इन्डोनेसियामा बाढी पहिरोबाट मृत्यु हुने ५९ पुगे

इन्डोनेसियामा बाढी पहिरोबाट मृत्यु हुने ५९ पुगे


इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।

इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलाबेसी द्वीपमा परेको भीषण वर्षापछि आएको बाढी पहिरोको कारण हजारौँ व्यक्ति विस्थापित र घरवारविहीन भएका छन् ।

बाढीपहिरोका कारण अझै २५ जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन् । यस प्रकारको भीषण प्रकोप आफूले कहिल्यै नदेखेको सुलाबेसी द्वीपका प्रकोप नियन्त्रण विभाग प्रमुखले एएफपी समाचार समितिलाई बताए ।

इन्डोनेसियाको दक्षिणी भागमा पर्ने ११ वटा जिल्लाका केही नदीसमेत पहिरोले थुनिएका कारण गाउँतर्फ सोझिएको पानीले हजारौैँको संख्यामा नागरिक विस्थापित भएका छन् ।

प्रकोप नियन्त्रण निकाय प्रमुखले सुलाबेसी द्वीपको गोवा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको बताए । यस जिल्लामा मात्र ४४ जनाको मृत्यु भएको छ ।

बिहीबार साँझसम्म यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३० पुगेको थियो । बेपत्ता व्यक्तिहरूको शव भेटिएको र थप केही व्यक्तिको मृत्युपछि शुक्रबार बिहानसम्म यो संख्या ५९ पुगेको बताइएको छ । साथै दर्जनौँ व्यक्ति घाइते भएका र उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ ।

प्रकोपका कारण विस्थापित भएका करिब ३ हजार चार सय व्यक्तिलाई विद्यालय, मस्जिद र टेन्टहरूमा राखिएको छ ।

यस बाढीका कारण आवासीय र सरकारी भवनहरू, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ । गत वर्ष इन्डोनेसियाको सुमात्रा द्वीपमा आएको बाढी पहिरो कारण कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।

इन्डोनेसियामा बाढी, पहिरो र ज्वालामुखी विस्फोटजस्ता प्राकृतिक प्रकोपले बारम्बार सताउने गरेको छ । गत डिसेम्बरमा आएको ज्वालामुखीका कारण चार सयभन्दा बढीको मृत्यु भएको थियो ।