ज्ञवालीको भ्रमण पनि रहस्यमयी !

ज्ञवालीको भ्रमण पनि रहस्यमयी !


भारत, अमेरिका र चीनलाई एकसाथ खुसी पार्न वर्तमान सरकारले गरेको प्रयास केटाकेटीको खेलझैँ हुन पुगेको छ । तीनवटै पक्षलाई एकैपटक खुसी बनाउन भइरहेका नेपाली प्रयासलाई तीनवटै पक्षले छर्लङ्गै बुझेका कारण यो ‘केटाकेटी खेल’झैँ देखिएको हो ।

एक महिनाअघि अमेरिकाको भ्रमणमा गएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक कमाण्डसँग सहकार्य गर्न अमेरिकाले राखेको प्रस्तावमा सहमति जनाएका थिए । नेपाललाई अमेरिकाले ‘अब आफ्नै आँखाले हेर्ने’ भन्दै ‘केन्द्रीय भूमिका निर्वाह गर्न’ गरेको आग्रहलाई ज्ञवालीले गदगद भएर स्वीकार गरेका थिए । यसरी इन्डो–प्यासिफिक कमाण्डसँग नेपालले सहकार्य गर्ने सम्भावना बढेसँगै चीन र भारत गम्भीर बनेका छन् ।

कम्युनिस्ट सरकारको परराष्ट्र नीतिबाट भारत र चीन दुवै असन्तुष्ट बन्ने सङ्केतहरू देखिएपछि प्रदीप ज्ञवाली अमेरिकाबाट फर्किएलगत्तै नयाँदिल्ली पुगेर भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई भेटेका थिए । उक्त भेटको कूटनीतिक अर्थ बुझेको हुनाले भारतीय पक्षले नेपालबाट हुने प्रस्तुतिलाई सचेततापूर्वक हेरिरहेको बताइन्छ । स्वराजसँगको भेटमा प्रदीप ज्ञवालीले ‘भारतको चाहना सूचीबद्ध गरेर दिनुहोस्, हामी सोहीबमोजिम गर्न प्रतिबद्ध छौँ’ भनी भारतसँग मिलेर अघि बढ्न चाहेको धारणा प्रकट गरेका थिए । कुराकानीका क्रममा ज्ञवालीले नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा समेत आफूहरू सकारात्मक रहेको धारणा स्वराजसमक्ष राखेका थिए ।

भारतको विरोध गरेकै आधारमा राष्ट्रवादी छवि बनाउन सफल केपी ओली सरकारका परराष्ट्रमन्त्रीले भारतका हरेक चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुको अर्थ नयाँदिल्लीमा खोजी भएको छ । कतै अमेरिकाको इसारामा नै ज्ञवाली दिल्लीमा प्रस्तुत भएका त होइनन् भन्ने प्रश्न पनि साउथ ब्लकका उच्चाधिकारीहरूले उठाएको बुझिएको छ । प्रदीप ज्ञवालीको रहस्यमयी अमेरिका भ्रमणपश्चात् उनी नयाँदिल्ली पुग्नु र इन्डो–प्यासिफिक कमाण्डसँग सक्रिय सहकार्यमा रहेको जापानका विदेशमन्त्रीले नयाँदिल्ली हुँदै काठमाडौं भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल र अमेरिकाबीच इन्डो–प्यासिफिक कमाण्डसँग सम्बन्धित विषयमा बन्दै गरेको सहमति र सहकार्यबाट नयाँदिल्ली नझस्कियोस् भनेर नै केही नियोजित पहल भएको हुन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

भनिन्छ, नेपाललाई इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा सामेल गर्दा भारतलाई समेत विश्वासमा लिनुपर्ने मान्यता अमेरिका राख्छ । र, अहिले भारतलाई विश्वासमा लिन अमेरिका, जापान र नेपाल तीनवटै पक्षबाट बेग्लाबेग्लै ढङ्गले प्रयास भइरहेको बुझिएको छ । यस प्रकरणलाई निकै गम्भीरतापूर्वक लिने उत्तरको छिमेकी चीनलाई चाहिँ कम्युनिस्ट सरकारले कसरी विश्वासमा लिन सक्ला, प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।