‘मिसेस ब्युटी क्विन’को ताज शान्तिलाई

‘मिसेस ब्युटी क्विन’को ताज शान्तिलाई


सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एक–अर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौं धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्युटी क्विन’को ताज पहिरिएकी छिन् ।

कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जितेकी हुन् । यससँगै उनले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरिन् ।

सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्युटी क्विन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भनेर प्रमुख निर्णायक प्रतावराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बूले भनिन्, ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एक–अर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एक–अर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको वास हुन सक्छ ।’ यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज पहिरिएकी हुन् ।

उनलाई यसअघिकी मिसेस ब्युटी क्विन सदीक्षा अर्यालले ताज पहिऱ्याएकी थिइन् । ताजसँगै उनले नगद ५० हजार र स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गरिन् । प्रतियोगितामा काठमाडौं ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फस्र्ट रनरअप र काठमाडौं सानोभऱ्याङकी ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनरअप भएका थिए ।

विमलीेले नगद ३० हजारसहित वासिङ मेसिन र दुबईका लागि हवाई टिकट तथा गौतमले नगद २० हजार र भ्याकुमक्लिनर तथा दुबईको दोहोरो हवाई टिकट प्राप्त गरेका थिए । प्रतियोगितामा पूजा रसाइलीले ब्युटिफुल अवार्ड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरीले एन्जल हर्ट अवार्ड प्राप्त गरे ।