विद्यार्थीका लागि पठनपाठनको वातावरण सहज हुनुपर्ने, अध्ययन गरिसकेपछि परीक्षा दिन पाउनुपर्ने जस्ता कुरा नैसर्गिक अधिकारभित्रै पर्ने विषय हो । तर, यस्तै मुद्दा बोकेर मागपत्र तेर्स्याउनुपर्ने अनि जिम्मेवार निकायले त्यसको पनि उपेक्षा गर्ने अवस्था सिर्जना हुन्छ भने त्यो अत्यन्त विडम्बनायुक्त र खेदजनक विषय बन्न पुग्छ । आजको समयमा पनि राजधानी जस्तो ठाउँमा दूरावस्थापूर्ण शैक्षिक वातावरण कायम रहनु लज्जास्पद नै हो । तर, यस्तै शर्मनाक परिस्थितिबाट गुज्रिरहेका छन् त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरू ।
यही परिस्थितिका बीच स्वतन्त्र विद्यार्थी युनियनको अग्रसरतामा गत सोमबार (माघ ७) देखि महाराजगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरू आन्दोलनरत छन् । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलनमा उत्रिएको स्ववियुले नयाँ पुस्तकालय भवन निर्माणको आर्र्थिक पारदर्शिता, कक्षाकोठाको अभावमा विद्यार्थीले चौरमा बसेर पढ्नुपरेकोले तत्काल कक्षाकोठाको व्यवस्था हुनुपर्ने, पुस्तकालयमा पर्याप्त मात्रामा नयाँ संस्करणका पुस्तक उपलब्ध हुनुपर्ने, अध्ययन–अध्यापन कार्यलाई सहज तुल्याउने गुणस्तरीय भौतिक सामग्रीहरू उपलब्ध हुनुपर्ने जस्ता माग व्यवस्थापन पक्षसमक्ष तेर्स्याएको छ ।
स्ववियुले अघिसारेका यी मागहरू पूरा गर्न नसकिने किसिमका छैनन् । यस्ता माग विद्यार्थीले अघिसार्नुअघि नै सम्बन्धित निकायले आफै आवश्यक व्यवस्था गरिदिनुपर्ने हो, तर यस्ता सामान्य तथा आधारभूत आवश्यकताका लागि पनि विद्यार्थी आन्दोलनमा उत्रनु परेकोमा स्ववियु कोषाध्यक्ष ऋचा घिमिरेले खेदका साथ दुःखेसो प्रकट गरेकी छन् ।
आफ्ना मागबारे स्ववियुले महाराजगञ्ज नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डीन, त्रिवि प्राध्यापक संघ महाराजगञ्ज इकाई, त्रिवि शिक्षाध्यक्ष र त्रिविका उपकुलपतिलाई समेत जानकारी गराएको छ । तर विद्यार्थीले उठाएका मागप्रति क्याम्पस प्रमुखले चासो दिनुको साटो सम्पर्कविहीन भएर बसिदिएपछि विद्यार्थीहरू आश्चर्यमा परेका छन् । ज्ञात रहोस्– महाराजगञ्ज नर्सिङ क्याम्पसमा यतिबेला सुलोचना श्रेष्ठ क्याम्पस प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ ।
कनिष्ट, अनुभवको योग्यता नपुगेका, खास राजनीतिक आस्था बोकेर सोहीअनुसार क्रियाकलाप गर्ने गैरजिम्मेवार व्यक्तिहरू जिम्मेवार ओहदामा रहेकाले आफूहरूले दुःख पाएको दुःखेसो पनि छ आन्दोलनरत विद्यार्थीहरूको । उनीहरूले होस्टल वार्डन र क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेका छन् । भोलि माघ १० भित्र माग पूरा नगरे क्याम्पसमै तालाबन्दी गर्ने र कठोर आन्दोलनमा उत्रिने चेतावनी विद्यार्थीहरूले दिएका छन् । आन्दोलनलाई सार्थक अन्त्यमा पुऱ्याउनका लागि विहिबार विहान १०ः३०–११ः०० बजेभित्र आन्दोलनस्थलमा भेला हुन सम्बन्धित सबै विद्यार्थीलाई स्ववियुले आह्वान गरेको छ ।
प्रतिक्रिया