केन्द्रमा रहेको छ । गत वर्ष नोभेम्बरमा रुसले कर्च स्ट्रेटमा तीनवटा युक्रेनी नौसैनिक जहाज सैनिक हस्तक्षेप गरी जबर्जस्ती नियन्त्रणमा लिएको थियो ।