बाँध भत्किँदा ब्राजिलमा तीन सय बेपत्ता

बाँध भत्किँदा ब्राजिलमा तीन सय बेपत्ता


ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा वेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् ।

गत शुक्रबार दिउँसो करिब १ बजे भएको उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको र तीन सयभन्दा बढी व्यक्ति हराइरहेका एएफपीले जनाएको छ । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि वेपत्ता बनेका कसैलाई पनि शनिबार जीवित उद्धार गर्न नसकिएको उनीहरूले बताएका छन् ।

मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास निरन्तर भइरहेपनि घटनामा परेका व्यक्तिहरू जिवितै पाइने आशा झिनो बनेको बताएका छन् ।

घटनापछि ब्राजिलका राष्ट्रपतिले आफ्नो डाभोस सम्मेलनको कार्यक्रमलाई छोट्याएर शुक्रबार नै स्वदेश फर्किएका थिए । यसअघि उक्त घटनामा १५० जना वेपत्ता बनेको बताइए पनि शनिवार सरकारी अधिकारीहरूले नै उक्त सङ्ख्या तीन सयको हाराहारीमा रहेको हुनसक्ने बताएका छन् ।

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शहरको करिब ३९ हजार जनसङ्ख्यामा प्रभाव परेको बताइएको छ । बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैका घरहरू, सडकहरू, तरकारी तथा अन्य बालीमा प्रभाव परेको अधिकारीले जनाएका छन् ।