पश्चात्ताप भएपछि देशको पक्षमा

पश्चात्ताप भएपछि देशको पक्षमा


विगतमा विभिन्न कारणवश माओवादीको भुलभुलैयामा परेर तिनका एजेण्डा बोकेर हिँड्ने प्रबुद्ध व्यक्तिहरू पश्चात्ताप महसुस गर्दै मुलुकको सर्वोपरि हितका पक्षमा फर्कने क्रम शुरु भएको छ । माओवादीलाई पश्चिमा शक्तिहरूसँग जोड्न मुख्य भूमिका निर्वाह गर्ने डा. केबी रोकायाले आफ्नो विगतको गल्तीप्रति पश्चात्ताप गर्दै सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको सर्वविदित छ ।

रोकायाले नेपाल जोगाउन हिन्दूराष्ट्र र राजसंस्था पुनर्वहाली हुनुपर्छ भन्न थाल्नुभएको दुई वर्ष भइसकेको छ । यसैबीच पूर्वसभामुख एवम् एक समयका चर्चित काङ्ग्रेस नेता दमननाथ ढुङ्गानाले पनि नेपाल संवैधानिक राजसंस्थासहितको हिन्दूराष्ट्र हुनुपर्ने धारणा प्रकट गर्न थाल्नुभएको छ ।

प्राप्त जानकारीअनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहिसकेका तनहुँका काङ्ग्रेस नेता रामचन्द्र पौडेलले केही दिनअघि काठमाडौंको बत्तीसपुतलीस्थित कृष्ण सिटौलाको समेत लगानी रहेको मानिने अनुपम पार्टी प्यालेसमा एक गोप्य बैठकको आयोजना गर्नुभएको थियो । बैठकमा पौडेलले पूर्वसभामुख एवम् काङ्ग्रेस नेता तारानाथ रानाभाट, पूर्वसभामुख दमननाथ ढुङ्गाना, काङ्ग्रेसको फरक धारका नेताहरू लक्ष्मणप्रसाद घिमिरे, विपिन कोइराला, श्यामलाल श्रेष्ठ र चिरञ्जीवी वाग्लेलगायतलाई आमन्त्रण गर्नुभएको थियो । फरकघारका नेताहरूलाई समेत आफ्नो लाइनमा ल्याउने उद्देश्यबाट आयोजित सो गुप्त बैठकमा पौडेलले सहभागी सबैको धारणा राम्रोसँग सुन्नुभयो । सहभागी सबैले रामचन्द्र पौडेलको भूमिका र कार्यशैलीको आलोचना गर्दै पार्टी विचार, सिद्धान्त र नीतिविहीन भएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । दमननाथ ढुङ्गानाले २०४७ सालको संविधान उपयुक्त भएको स्पष्ट गर्दै राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डामा काङ्ग्रेस फर्कन विलम्ब गर्न नहुने धारणा राख्नुभएको थियो ।

कुनै समय धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताको वकालत गर्नुहुने काङ्ग्रेस नेता ढुङ्गानाले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा राय प्रकट गर्नुहुँदा उपस्थित अन्य नेताहरू आश्चर्यचकित पर्नुभएको थियो । नेता ढुङ्गानाले सङ्घीयता देशको समस्या भएको स्पष्ट गर्दै भन्नुभएको थियो, ‘नेपालले सङ्घीयता धान्न सक्दैन ।’ उहाँँले राजा र राजनीतिक दलबीच २०६३ सालमा सम्झौता भएअनुसार वैशाख ११ गते संसद् पुनस्र्थापना भएको, तर उक्त सम्झौतालाई दलहरूले पालना नगरेको बताउँदै देश जोगाउन हिन्दूराष्ट्र र राजसंस्था हुनुपर्ने धारणा राख्नुभएको थियो । ढुङ्गानाको विचारमा सबैजसो सहभागीले सहमति जनाएका थिए ।

तर, रामचन्द्र पौडेलले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आफू रहन नसक्ने स्पष्ट गर्नुभयो । उहाँले आफू समाजवादी भएको दाबी गर्दै अब गाउँ–गाउँमा कम्युनिस्टको समाजवाद र आफ्नो समाजवादबीचको अन्तरबारे जनतालाई बताउँदै हिँड्ने बताउनुभयो । उहाँले राजसंस्था र हिन्दूराष्ट्र बोक्न नसकिने अवस्था रहेको स्पष्ट गर्दै आफू त्यस कुरामा सहमत हुन नसक्ने प्रस्ट पार्नुभएको थियो । ज्ञातव्य छ, काङ्ग्रेसमा आरजु राणा, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र गगन थापा माओवादीका एजेण्डासँग निकट मानिनुहुन्छ । उहाँहरू काङ्ग्रेसलाई कम्युनिस्ट धारमा लैजान मुख्य भूमिका निर्वाह गर्नेहरूमध्ये मानिनुहुन्छ । पौडेलले जे–जस्ता धारणा राखे पनि दमन ढुङ्गानाको विचारले भने सहभागी सबैलाई प्रोत्साहित गरेको बुझिएको छ ।